प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले मुद्दामामिलामा सौदाबाजी गर्दै मन्त्रिपरिषद र संवैधानिक निकायमा भाग खोजेको, न्यायालयको स्वतन्त्रता, आस्था र विश्वास गुम्ने कामकारबाही गरेको भन्दै न्यायाधीशहरू भद्र आन्दोलनमा छन्। उनीहरूले प्रधानन्यायाधीशको राजीनामा नै मागेर इजलास बहिष्कार गरेपछि अब फेरि उनैले तोकेको इजलासमा बसेर न्याय निरूपण गर्न न्यायाधीशहरूलाई नैतिक रूपले कठिन हुनेछ।
यसै सम्बन्धमा हामीले वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलसँग कुराकानी गरेका छौं।
झन्डै आधा घन्टा लामो भिडिओ कुराकानीमा खरेलले भने, 'न्यायाधीशहरू प्रत्येकले प्रधानन्यायाधीशलाई राजीनामा दिनुस् अन्यथा हामी राजीनामा दिन्छौं भन्नुअगाडि उहाँहरू एउटा निष्कर्षमा पुग्नुभएको छ भन्ने मैले ठानेको छु। त्यो निष्कर्ष के भने, यिनै प्रधानन्यायाधीश अनवरत रहेर न्यायपालिका अगाडि बढ्ने हो भने बीस जनामध्ये बीसै जनाले राजीनामा दिनुहुनेछ।'
उनले अगाडि भने, 'प्रधानन्यायाधीशविरूद्ध फौजदारी अभियोग अनुसन्धान गर्ने भनेर उठेको विवाद होइन यो। अहिलेको विषय भनेको उहाँको क्रियाकलापले अदालतको मर्यादा र गरिमा खस्कियो कि खस्किएन भन्ने हो। त्यसनिम्ति अहिले जति पनि कुरा आएका छन्, खासगरी रञ्जन कोइरालाको मुद्दादेखि अन्य ठूल्ठूला आर्थिक क्रियाकलापका मुद्दा नै पर्याप्त छन्। यी सबै परिस्थितिजन्य प्रमाणले उहाँमाथि प्रश्न उठेका छन् जुन दुर्भाग्यपूर्ण छ। प्रश्न उठिसकेपछि उहाँले 'मलाई महाअभियोग लगाऊ र मेरोविरुद्ध फौजदारी अनुसन्धान गर' भन्नु झनै पीडादायक अवस्था हो। यसको परिणति के हुन्छ भन्ने अहिल्यै अनुमान गर्न सकिन्न।'
आफ्नो ४० वर्षको वकालत करिअरमा अहिलेजस्तो बेथिति कहिल्यै नदेखेको पनि वरिष्ठ अधिवक्ता खरेलले बताए।
उनले नेपाल बारको पछिल्लो सल्लाहकार सभाको छलफलमा उठेको एउटा उदाहरण दिँदै भने, 'फलानोको मुद्दा पार्छु भनेर दुवै तर्फबाट घुस लिने, बढी घुस दिनेलाई जिताउने र अर्को पक्षलाई अर्को मुद्दा लिएर आऊ त्यसमा मिलाउँला भनेर बिचौलियालाई भन्ने गरेको सुनियो।'
'खुला रूपमा अनुसन्धान हुने हो भने विदेशमा कसको रकम कुन खातामा छ, कसको सम्पत्ति कसको नाममा राखिएको छ भनेर देखाउन सकिन्छ भन्ने कुरा पनि उठ्यो,' उनले भने, 'न्यायाधीशहरू र प्रधानन्यायाधीशकै बारमा समेत नाम किटेर यस्तो अवस्था छ भनेर केही साथीहरूले भन्नुभयो। भ्रष्टाचार छ भन्ने सुनेको हुँ, तर यो स्तरमा छ भन्ने मैले कल्पना गरेको थिइनँ।'
उनले गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने प्रस्तावमाथि पनि आफ्नो राय राखे।
'म व्यक्तिगत रूपमा गोलाप्रथाले समस्या समाधान हुन्छ भन्ने मान्छे होइन। व्यक्तिमा समस्या छ भने त्यो व्यक्ति फेर्ने हो, प्रणाली फेर्नतिर जाने होइन,' उनले भने, 'गोलाप्रथा भनेको व्यक्ति लक्षित भएर तत्कालका लागि ल्याइएको उपचार हो, यो दीर्घकालीन समाधान होइन। व्यक्तिमाथि शंका छ भने शंका नभएको व्यक्ति ल्याउने हो, प्रणाली फेर्ने होइन।'
यी पनि हेर्नुहोस्:
विस्तृत कुराकानी भिडिओमा: