नेकपा (एमाले) ले भोलि स्थायी कमिटी बैठक डाकेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ।
एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ।
एमालेको राष्ट्रिय महाविधेशन आगामी मंसिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ। रासस