प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासँगको छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले 'स्वतन्त्र न्यायालयको संस्थागत सुधार हुन्छ भने सबैले आफ्नो आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने' बताएका छन्।
आइतबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छलफलमा आफूले यस्तो धारणा राखेको उनले सेतोपाटीलाई जानकारी दिएका हुन्।
'गोलाप्रथाबाट पेसी तोक्ने र न्यायालयका विकृति नियन्त्रण गर्नेबारे प्रधानन्यायाधीशसँग छलफल गर्न गएका थियौं। त्यहाँ मैले संस्थागत सुधारका लागि गोलाप्रथामा जानुपर्ने कुरा सबैले स्वीकार गरेको बताएको थिएँ। यस्ता संस्थागत सुधार गर्न सकिन्न भने हामी सबैले आफ्नो पद त्याग्न तयार हुनुपर्छ भनेको हुँ,' उनले भने, 'न्यायालयको सुधार पहिलो प्रश्न हो। चाहे प्रधानन्यायाधीश होस् चाहे नेपाल बारको अध्यक्ष, राजीनामा दिएर संस्था सुधार हुन्छ भने दिनुपर्ने हुन सक्छ भन्ने मेरो धारणा हो।'
उनले गोलाप्रथाबाट पेसी तोक्ने लगायत सुधार गर्न प्रधानन्यायाधीश तयार हो कि होइन भनेर सोधेका थिए। त्यस्तै, मन्त्रिपरिषदमा भागबन्डा खोजेका समाचारहरूबारे प्रधानन्यायाधीशले सत्यतथ्य के हो बोल्नुपर्ने उनले बताएका थिए।
प्रधानन्यायाधीशले जवाफमा गोलाप्रथाबाट पेसी तोक्न आफूलाई आपत्ति नभएको र नमूनाका रूपमा मंगलबारदेखि नै लागू गर्न तयार भएको बताएका थिए।
'उहाँले गोलाप्रथामा जान आफू तयार रहेको बताउनुभयो। पर्सिदेखि नै नमूनाका रूपमा गोलाप्रथाबाट पेसी तोक्न सकिने पनि उहाँको भनाइ थियो। तर हामीले यो विषय सर्वोच्चका सबै न्यायाधीशसँग छलफल गरेर टुंग्याउने भएका छौं। भोलि सर्वोच्चको फुलकोर्ट बैठकमा नेपाल बारको प्रतिनिधि उपस्थिति भएर यो विषय टुंग्याउने छौं,' बार अध्यक्ष श्रेष्ठले भने।
त्यस्तै प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा आफूले भाग नखोजेको स्पष्टीकरण दिएका छन्। गजेन्द्र हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नभएको जवाफ प्रधानन्यायाधीशले दिएको श्रेष्ठले बताए।
'मेरो ०४१ सालमा मृत्यु भएको श्रीमतीको दाजु हो उहाँ। हाम्रो पारिवारिक नाता त छ तर आउजाउ राम्रो छैन। तर उहाँ मन्त्री भएको विषयमा मलाई जोडियो। उहाँलाई मन्त्री बनाउन मेरो संलग्नता छैन। प्रधानन्यायाधीश त संस्था हो, जसले जे भन्छ, जे लेख्छ, संस्थाको नेतृत्वले उसको मुख लाग्दै हिँड्न मिल्दैन,' प्रधानन्यायाधीश राणालाई उद्धृत गर्दै श्रेष्ठले भने।