प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संवैधानिक अंगहरूमा भागबन्डा गरेर न्यायालयलाई बिटुलो पारेको आरोप खेपिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली त्यसबारेको प्रश्नबाट उम्किन खोजेका छन्।
मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनको सुरुआतमै ओलीले सञ्चारकर्मीबाट सर्वोच्च अदालतको अहिलेको विवादबारेको प्रश्न झेल्नुपर्यो। प्रधानन्यायाधीशले राजीनामा दिने कि नदिने भन्नेबारे एमालेको कुनै पक्षधरता नरहेको बताउँदै अदालत संविधानअनुसार चल्नुपर्ने उनको भनाइ थियो। कानुन व्यवसायीहरूले आफूअनुकूल संवैधानिक इजलास गठन गराएको, एमालेलाई मुद्दा हराएको जस्ता सदाबहार गुनासो ओलीले गरे।
अदालतमा भएको सेटिङ अहिले देखापरेको उनको भनाइ थियो।
‘अदालतमा के सेटिङ हो, कस्तो सेटिङ हो हेर्दैछौं हामी,’ ओलीले भने, ‘जुन राजनीति अहिले सर्वोच्च अदालतमा भइरहेको छ, हाम्रो चिन्ता अदालतको विश्वसनीयताबारे हो। अदालत देशको महत्वपूर्ण अंगको रूपमा रहोस्, दलीय गुटबन्दीमा फस्नु हुँदैन, त्यहाँभित्रको खिचतानीमा पस्नु हुँदैन भन्ने हो।’
संसद् विघटन बदर गर्ने सर्वोच्च फैसलाबारेको पुरानै असन्तोष उनले विराटनगरमा पनि प्रकट गरे।
‘५ जनाको फैसला आउँदाखेरि त बारले डेलिगेसन गएर इजलास तोकेको होइन, अधिवक्ताहरूले उफ्रिउफ्री इजलास तोकेको होइन र?,’ ओलीले थपे ‘आफैंसँग बसेका इजलासका फलाना-फलाना न्यायाधीश हुँदैन भनेर भनेको होइन र? न्यायाधीशको बेञ्चमा बसेर न्याय निरूपण गर्न नदिएको त्यहीँको न्यायाधीशले होइन र? अधिवक्ताले बेन्च गठन गर्ने, बारले बेन्च गठन गर्ने वा आफूले भनेजस्तो भएन भने न्यायाधीश मान्दिनँ भन्ने तमासा परमादेश भन्दा अगाडिकै सेटिङ होइन?’
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने विषयमा एमालेले कतैपट्टी पनि पक्षधरता नदेखाउने उनको भनाइ थियो।
त्यही क्रममा सञ्चारकर्मीले थप प्रश्न गरे, ‘अदालतमा राजनीति त तपाईंकै पालादेखि सुरू भएको थियो नि?’
प्रश्न नसकिँदै ओलीकै छेउमा बसेका एमाले नेता शंकर पोखरेलले हस्तक्षेप गरे। ‘यही एउटै विषयमा कति कुरा गर्नु? अरू विषयमा जाउँ।’ पोखरेलले प्रश्न टार्ने प्रस्ताव गर्नेबित्तिकै ओलीले सदर गरिदिए। ‘हो, एउटै विषयमा धेरै कुरा भयो अरू विषयमा जाऔं।’
ओलीले टारेको यो एउटामात्रै प्रश्न थिएन। केही समयअघि आफ्नो सरकारले धेरै उपलब्धिमुलक काम गरेको बताउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधा भाग त्यसैले भरिने’ बताएका थिए। ‘गिनिजमा लेखिनुपर्ने तर नलेखिएका त्यस्ता के काम हुन् बताइदिनुस् ’ पत्रकार सम्मेलनमा सेतोपाटीले गरेको यो आग्रहमा उनले उल्टै प्रश्न गरे। भने , ‘तपाईंले एमालेले गरेको काम देख्नुभएको छैन? कति वर्ष भयो पत्रकारिता गरेको? यति धेरै काम देख्नुभएन?’