नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि पार्टीमा गुटउपगुटको अन्त्य भएर जाने बताएका छन्।
गुटउपगुटले कांग्रेस कमजोर भएको भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने उनले बताए।
बागलुङस्थित ग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले चाडपर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरेका थिए।
‘हामी १४ औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन। महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन,’ उनले भने।
मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने उनले बताए। पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाए।
उनले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए।
उनले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानार्कषण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताए। (रासस)