मन्त्रिपरिषदमा भागबन्डा खोजेको प्रकरण बाहिरिएपछि भइरहेको आलोचनाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले चार पूर्वप्रधानन्यायाधीशलाई उनीहरूको घरघरमै गएर भेटेको खुलेको छ।
दसैंको शुभकामना दिने बहानामा राणाले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई घरमै गएर भेटेका हुन्।
पूर्वप्रधानन्यायाधीश कार्कीको घरमा उनी दसैंअघिको शनिबार पुगेका थिए। जानुभन्दा अगाडि उनले कार्कीलाई फोन गरेर आउँदैछु भन्ने सूचना दिएका थिए। कार्कीको पारिवारिक स्रोतका अनुसार राणा बिहान ९ बजे सर्वोच्चका एक जना न्यायाधीशका साथमा गएका थिए।
'उहाँले आउँछु भनेर फोन गरेपछि नआउनु भन्ने कुरा भएन। उहाँ एक जना न्यायाधीशको साथमा आउनुभयो। लगभग १५ मिनेट बस्नुभयो होला अनि जानुभयो,' कार्कीका पारिवारिक स्रोतले भन्यो, 'खासै धेरै कुरा भएन, खाली दसैंको शुभकामना आदानप्रदान मात्र हो।'
प्रधानन्यायाधीश राणा यसअघि कहिल्यै दसैंको शुभकामना दिन कार्कीकहाँ गएका थिएनन्। कार्की र राणाको सम्बन्ध न्यायाधीश हुँदादेखि खासै राम्रो थिएन। विशेष अदालतमा हुँदा न्यायाधीश राणाले भ्रष्टाचार मुद्दामा गरेको फैसलालाई लिएर त्यति बेला सर्वोच्चकी न्यायाधीश कार्कीले कारबाही गर्न टिप्पणी उठाएकी थिइन्। उनीमाथि कारबाही भएन तर उनी उल्टै सर्वोच्च अदालतमा तानिए।
सर्वोच्चमा दुवै न्यायाधीश हुँदा पनि उनीहरूले एउटै इजलासमा बसेर मुद्दा हेरेका थिएनन्। जब प्रधानन्यायाधीश हुँदा कार्कीलाई महाअभियोग लागेको थियो, त्यसविरूद्धको रिटमा राणाले अन्तरिम आदेश दिए र उनलाई सर्वोच्च फर्काए।
त्यसपछि पनि उनीहरूबीच खास सम्बन्ध निकट हुन सकेको थिएन।
पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कार्कीसहित चारै जना पूर्वप्रधान्यायाधीशले गरेको विरोधलाई लिएर सर्वोच्चमा अवहेलना मुद्दा दायर भयो। उक्त मुद्दा आफ्नै इजलासमा राखेर असोज १५ गते प्रधानन्यायाधीश राणाले सफाइ दिएका थिए।
सफाइ दिएको केही समयपछि प्रधानन्यायाधीश राणा उनीहरूको घरघरमा भेट्न गएका हुन्।
प्रधानन्यायाधीश राणा त्यसरी नै सर्वोच्चका एक न्यायाधीशलाई लिएर असोज २६ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घर गएका थिए। उनको घरमा भने राणा केही समय बढी बसे। उनीहरूबीच शुभकामना आदानप्रदान मात्र होइन, न्यायालयका अरू कुरा पनि भए।
'कुनै एजेन्डामा कुरा भएको थिएन। खाली सामान्य अनौपचारिक गफ भयो। उहाँले यसो गर्दिनुपर्यो, उसो गर्दिनुपर्यो भन्न आएजस्तो पनि लागेन। तर यसअघि कहिल्यै आउनुभएको थिएन, यसपालि किन आउनुभयो थाहा छैन,' श्रेष्ठले भने।
श्रेष्ठले राणा भेट आउनुभन्दा एक दिनअघि मात्र कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोज्नु सोच्नै नसकिने र शोभनीय विषय नभएको बताएका थिए। यसबारे भइरहेको विवादमाथि छानबिन हुनुपर्ने धारणा उनले राखेका थिए।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको घरमा उनी दसैंको अघिल्लो दिन पुगेका थिए। शर्माका अनुसार प्रधानन्यायाधीश राणा पहिलोपटक यसरी शुभकामना दिन भन्दै आएका हुन्।
'उहाँ शुभकामना दिन भन्दै आउनुभयो। अरू विषयमा कुरा भएन अनि जानुभयो,' उनले भने।
यसैगरी उनी पूर्वप्रधानन्यायाधीश रायमाझीको घरमा पनि पुगेका थिए। रायमाझीले भने यसबारे कुरा गर्न चाहेनन्।
राणाले दसैंको अवसर पारेर भेटेका चार पूर्वप्रधानन्यायाधीशले न्यायालयभित्रका विकृतिमा आलोचनात्मक टिप्पणी गर्दै आएका छन्।
यसबीच पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश राणा एकपछि अर्को विवादमा परेकाले यथोचित् निकास दिन आग्रह गरेको छ। फोरमले शुक्रबार छैठौं साधारणसभा क्रममा न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण गर्दै मन्त्रिपरिषदमा भागबन्डा खोजेको प्रकरण लगायत विषयमा विवादित बनेका प्रधानन्यायाधीश राणाले स्वयं निकास दिनुपर्ने बताएको हो।