खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका नेता/कार्यकर्ताले कुटपिट गर्दै 'बन्धक' बनाएर नगर परिक्रमा गराएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनीमाथि कुटपिट गरेका हुन्। जनमत पार्टीका अध्यक्ष सिके राउत बलवा क्षेत्रका बासिन्दा हुन्।
लाठी भाटासहित सयौंको संख्यामा पिडारीचोकस्थित कार्यालय पुगेका जनमत पार्टीका नेता कार्यकर्ताले त्यहीँबाट कुशवाहाको कठालो समात्दै लछारपछार गरेर बन्धक बनाएका थिए।
‘लाठी भाटासहित सयौं जना ढोका, गाडी, कम्प्युटर तोडफोड गर्दै उनीहरू कार्यालय छिरेका थिए। अन्य कर्मचारीलाई पनि हातपात गरे। राजेश सरलाई कुट्दै उनीहरूले बाहिर निकालेर जुलुसमासँगै लगे,’ कार्यालयका एक कर्मचारीले भने।
उनका अनुसार कार्यालय परिसरमा पार्क गरिराखिएका मोटरसाइकल, गमला लगायत भौतिक संरचना समेत उनीहरूले तोडफोड गरेका छन्।
कार्यालयबाट बन्धक बनाएर लगेको करिब एक घण्टा नगर परिक्रमा गराएपछि मात्र प्रहरीले कुशवाहाको उद्धार गरेको थियो। प्रदर्शनकारीले प्रहरीलाई समेत हातपात गरेका छन्।
‘यिनीहरूले कार्यालय प्रमुखलाई बन्धक बनाउने वा त्यस्तो केही गतिविधि गर्ने प्रहरीलाई सूचना थिएन। जुलुस रामानन्द चोक आइपुग्दा प्रहरी टोली पुगेको थियो। रेस्क्यु गर्न खोज्दा प्रदर्शनकारीले प्रहरीलाई नै कुटपिट गर्न थाले,’ एक प्रहरीले भने।
त्यसपछि विभिन्न ठाउँबाट प्रहरी बोलाइएको उनले बताए।
संख्या कम भएकै कारण लाठी भाटासहित कार्यालय प्रमुख कुशवाहालाई जनमत पार्टीका नेता/कार्यकर्ताले बन्धक बनाएर नगरभरि घुमाइरहँदा प्रहरी मुकदर्शक बनेको ती प्रहरीले बताए।
'तर पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कार्यालय प्रमुख कुशवाहाको कपडा च्यातचुत पार्दै राउतका कार्याकर्ताले दुर्व्यवहार गरिरहेको बताइएको छ।
एक घण्टा नगर परिक्रमा गराइसकेपछि कुशवाहालाई प्रदर्शनकारीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि पुर्याएका थिए। त्यहाँबाट मात्र प्रहरीले उनको उद्धार गर्न सकेको थियो।
जनमत पार्टीका नेता कार्यकर्ताले कुशवाहालाई घुमाइरहेका बेला संचारकर्मीसमक्ष केही बोल्न दवाब दिएका थिए। तर ‘मलाई गोली ठाके पनि केही बोल्दिनँ,’ कुशवाहाले रूँदै यति मात्रै बोले।
धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुशवाहालाई अहिले सुरक्षित स्थानमा राखिएको छ। बन्धक बनाउने १० जनालाई नियन्त्रणमा लिइएको उनले बताए। प्रदर्शनकारीले अहिले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रहरीविरूद्ध नाराबाजी गर्दैछन्।
कार्यालय प्रमुखमाथि दुर्व्यहार गर्नेमाथि हुनसक्छ १ वर्ष कैद र जरिवाना सजाय
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाही हुने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताएका छन्।
राष्ट्रसेवक कर्मचारीमाथि यति हदसम्म गरिएको दुर्व्यवहार असहनीय रहेको भन्दै उनले दोषीमाथि अनुसन्धानपछि मुद्दा चलाइने सेतोपाटीलाई बताए।
बिहीबार दिउँसो जनमत पार्टीका नेता/कार्यकर्ताले कार्यालयमै पसेर कुटपिट गर्दै बन्धक बनाएर कुशवाहालाई नगर परिक्रमा गराएका थिए।
घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले जानकारी दिए। अनुसन्धानपछि दोषीमाथि अभद्र व्यवहार र सार्वजनिक शान्ति विरूद्धको कसुरमध्ये प्रमाणित हुने मुद्दा चलाइने उनको भनाइ छ।
‘यो लेबलको अमानवीय व्यवहार गरेकालाई त्यतिकै छोड्न मिल्दैन। अभद्र व्यवहारमा १ वर्ष कैद वा १० हजारसम्म जरिवाना र शान्ति विरूद्धको कसुरमा १ वर्ष कैदसँगै क्षतिपूर्ति समेत भराउनुपर्ने हुन्छ।’
जनतमत पार्टीका अध्यक्ष राउतले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरी ठिकै गरेको बताए।
‘खाल्डो पुर्न बलवा टोलका ६४ परिवारले मिलेर पटक-पटक ज्ञापनपत्र बुझाएका थिए। कार्यालय ठेकेदार कसैले सुन्न तयार भएन। एम्बुलेन्स पास हुने अवस्था छैन। यस्तो अवस्थामा आजित भएर जनताले गरेको कारबाही स्वभाविक हो,’ उनले भने, ‘असार पहिलो सातामै खाल्डो खनेकाले बच्चालाई स्कुल जाने अवस्था छैन। जनताले जे गरे राम्रै गर्यो।’