सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि नेपाल बार एशोसिएशनसँग राखेको फुलकोर्ट बैठकमा नबस्ने निर्णय गरेका छन्।
प्रधानन्यायाधीशको कारणले समग्र न्यायपालिका विवादमा तानिएको भन्दै आइतबार अदालतमा उपस्थित १४ जना न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो।
आइतबार प्रधानन्यायाधीशसँग नेपाल बारको छलफलले भोलि फुलकोर्ट राख्ने तय भएको थियो।
दिउँसो २ बजेदेखि न्यायाधीश दीपक कार्कीको संयोजकत्वमा बसेको छलफलको बीचमै प्रधानन्यायाधीशले सोमबार फुलकोर्ट बैठक राखेको नोटिस पाएपछि उनीबारे धारणा बनाउने विषय मोडिएको एक न्यायाधीशले बताए।
'त्यसपछि बारसँग राखिएको फुलकोर्ट बैठकमा बस्ने कि नबस्ने भन्ने छलफल भयो अनि हामी १४ जना नै भोलिको बैठकमा उपस्थित नहुने निर्णय गर्यौं,' उनले भने, 'हामी १४ जनाको छलफल भोलि ११ बजेदेखि नै निरन्तर हुन्छ।'
उक्त बैठक चलुन्जेल न्यायाधीशहरू इजलासमा नबस्ने उनले बताए।
एक अर्का न्यायाधीशले पनि बारसँगको फूर्लकोर्ट १४ न्यायाधीशले बहिष्कार गर्ने निर्णय भएको पुष्टी गरे।
'प्रधानन्यायाधीशबाट राज्यका कार्यकारी शक्तिसँग, सरकारसँग राजदुत माग्ने, मन्त्री माग्ने र स्वतन्त्र न्यायपालिकाको हुर्मत लिने बदनाम गर्ने जुन काम भएको छ त्यसबारे हामीले छलफल गर्दै थियौं। त्यसबीचमा भोलि हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकाको विकृति हटाउन दिएको प्रतिवेन र वकिलको बरिष्ठताबारे छलफल गर्न बारसँगको फुलकोर्ट राखिएको भन्दै सूचना आयो,' उनले भने, 'प्रधानन्यायाधीशले अहिलेको समसामयिक विषयलाई मोडेर वकिलहरूलाई फकाउन बरिष्ठता दिन्छौै भनेर बोलाएको बैठकमा हामी सहमत भएनौं। त्यसैले नजाने निर्णय गर्यौं'
आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणासहित १५ न्यायाधीश हाजिर थिए।
न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बारको बैठकमा उपस्थित नहुने निर्णयमा सामेल थिए।
यी १४ न्यायाधीश नै भोलि पनि छलफलामा बस्ने एक अर्का न्यायाधीशले बताए।
सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश सहित २० न्यायाधीश छन्। ती मध्ये आज प्रधानन्यायाधीश राणा सहित १५ न्यायाधीश उपस्थित थिए।