नेपाली कांग्रेसले फेरि महाधिवेशन सार्ने भएको छ।
२०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने भने पनि त्यसयता कांग्रेसले चार पटक महाधिवेशनको मिति सारिसक्यो।
अब पाँचौ पटक महाधिवेशनको मिति तोक्ने गृहकार्य भइरहेको छ।
गत साउनमा बसेको केन्द्रीय समितिले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर क्रियाशील सदस्यता विवाद, कोरोना संक्रमणलगायत बहाना देखाएर कांग्रेसले फेरि महाधिवेशन सार्न लागेको हो।
कांग्रेसले ०७६ पुसमै महाधिवेशनको प्रक्रिया थालेको थियो। विभिन्न पार्टीबाट आएकाहरूलाई कांग्रेसमा समायोजन गर्न ढिलाइ गरेको कांग्रेसले अहिले भने क्रियाशील सदस्यता विवाद टुंग्याउनै सकेको छैन।
अझै रसुवा र रौतहटमा क्रियाशील सदस्यतासम्बन्धी विवाद कायमै छ। अन्य जिल्लामा क्रियाशील सदस्यता विवाद मिलाए पनि वडा अधिवेशन अनिश्चित छ। १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेको कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सके पनि गाउँ/नगर अधिवेशन अनिश्चित छ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतामा देखिएका विवाद टुंग्याउन केही दिनअगाडि केन्द्रीय सदस्य रमेश लेखक लगायतसँग बालुवाटारमा छलफल गरेका थिए।
‘केही दिनमा क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिन्छ। छठलगत्तै बाँकी रहेका जिल्लामा वडा अधिवेशन हुन्छन्,’ देउवानिकट कांग्रेसका एक नेताले भने, ‘केन्द्रीय महाधिवेशन मंसिर ९ मै सुरू गर्न अब समय पुग्दैन। मंसिर मसान्त वा पुस पहिलो सातासम्म महाधिवेशन सार्नुपर्ने हुन्छ।’
ती नेताका अनुसार सभापति देउवाले पदाधिकारी र केन्द्रीय समिति बैठक गर्ने तयारी गरेका छन्।
‘पदाधिकारी बैठक र केन्द्रीय समितिबाट महाधिवेशनको नयाँ मिति तय गर्ने तयारी छ,’ ती नेताले भने।
कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार काम भएको भए अहिले प्रदेश अधिवेशनको माहौल हुन्थ्यो। तर दुई जिल्लामा क्रियाशील विवाद कायमै छ, १३ जिल्लामा वडा अधिवेशन भएकै छैन भने ६४ जिल्लामा गाउँ तथा नगर अधिवेशन हुन सकेका छैनन्।
कांग्रेसले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन सक्ने भनेको थियो।
कहाँ-कहाँ सकियो जिल्ला अधिवेशन?
कांग्रेसले २१ हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भने पनि १४ जिल्लामा मात्रै अधिवेशन सकिएको छ।
ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, कालिकोट, रूकुमपूर्व, बझाङ, बाजुरा गरी १४ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरिसकेको छ।
हिमाली जिल्लामध्ये रसुवामा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। तत्कालीन नयाँ शक्तिबाट आएकाहरूलाई क्रियाशील सदस्यता दिने विषयमा कुरा मिलेको छैन।
रसुवासहित डोल्पा, सोलुखुम्बु, सिन्धुपाल्चोक, जुम्ला, दार्चुला, धादिङमा अझै जिल्ला अधिवेशन हुन सकेको छैन।
१३ जिल्लामा वडा अधिवेशन अनिश्चित
कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि आजसम्म १३ जिल्लामा अधिवेशनको टुंगो छैन।
प्रदेश नम्बर २ का कुनै पनि जिल्लामा वडा अधिवेशन भएको छैन।
बारा, पर्सा, सप्तरी, सिरहा, सर्लाही, रौतहट, धनुषा र महोत्तरीमा क्रियाशीलकै विवादले वडा अधिवेशनमा ढिलाइ भएको हो। यीमध्ये रौतहट जिल्लामा अझै क्रियाशील विवाद टुंगिएको छैन।
साथै सुर्खेत, डोल्पा, कैलाली, बाँके र रसुवामा पनि वडा अधिवेशन हुन बाँकी नै छ। यी जिल्लामा पनि क्रियाशील सदस्यता टुंग्याउन नसक्दा वडा अधिवेशन हुन नसकेको हो।
महाधिवेशन सार्न केन्द्रीय समिति बस्दै
कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्न केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ।
रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले नाम सार्वजनिक गरेपछि पदाधिकारी र केन्द्रीय समिति बैठक गरेर महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको हो।
केन्द्रीय समिति बैठक छिट्टै बस्ने कांग्रेसका एक पदाधिकारीले बताए।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार रोकिएका अधिवेशनहरू छठपछि सुरू हुन्छ। क्रियाशील विवाद तिहारअगाडि नै समाधान गरिने उनले बताए।
पूर्वमहामन्त्री प्रकाशमान सिंह भने विधि, पद्धतिअनुसार पार्टी चल्नुपर्ने र तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताउँछन्। सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी र प्रशासन लगाएर अधिवेशन गरिएकोसमेत उनको भनाइ छ।
के भन्छ निर्वाचन समिति?
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्वनिर्धारित मितिमा अब महाधिवेशन सम्भव नहुने बताएको छ।
‘रसुवा र रौतहटको क्रियाशील सूची सार्वजनिक नै भएको छैन। यो काम हाम्रो हातमा छैन,’ समितिका संयोजक महादेवप्रसाद यादवले भने।
सभापति देउवाले क्रियाशील सदस्यको नाम बुझाएपछि मात्रै निर्वाचन समितिले सार्वजनिक गर्ने व्यवस्था कांग्रेसमा छ। रसुवा र रौतहटको क्रियाशीलको सूची देउवाले निर्वाचन समितिमा बुझाइसकेका छैनन्।
संयोजक यादवका अनुसार बाँकी रहेका अधिवेशन कहिले गर्ने भन्ने शुक्रबार बस्ने बैठकले तय गर्छ।
‘निर्वाचन समितिका साथीहरू उपत्यकाबाहिर हुनुहुन्थ्यो। उहाँहरू आएपछि शुक्रबार बैठक गर्दैछौं,’ उनले भने, ‘महाधिवेशनका सबै कार्यतालिका प्रभावित बनिसकेको छ, वडालगायतको अधिवेशन तिहार अगाडि गर्ने कि अब बाँकी रहेका सबै एकैपटक गर्ने कि के गर्ने भन्नेबारे छलफलबाट निर्णय हुन्छ।’
डडेल्धुरामा एकलौटी अधिवेशन
सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन विवादमा परेको छ।
वडा अधिवेशनदेखि कै कब्जा गरेर देउवा पक्षले सत्ता हत्याउन खोजेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छ।
जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधबीच नै गत भदौ २५ मा डडेल्धुरामा वडा अधिवेशन भएको थियो।
जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम काटेर सभापति देउवा पक्षले करिब तीन सय जनाको नाम थपेपछि डडेल्धुरामा पौडेल पक्षले वडा अधिवेशनमा भाग लिएको थिएन।
फेरि वडा अधिवेशन गर्नुपर्ने र क्रियाशील सदस्यको सूची नयाँ निकाल्नुपर्ने माग राखेर पौडेल पक्षले डडेल्धुरा पार्टी कार्यालयमा धर्ना र अनसनसमेत गरेका थिए। डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न पौडेल पक्षले माग गरे पनि सभापति देउवा पक्षले अस्वीकार गर्दै आएको छ।
विधान र संविधानले दिएको कार्यकाल सके देउवाले
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशनबाट नेतृत्व चयन हुनुपर्छ। विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्न पाइन्छ। देउवाले विधानको मात्र होइन संविधानअनुसार कार्यकाल छ महिनासमेत थप गरिसके।
संविधानअनुसार थपेको समय पनि भदौ २३ गते सकिएको थियो। कांग्रेसले गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरू गरेर अधिवेशन थालेको जानकारी निर्वाचन आयोगमा दिइसकेको छ।
महाधिवेशन अनिश्चित बन्दै जाँदा त्यसको फाइदा सभापति देउवाले लिएका छन्। देउवाको कार्यकाल पनि महाधिवेशन सरेसँगै लम्बिँदै गइरहेको छ।