पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकोमा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरूको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश लम्सालको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्साल १९९७ साल वैशाख ९ गते काठमाडौंमा जन्मेका थिए।
उनले २०१८ पुस २ गते न्याय सेवामा प्रवेश गरी भई २०४४ सालमा मध्यमाञ्चल क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश हुँदै २०४९ असार १ गते पुनरावेदन अदालत नेपालगञ्जको मुख्य न्यायाधीश भएर काम गरेका थिए।
उनले २०५४ साउन १७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भई २०५५ चैत ५ गते स्थायी न्यायाधीशमा नियुक्ति भएर २०६२ वैशाख ८ गते उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गरेका थिए।
अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उनको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। रासस