मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको सत्तारूढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ। कांग्रेसले छिट्टै केन्द्रीय समिति बैठक राखेर फेरि महाधिवेशन सार्ने तयारी गरेको छ।
रौतहट र रसुवामा क्रियाशील सदस्यता नै टुंगिएको छैन। ६४ जिल्लामा वडा अधिवेशन भए पनि पालिका अधिवेशन अगाडि बढ्न सकेको छैन।
२१ हिमाली जिल्लामा जिल्ला अधिवेशन दसैंअगाडि नै सक्ने भने पनि १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन सकिएको छ। प्रदेश नम्मर २ का ८ सहित १३ जिल्लामा भने अझै वडा अधिवेशन कहिले हुने टुंगो छैन।
यस्तो अन्यौलताका बीच कांग्रेसले महाधिवेशनको मिति पाँचौं पटक सार्न खोजेको छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नै समयमा महाधिवेशन गर्न चाहिरहेका छैनन् भन्ने आरोपसमेत लाग्न थालेको छ भने कांग्रेसले स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने चर्चासमेत चलेका छन्।
यसै सन्दर्भमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग महाधिवेशनकै सन्दर्भमा सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको सम्पादित अंश:
मंसिरमा महाधिवेशन नहुने भएपछि अब नयाँ कार्यतालिका बनाउन लागिएको हो?
केन्द्रीय समितिमा संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षको बहुमत छ। एकपछि अर्को मिति सार्दै महाधिवेशन पर धकेल्दै लैजाने पक्षमा हामी छैनौं।
महाधिवेशनको मिति सार्ने विषयमा हामी (पौडेल समूह) असहमत छौं, सहमति जनाउँदैनौं। तर अब विधिविधान, मर्यादा सबैलाई छाडेर महाधिवेशन सारिराख्ने काम भयो भने त्यो बेला नै प्रतिक्रिया दिउँला। तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ, सर्नु हुँदैन, धेरैचोटि सरिसक्यो।
अब स्थानीय तहको चुनावपछि मात्रै अधिवेशन गर्ने भन्ने चर्चा चल्न थालेको छ नि!
त्यो सम्भव हुँदैन। पार्टी विधान र नेपालको संविधानअनुसार पनि खुला चुनौती हुने गरी महाधिवेशन पर धकेल्न मिल्दैन।
त्यसो त मैले विशेष महाधिवेशन गरौं भनेर भनेको थिएँ- सभापतिदेखि कसैले पनि सुनेनन् त्यसबेला। २०१२ मा वीरगञ्ज अधिवेशनले सुवर्णशम्शेरलाई सभापति निर्वाचित गरे पनि २०१४ सालमा विराटनगरमा भएको विशेष अधिवेशनले बिपीलाई सभापति बनाएको थियो। इतिहास र परम्पराअनुसार नै पुराना क्रियाशील सदस्यबाटै विशेष अधिवेशन गरौं भनेर मैले भनेकै हुँ।
महाधिवेशनलगत्तै स्थानीय चुनाव गर्दा तिक्तता बाँकी नै रहला भनेर अधिवेशन सार्न खोजेको हो कि?
त्यस्तो वुद्धि पहिले किन आएन? पहिले विशेष अधिवेशन गरेर स्थानीय चुनाव सकेपछि महाधिवेशन गर्न सकिन्थ्यो नि।
अब त १३ जिल्लाबाहेक अन्यत्र वडा अधिवेशन भइसक्यो। स्थानीय निर्वाचनलाई विवाद नआओस् भनेर अब कसरी महाधिवेशन पर सार्न सकिन्छ? जति विवाद हुने हो वडास्तरमै भइसक्यो। त्यसकारण त्यो सम्भव छैन। तोकिएकै समय (मंसिर ९ देखि १३) सम्म महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो।
मंसिरमा कसरी महाधिवेशन सम्भव छ? कार्यतालिका प्रभावित भइसके
कार्यतालिका त प्रभावित भयो। तर पनि पूर्वनिर्धारित मितिमै महाधिवेशन हुनुपर्छ भन्ने हो। कसरी महाधिवेशन गर्ने भन्नेबारे पदाधिकारी, केन्द्रीय नेतृत्वले भनुन् न, त्यसपछि मात्रै हामी प्रतिक्रिया दिउँला।
तपाईं के पदमा लड्ने हो?
हामी अहिले हाम्रो समूहभित्र साथीहरूसँग छलफलमै छौं। सबै सभापति पदमा नलडी नछोड्ने हो भने म पनि सभापति लड्छु, कसैको झोला बोकेर हिँड्दिनँ।
सामुहिक नेतृत्व चाहिन्छ। सामुहिक नेतृत्वअनुसार अगाडि जाने हो भने म केन्द्रीय कार्यसमितिको सदस्य मात्रै उठ्छु। मैले नेता मान्ने मानिस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल हो। हिजो पो टाउको ठाडो गरेर हेर्न डर लाग्ने नेताहरू गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो।
अहिले त मेरो समकालीन भनेका शेरबहादुरजी र रामचन्द्रजी हो अरू त मभन्दा पछिका हुनुहुन्छ। मैले कसैको नेतृत्व मानेर हिँड्नुपर्छ भन्ने कुरा त छैन। तर सामुहिक नेतृत्व हो भने म जसलाई पनि मान्दिन्छु, यो वा त्यो भन्ने छैन। मेरो कुनै पूर्वाग्रह छैन। तर सबै आफैँ लड्ने हो भने मैले कसैलाई मान्न पर्ने कारण छैन।
महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनपछि कसको कति जना आए भन्ने हेरेर मात्रै तपाईंहरूले सभापतिको उम्मेदवार छान्न लागेको हो?
कसको कति आउँछन् भनेर हेर्ने होइन। अहिले कांग्रेसका लागि उपर्युक्त पात्र को हो भन्ने मात्रै चयन गर्ने हो। तर यसका लागि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरूको राय पनि लिन्छौं अनि निर्णयमा पुग्ने हो।
अहिले कांग्रेसमा पात्र मात्र परिवर्तन गरेर पुग्दैन, प्रवृत्ति पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ। अहिलेकै प्रवृत्ति बोकेर भोलि हामीले नयाँ पात्र ल्यायौं भने पनि के फरक आउँछ त? पात्र होइन प्रवृत्ति हेरिन्छ। अहिलेसम्म गरेका काम र भविष्यमा गर्न सक्ने काम हेरेर निर्णय गरिन्छ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति मानेर अरू उपसभापति र महामन्त्री राखेर तपाईंहरू अघि बढ्न लागेको हो?
छलफलमा अनेक कुरा हुन सक्छन्। के-के भए भनेर म अहिले तपाईंलाई भन्दिनँ। अनेक विकल्पमा छलफल हुन सक्छ।
तपाईंहरूको समूहबाट एक जना मात्रै सभापति उम्मेदवार हुने सम्भावना छ?
मलाई विश्वास छ- सभापतिमा हामी एक जना मात्रै उम्मेदवार दिन सक्छौं।
आकांक्षी नेताहरू त कोही पनि पछि हट्दिनँ भन्नुहुन्छ त!
कसैले पनि आफूले राखेको इच्छा त्यसै फिर्ता लिन्छ? अन्तिमसम्म इच्छा गर्नु त उसको धर्म नै हो। हामीले सामूहिक रूपमा सभापतिमा एउटा मात्रै उम्मेदवार दिन सकियो भने महाधिवेशनको भोटिङ समयसम्म त धेरै परिवर्तन हुन सक्छ।
अहिलेसम्म १३ जिल्लामा जिल्ला अधिवेशन भयो, को बलियो देख्नुहुन्छ?
हामी कमजोर छँदैछैनौं। कहीँ प्राविधिक रूपमा सभापतिमा तलमाथि घटबढ देखिए पनि महाधिवेशन प्रतिनिधि त खारिएर आएका छन्। खारिएर आएका महाधिवेशन प्रतिनिधिले आम नेपाली जनताले चाहेअनुसार भोट दिन्छन्।
यसैगरी पार्टी चल्छ कि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने चेतना त महाधिवेशन प्रतिनिधिमा छ नि। उनीहरूमा विवेक छ। मलाई पूरा विश्वास छ- परिवर्तनका पक्षमा महाधिवेशन प्रतिनिधिहरू उभिनेछन्। हामीले सामूहिक रूपमा नेतृत्वका लागि उम्मेदवार दिनेवित्तिकै माहौल नै परिवर्तन हुन्छ।
मनोनयन दर्ता गर्ने बेलासम्म तपाईंहरूले सभापतिको उम्मेदवार टुंग्याउन सक्नु हुन्न भन्छन् नि!
हैन, हैन। त्यति निराशा कुरा पनि गर्न हुन्न। असम्भव भन्ने शब्द अल्छीहरूको मात्रै हो।
सामुहिक नेतृत्वका लागि तपाईंले मध्यस्थता गरिरहेको सुनिन्छ, निराश भइसक्नु भयो कि?
यसबीचमा मलाई कोरोना संक्रमण भयो। बल्ल शुक्रबार नेगेटिभ आयो तैपनि परिवारका अरू सदस्यलाई अझै कोरोना पोजेटिभ नै छ। म खासै बाहिर गएको पनि छैन, दसैं पनि भयो। यसबीचमा अरूसँग खासै भेटघाट पनि भएको छैन।
कहिलेकाहीँ त पयत्न गर्दागर्दा के कति उपलब्धि हुन्छ जस्तो लाग्छ। थकै लागेजस्तो भए पनि थाकेको छैन। हामी यो पार्टीभित्र देखिएका विकृति तथा आपसी अन्तरद्वन्द्व अन्त्य गर्न हाम्रा साथीहरूलाई संयोजन गरी अघि बढ्न सकिन्छ भन्नेमै विश्वस्त छु।
तपाईंहरू एकढिक्का नहुँदा कार्यकर्तामा अन्यौल भइरहेको छैन?
कार्यकर्तामा व्यापक भावना छ- जो भए पनि एक जना आए हुन्थ्यो। जुन दिन हामी अधिवेशनमा प्रस्तुत हुन्छौं त्यसदिन हामी सबै एक भएरै जान्छौं।
कहिलेकाहीँ लोकतन्त्रमा व्यक्तित्वको टकराव पनि हुन्छ। तर विचारको विमर्श र व्यक्तित्वको टकरावबाट जुन सारांश निस्किन्छ त्यो सुन्दर हुन्छ। अहिले जो साथीले सभापति लड्छु र म नै बलियो छु भन्नुभएको छ त्यो उहाँहरूको हकको कुरा हो। त्यसैलाई अन्तिम रूप लिन हुन्न। हामी आपसी रूपमा बसेर एउटा निष्कर्षमा पुग्ने अवस्था आउँछ।
अन्तिममा, कांग्रेस सरकारमा छ। कामकारबाही चित्तबुझ्दा छन्?
सरकारले पूर्णता पाउन नै ८८ दिन लाग्यो। यो सरकारको कार्यकाल १८ महिने भएकोले १०० दिन भनेको १७ प्रतिशत हुन आउने रहेछ। १०० दिनभित्रमा १७ प्रतिशत काम गर्नुपर्ने तर त्यस्तो खालको थिती देखिएको छैन। केही उपलब्धि भने भएका छन्। आशा र निराशाको मिश्रित स्वरूप देखिएको छ।
सरकारलाई पूर्णता दिन समय लाग्नु दुर्भाग्यपूर्ण हो। प्रधानमन्त्रीले कोरोना खोप चैतसम्म सबैलाई लगाउने भन्नुभएको छ, त्यो राम्रो हो। सरकारले दीर्घरोगीलाई र गरिबलाई १० हजार सहयोग दिनेजस्ता राम्रा कार्यक्रम सरकारले ल्याएको छ।