भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्यांकन गरिने जानकारी दिएकी छन्।
राष्ट्रिय भूमि आयोगले आज चितवनमा आयोजना गरेको प्रदेशस्तरीय समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अघिल्ला आयोगले गरेको कामलाई निरन्तरता दिँदै थप काम अगाडि बढाइने बताएकी हुन्।
सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी परिवर्तन हुँदा समस्या हुने जनाउँदै उनले भनिन्,'सरकार परिवर्तन हुँदा हुने आयोगका पदाधिकारी परिवर्तनले सुकुम्बासी समस्या समाधानमा कठिनाइ भएको छ।'
यसलाई न्यूनीकरण गर्नका लागि सरकार परिवर्तन भए पनि आयोगले गरेका कामको मूल्याङ्कन गर्दै अघि बढ्न सकेमा मात्रै सुकुम्बासीको समस्या समाधान हुने उनको भनाइ थियो।
अहिले जग्गा हुनेले खेती नगर्ने र खेती गर्नेको जग्गा नहुने हुँदा समस्या अझै जटिल बन्दै गएको उनको भनाइ थियो।
उनले भनिन्, 'खेती गर्ने सुकुम्बासीको जग्गा छैन। धनाढ्यको जग्गा छ तर खेती गर्दैनन्।'
सुकुम्बासीहरूको समस्या समाधान नहुँदा कतिपय नागरिकहरू अनागरिक बन्नु परेको भन्दै उनले दुःख व्यक्त गरिन्।
राज्यले अहिलेसम्म अँगालेको भूमिसम्बन्धी नीतिका कारण जटिल समस्या आएको भन्दै उनले अहिले बनेको भू-उपभोग नीति लागू गर्न सकेमा मात्रै समस्या समाधान हुने बताइन्।
उनले भनिन्, 'भू-उपयोग नीति बनेको छ। कार्यान्वयनमा आउन केही समय लाग्ने देखिन्छ।' रासस