उनको देब्रे हातबाट सलाइन चढाइएको थियो।
सलाइनको पाइप घुसारिएको ठाउँमा डाक्टरहरूले सेतो टेप टाँसिदिएका थिए र त्यही सेतो टेपमाथि उनले कालो अक्षरले लेखेकी थिइन्- ‘सरकार! न्याय चाहियो!!’
बाँकेकी नन्कुनी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा अनुसन्धान र दोषीमाथि कारबाही माग गर्दै अनसन बसेकी रूबी खानले मंगलबार बाहौं दिन अनसन तोडिन्। सरकारले बाँके घटनामा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गर्ने बाचा गरेको छ।
अनसन तोडे पनि रूबीको आन्दोलन रोकिएको छैन, उनले चेतावनी दिएकी छन्, ‘सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्नेछौं।’
रूबी ती महिला हुन् जसको नेतृत्वमा १४ जना अधिकारकर्मी नेपालगन्जबाट ५२० किलोमिटर हिँडेर काठमाडौं आएका थिए।
बीस दिन हिँडेर काठमाडौं आइपुगेपछि उनीहरूले माइतीघरमा धर्ना दिए। तर सरकारले खाइरहेको खानाधरि खोसेर उनीहरूलाई पक्राउ गर्यो। रूबीलाई त रातारात नेपालगन्ज पुर्यायो। उनको अवस्था गुपचुप राखियो।
प्रहरीबाटै 'बेपत्ता' पारिएकी रूबी आखिरमा सर्वोच्च अदालतको हस्तक्षेपपछि रिहा भइन्। उनले आफ्नो शान्तिपूर्ण आन्दोलनको बलमा सरकारलाई सहमतिको टेबलमा आउन बाध्य पारिन्।
यसरी मोफसलबाट काठमाडौं आएर देशको न्याय र समग्र शासन प्रणालीलाई दस्तक दिने रूबी खान को हुन्?
हामीले मंगलबार टिचिङ अस्पतालको शैयामा रूबीलाई भेटेका थियौं। तीन दिनअघि स्वास्थ्य समस्या देखिएर अस्पताल ल्याएकी रूबी कमजोरीका कारण मधुरो स्वरमा बोल्थिन्।
स्वर मधुरो सुनिए पनि त्यसले दिने अर्थ ओजिलो थियो।
रूबी नेपालगन्जको कट्टर मुस्लिम समुदायमा जन्मे–हुर्केकी हुन्। त्यो बेला उनको समुदायमा कतिपय मान्छे छोरीलाई स्कुल पढ्न पठाउन रूचाउँथेनन्। बाहिरी वातावरणमा घुलमिल होऊन् भन्ने चाहन्थेनन्।
तर उनले आफ्नो समुदाय मात्र होइन सिंगो देशलाई नै झक्झकाउने आँट गरेकी छन्।
'यत्रो आँट कसरी देखाउनुभयो?'
हाम्रो प्रश्नमा ३४ वर्षीया रूबीको अनुहारभरि भर्भराउँदो ऊर्जा भरिएर आयो, उनले भनिन्, ‘त्यहाँका धेरै महिला हिंसाका शिकार छन्। कुटपिट गरेर महिलाको टाउको फुटाउनु, हातखुटा भाँचिदिनु र तलाक दिएर घर निकाला गर्नु सामान्य हुन्। हामी महिलालाई समाजले जकडेर राखेको छ। त्यसमाथि सरकार पनि हाम्रो साथमा छैन। जो महिला हिंसा भयो भनेर प्रहरीकहाँ जान्छन्, प्रहरीले उसको कुरा सुन्दैन। उनीहरूलाई उल्टै अभद्र व्यवहार गरिन्छ र केटा पक्षको मात्र कुरा सुनेर जबर्जस्ती मिलापत्र गरेर पठाइन्छ।’
हिंसाको यस्तो दृश्य रूबीले आफ्नै घरमा कयौंचोटि देखेकी थिइन्।
उनी आफ्नो बुवाले आमालाई झपारेको र जतिखेर पनि कुटेको देख्दै हुर्किइन्। यस्तो घरेलु हिंसाको शिकार अधिकांश महिलाको आत्मबल कहिल्यै नउठ्ने गरी दबिन्छ। उनीहरू पतिको 'दासी' भएर जिन्दगी बिताइदिन्छन्। रूबीकी आमाले भने हिम्मत हारिनन्।
श्रीमानको लाख विरोध र प्रताडनाका बाबजुद उनले दिनरातको टोकसो सहेरै भए पनि आफ्ना चार छोराछोरीलाई पढाइन्। आखिरमा श्रीमानले जेसुकै गर भनेर छाडिदिए तर जिम्मेवारी उठाएनन्।
रूबीकी आमा छोराछोरीको जिम्मेवारी आफैं उठाउन तयार भइन्। उनले मिहिनेत-मजदुरी गरेर स्कुल शुल्क, लुगाफाटो, किताबकापीको खर्च पुर्याइन्। आमालाई सजिलो होस् भनेर आफूहरूले स्कुलबाट फर्किएपछि चकलेट, दालमोठ लगायत खानेकुरा प्याकिङ गरेको क्षण रूबी अझै सम्झन्छिन्।
‘ममीले जहिले पनि आफूले नपढेर दुःख पाएँ, तिमीहरूले पढ्नुपर्छ भनेर दबाब दिनुहुन्थ्यो,’ उनले भनिन्।
आमाले यतिविधि कोशिस गरेर पढाउन चाहे पनि रूबीकी दिदीले तीन–चार कक्षाभन्दा बढी पढ्न सकिनन्। दाइ सात–आठ र भाइ चार कक्षामै सीमित भए। रूबीलाई भने पढाइको भूत सवार थियो। पढाइको भन्दा उनलाई आमाले देखेको सपना पूरा गर्ने भूत सवार थियो।
उनले दिनरात केही नभनी पढिन्। गरिबीले जति गलाए पनि उनले आफ्नो मनोबल गल्न दिइनन्।
त्यसैको नतिजा हो, रूबीले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। अहिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा कानुन पढ्ने तयारीमा छन्। साथै, लकडाउन बेला फुर्सदमा विज्ञान विषय लिएर प्लसटू पनि पढिन्।
‘मलाई विज्ञान पढ्ने रहर थियो। लकडाउन बेला त्यो रहर पूरा गरेँ। अब चाहिँ कानुनमा विद्यावारिधि गर्ने धोको छ,’ उनले भनिन्, ‘समाजशास्त्र पढेर समाजको उत्पत्ति र अवस्थाबारे बुझ्न पाएँ। काम गर्दै जाँदा कानुनका कुरा जानिएन भने बोल्न गाह्रो हुन्छ भन्ने थाहा भयो। फेरि हामी अधिकारकर्मी भएपछि हावा तालमा होइन, तथ्यमा टेकेर कुरा गर्नुपर्छ। त्यसको लागि कानुनको ज्ञान आवश्यक लागेर पढेकी हुँ।’
घर र समाजमा महिलामाथि हुने हिंसा देख्दै हुर्केकी रूबी त्यसविरूद्ध आवाज उठाउन कानुनी ज्ञान आवश्यक ठान्छिन्।
महिला हिंसाको विरोधमा उनको संलग्नता सानैदेखिको हो।
उमेर सानो भए पनि छरछिमेकमा कुनै महिलालाई श्रीमानले पिटिरहेको छ भने उनी बचाउन अघि सर्थिन्। ‘नपिट्नुस्’ भन्दै अनुरोध गर्थिन्। पिट्नेहरूले उनलाई झपार्थे। सानो मान्छे भएर जान्ने पल्टिने भन्दै हप्काउँथे। उनी चाहिँ टसमस भइन्। समाजमा भइरहेका हिंसाका स–साना घटनामा पनि उनले क्षमताले भ्याएसम्म विरोध गरिरहिन्।
रूबीले पुरानो उदाहरण दिँदै भनिन्, 'म पढ्ने नारायणी विद्यालयमा केटीहरू फ्रक लगाउँथे। मलाई भने घरबाट कुर्ता-सुरूवाल लगाएर जान भनिन्थ्यो। मैले कसैको कुरा मानिनँ र फ्रक नै लगाएर, सर्ट, टाई र जुत्तामा स्कुल गएँ। सल पनि टाउकोमा बेरिनँ। पछि त पाइन्ट पनि लगाउन थालेँ।'
यति मात्र होइन, विवाह वा कुनै उत्सवमा जाँदा अरूजस्तो झिलिमिली कपडा लगाएर जान उनलाई कहिल्यै मन भएन।उनी जहाँ पनि साधारण पहिरनमै जान रूचाउँथिन्।
साधारण पहिरन मनपर्ने रूबीको सोच भने असाधारण थियो। उनी विवाहमा भव्य भोजभतेर गर्नु र छोरीलाई दाइजो दिनुको साटो उनको नाममा सम्पत्ति दिनुपर्छ भनेर सबैलाई सुझाउँथिन् र निरन्तर वकालत गर्थिन्।
‘दाइजो दिनू भन्ने हाम्रो इस्लाम ग्रन्थहरूमा छैन। बरू छोरीलाई सम्पत्ति दिनुपर्छ भनेको छ। दाइजो जसले माग्छ त्यो अल्लाहको नजरमा बहुत गलत व्यक्ति हो भनेर लेखिएको छ,’ उनले भनिन्, ‘हाम्रोमा छोरी पढाए बिग्रन्छन् भनेर गलत विचार राखिएको छ नि, खासमा इस्लामले छोरीलाई अनिवार्य पढाउनुस् भन्छ।’
समाजका यस्ता कुरीति र विसंगतिको विरोध गर्ने रूबीले नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा लागेपछि अझ बृहत् रूपले आवाज उठाउन थालिन्।
महिलाहरूका लागि काम गर्ने उक्त केन्द्रले हरेक किसिमका महिला हिंसाको विरोध गर्थ्यो र प्रहरी प्रशासनसमक्ष गएर सुनुवाइको माग राख्थ्यो। त्यही केन्द्रमा काम गर्ने एक जना महिला एकदिन रूबीको घर आइन्। आन्टी पर्ने ती महिलाले रूबीकी आमासँग भनिन्, ‘प्रायः मुस्लिम समुदायमा पढेका छोरीहरू हुँदैनन्। तपाईंको छोरी पढेको छ। हामीसँग काम गर्यो भने उसले केही सिक्छ। उसले आफैं पनि केही गर्न खोजिरहेको छ।’
यसरी मुस्लिम समाज विकास चेतना केन्द्रसँग जोडिन पुगेकी रूबीले त्यही संस्थामा काम गर्दागर्दै आफ्नै नेतृत्वमा महिला अधिकार मञ्च स्थापना गरिन्।
२०६५ सालमा बनेको उक्त मञ्चले सुरूमा हिंसामा परेका महिलाहरूको पक्षमा वकालत गर्यो। त्यसपछि मञ्चले उठाएको ठूलो घटना निर्मला कुर्मीको हो।
करिब १४ वर्ष पुरानो यो घटनामा कुर्मीले आफ्ना श्रीमान र दुई छोरा गुमाएकी थिइन्। सम्पत्ति अर्कैले हिनामिना गर्नुका साथै उनलाई पनि अपहरण गरिएको थियो। अहिले उनको हत्या भइसकेको प्रहरीले जनाएको छ।
‘यहाँ महिलाको शरीर बन्धक बनाइएको छ। उसको हत्या गरिएको छ। वंश नाश गरिएको छ। तर पनि राज्यको अंग प्रहरीबाट ज्यादती भइरहेको छ। प्रहरीले नै अभियुक्तलाई संरक्षण दिएको छ। यस्तो अवस्थामा पीडा खेपिरहेका महिला न्याय माग्न कहाँ जाने? हिंसामा परेका महिलाको पीडा सुन्ने र उनीहरूलाई न्याय दिने निकाय कहाँ छ? हाम्रो समस्या सुनुवाइ गर्ने कसले हो?’ रूबीले प्रश्न गरिन्।
उनीहरू यो मुद्दा लिएर जिल्ला प्रहरी कार्यालय गएका थिए। तर त्यहाँका प्रहरी अभियुक्तको पक्षमा लागे। त्यसपछि बाध्य भएर न्याय माग्न काठमाडौं आउनुपरेको रूबी बताउँछिन्।
यहाँ आउनुअघि उनले सबैलाई मञ्चमा डाकेकी थिइन्। घटनाका भुक्तमान पीडित परिवार र प्रत्यक्षदर्शी छिमेकीहरूलाई उनले धेरै सम्झाउनै परेन। उल्टै उनीहरूले भने, ‘न्याय पाउने हो भने काठमाडौं जानैपर्छ। आवाज उठाउनैपर्छ।’
सबैले देखाएको आँटले रूबीको आँट अझ बलियो भयो। उनी १४ जनाको समूह नेतृत्व गर्दै असोज १ गते नेपालगन्जबाट हिँडिन् र २० गते काठमाडौं आइपुगिन्।
काठमाडौंमा पनि न्याय पाउन सजिलो कहाँ छ र!
बीस दिनको हिँडाइले लखतरान ज्यान र ठेला उठेका खुट्टा खोच्याउँदै माइतीघरमा धर्ना बसेकी रूबीलाई सरकारले आफ्नो कुरा सुन्नेछ र तुरून्तै वार्तामा बोलाउनेछ भन्ने लागेको थियो। तर उनले सोचेभन्दा फरक भयो।
लामो यात्रापछि काठमाडौंमा अनसन बसेकी रूबीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर असोज २३ गते नेपालगन्ज पठायो। उनलाई बहुविवाहको अभियोग लगाइएको थियो।
‘प्रहरीमा आत्मीयता र दया भन्ने छँदै छैन भन्ने मलाई यहाँ धरपकड गर्दा थाहा पाएँ। घाउमा ब्यान्डेज लगाइदिन्छु भन्दै मलाई रातारात समातेर नेपालगन्ज पुर्याए। त्यहाँ पाँचवटा गाडी लिन आएका थिए। करिब ३५ देखि ४० जना प्रहरी थिए। यस्तो लाग्थ्यो म ठूलो पदाधिकारी हुँ वा कुनै ठूलो अपराधी हुँ। प्रहरीले नै मलाई अपहरण गरेर लगेजस्तो पनि लाग्यो,’ उनले भनिन्, ‘मलाई त्यहाँ बारम्बार काठमाडौं फोन गरेर धर्ना रोक्नुस्, अनसन तोड्नुस् भनियो तर मैले मानिनँ।’
हामीले रूबीमाथि लगाइएको बहुविवाहको अभियोगबारे पनि जान्न चाह्यौं।
रूबीले २०७२ सालमा विवाह गरेकी हुन्। बाहिर काममा निस्किरहनुपर्ने र घरमा समय मिलाउन समस्या भएपछि उनीहरूले सम्बन्धविच्छेद गरेका रहेछन्। आफ्नो सम्बन्धको गलत मुद्दा बाहिर निकालेर आन्दोलन रोक्न खोजेको उनको भनाइ छ।
‘मुद्दा दर्ता गर्नुभन्दा पहिले नै बाँके जिल्ला प्रशासन कार्यालयका अधिकारी र डिएसपीको हातमा मेरो सम्बन्धविच्छेदको कागज थियो। उनीहरूले तै पनि मलाई जबर्जस्ती लगे,’ रूबीले भनिन्।
रूबीलाई यसरी थुनामा राखेको थाहा पाएपछि उनका दाजुभाइ चिन्तामा थिए। आफैं महिला हिंसामा लागेको मान्छेलाई कसरी प्रहरीले पक्रियो भनेर अलमलमा थिए। अझ अलमलमा पार्ने कुरा त उनीमाथि लगाइएको बहुविवाहको आरोप थियो। प्रहरीले कम्तिमा परिवारसँग यसबारे सोधखोज गर्नधरि आवश्यक ठानेन।
उनकी आमा आत्तिएर रूँदै थुनामा पुगेकी थिइन्। रूबीले नै सम्झाउँदै भन्नुपर्यो, ‘म जे-जस्तो काम गर्दैछु, मलाई रोक्न प्रहरीले जालझेल गरिहाल्छ। तै पनि हामी पछाडि हट्नुहुँदैन।’
रूबीलाई पछि काठमाडौं ल्याइयो। एयरपोर्टमा समेत प्रहरीले पत्रकार र अधिकारकर्मीको नजरबाट आफूलाई लुकाउन खोजेको उनले बताइन्।
सर्वोच्चले मुद्दा खारेज गरेर रिहा गरेपछि आमाले खुसी हुँदै फोन गरिन् र भनिन्, ‘मलाई थाहा थियो यो हुन्छ भनेर। बहुविवाह गरेकै छैन भने कसरी प्रमाणित हुन्छ?’
रूबी आफ्नी आमालाई ‘हिरो’ ठान्छिन् र उनकै कारणले आफू न्यायका लागि लड्ने 'निडर केटी' बनेको बताउँछिन्।
'अहिले त तपाईं आफैं पनि धेरैका लागि ‘हिरो’ हुनुभएको छ नि!'
हाम्रो यस्तो टिप्पणीमा उनी मुसुक्क हाँसिन् र भनिन्, ‘अदालतले रिहा गरिसकेपछि मलाई धेरैले तपाईंको साथमा छौं भनेर फोन गर्नुभयो। कति त माइतीघरमा भेट्न आउनुभएको थियो। मुस्लिम समुदाय पनि आउँदा धेरै खुसी लाग्यो। रूबीले जे गर्यो ठिक गर्यो भन्ने उहाँहरूले बुझिसक्नुभएको छ।’
उनले अगाडि भनिन्, ‘अहिले सबैलाई थाहा भयो, रूबी खानले गलत गरेको होइन। न्यायका लागि र महिला अधिकारका लागि रूबीले लडेको हो।’
उनीसँगै अभियानमा जोडिएर बाँकेदेखि पैदल यात्रा गर्दै आएका राहुल शेख पनि रूबीलाई आफ्नो समुदायको ‘हिरो’ मान्छन्।
‘कोही पनि महिलालाई गाउँमा समस्या पर्यो भने दिदीले साथ दिनुहुन्छ। उनीहरूको कुरा सुनुवाइ गर्नुहुन्छ। त्यही भएर हामी उहाँलाई विश्वास गरेर यहाँसम्म आएका हौं,’ उनले भने, ‘गाउँमा भएको घटना भनेको आफ्नो घरमा भएको घटना बराबर हो। बाँकेमा यस्ता धेरै घटना छन्। छिमेकमा भएको घटना आफ्नो घरसम्म नआइपुग्ला भन्न सकिन्न। त्यही भएर उनीहरूको घटना आफ्नै ठानेर आएका हौं।’
सुरूसुरूमा यसरी महिलाविरूद्ध अभियान चलाउँदा रूबीले गाउँमै धेरैको गाली र धम्की सहनुपरेको थियो। पछि उनीहरू नै सहायता माग्न आएको घटना उनको अनुभवमा छन्।
‘मुस्लिम केटी यसरी बाहिर निस्कनु ठिक होइन भनेर नानाथरी कुरा गर्थे। पछि जसले विरोध गरे, उनीहरूकै छोरी–बहिनीमाथि समस्या पर्दा हामीले सुनुवाइ गरेपछि हामीले गरेको ठिक भन्न थाल्नुभयो,’ रूबीले भनिन्।
निर्मला र नक्कुनीजस्ता धेरै घटना आफ्नो समुदायमा देखेकी रूबी भविष्यमा यस्ता दबिएका आवाजको आवाज बन्न चाहन्छिन्। स्थानीय स्तरमा बसेर अभियानलाई नै निरन्तरता दिने उनको योजना छ।
त्यही भएर घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सर्तमा मंगलबार अनसन तोडेकी रूबीले चेतावनी दिएकी छन्, ‘सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्नेछौं।’
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी