सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूको नियमित छलफल र मोर्चाबन्दी जिल्लामा पनि देखिन थालेको छ।
गठबन्धनका शीर्ष नेताहरू नियमित बैठकमा जुटिरहे पनि जिल्ला तहमा गठबन्धन बनेको थिएन। यस्तै, प्रदेशमा पनि सरकार बनाउन सफल भएपछि गठबन्धनका नेताहरू नियमित जुटेका थिएनन्।
लमजुङमा गठबन्धनका जिल्ला नेताहरू मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालयमा बैठक बसेर वडा तहसम्मै गठबन्धन विस्तार गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेस लमजुङका सचिव हरिप्रसाद बराल, माओवादी केन्द्र लमजुङका इन्चार्ज पारसमणि पौडेल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बालकृष्ण बराल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष नरेन्द्रबहादुर गुरूङलगायत नेताहरू बसेर वडा तहसम्मै गठबन्धन बनाउने निर्णय गरेका हुन्।
बैठकपश्चात् नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘गठबन्धनको तर्फबाट जिल्लाका आठ वटै पालिका एवं सबै वडामा सहयोग समन्वय गर्ने तथा सबै पालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट पदाधिकारीको संयुक्त बैठक बसी थप कार्ययोजना बनाइ अघि बढ्ने निर्णय गरियो।’
निर्णयमा संघीय र प्रदेश सरकारले घोषणा गरेका नीति कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्व्यन गर्न समन्वय गर्ने भनेको छ।
वर्षातका कारण भएको जनधनको क्षतिमा आवश्यक राहत र पुनर्स्थापनाका लागि पनि पहल गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस लमजुङका सचिव बरालले बताए।
गठबन्धन सरकार भएकाले सामूहिक रूपमा काम गर्न बैठक बसेको बरालले बताए।
आगामी निर्वाचनमा वडा तहसम्मै मिलेर जाने विषयमा भने छलफल नभएको उनको भनाइ छ।
‘चुनावका कुरा आउन बाँकी छ, केन्द्रले पनि निर्णय गर्ला,’ बरालले भने, ‘गठबन्धनका जिल्ला नेताहरू बसेर समसामयिक विषयमा छलफल गर्यौं।’
नेकपा माओवादी केन्द्र लमजुङका इन्चार्ज पारसमणि पौडेलले भने गठबन्धनमा रहेका पार्टीको तल्लो तहसम्मै छलफल गर्दै जाने समझदारी बनेको बताए।
संघीय र प्रदेश सरकारका योजनामात्र नभई स्थानीय सरकारका गतिविधि पनि गठबन्धनका तर्फबाट निगरानी गर्ने समझदारी भएको उनले बताए।
लोकतन्त्र र संविधानको रक्षा गर्ने र बर्खिलाप गर्नेबीचको लडाइँ भएको भन्दै पौडेलले गठबन्धनमा रहेका पार्टी कमिटी व्यवस्थित गरेर लैजाने बताए।
एमालेप्रति इंगित गर्दै पौडेलले भने, ‘गलत प्रवृत्तिका विरूद्ध सहकार्य गरेर लडाइँ लडेको हो, आन्दोलनमा एकै ठाउँमा भएका दलहरूको सहकार्य निरन्तर छ भनेर बैठकले सन्देश दिएको छ।’
आगामी निर्वाचन गठबन्धन मिलेर नै जाने विश्वास गर्दै उनले एमालेसँग भने तत्काल सहकार्य हुन नसक्ने बताए।
स्थानीय तहको निर्वाचन २०७४ मा देशका अधिकांश ठाउँमा माओवादी केन्द्र र कांग्रेस मिले पनि लमजुङमा भने एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए।
प्रतिनिधि सभा र प्रदेश सभामा भने देशभर एमाले र माओवादीले तालमेल मिलाएका थिए।
जिल्लामा गठबन्धन बनाउन सफल भएपछि नेकपा एकीकृत समाजवादीका इन्चार्ज बालकृष्ण बरालले आगामी दिनमा निरन्तर गठबन्धन बैठक बस्ने बताए।
जिल्लाका विकास निर्माणका समस्या मिलेर समाधान गर्न बैठकमा नेताहरू सहमत भएको बताउँदै बरालले स्थानीयदेखि संघीय सरकारसम्मका विकास योजना मिलेर अघि बढाउने सहमति भएको बताए।
लोकतन्त्र र संविधानको रक्षा गर्न, प्रतिनिधि सभा विघटन विरूद्धको आन्दोलनमा होमिएका शक्तिलाई वडा र गाउँ तहसम्म पुर्याउने समेत बरालले बताए।
‘हामी निर्वाचनसम्म गठबन्धनका रूपमा अघि बढ्छौं,’ बरालले सेतोपाटीसँग भने, ‘संविधान र लोकतन्त्रलाई सबल बनाएर लैजान हामी मिलेर जानुपर्छ।’
उनले पनि एमालेसँग आउँदो चुनावमा तालमेलको सम्भावना नरहेको बताए।
एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरूङ पालिका तहका एमाले अधिवेशन गर्न जिल्ला गएकै दिन ५ दलका नेताहरू बैठक बसेका हुन्।
गण्डकीका पूर्वमुख्यमन्त्री गुरूङको निर्वाचन क्षेत्र समेत रहेको लमजुङमा पाँच दल मिलेर चुनावमा गए निशानामा गुरूङ पर्नेछन्।
गठबन्धनका नेताहरूले व्यक्तिभन्दा पनि एमालेको प्रवृत्तिका विरूद्ध लड्न वडा तहसम्मै गठबन्धन बनाउन आवश्यक रहेको बताएका छन्।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय चुनावमा समेत गठबन्धन तालमेल गर्न इच्छुक देखिए पनि कांग्रेसका जिल्ला नेताहरूले भने चासो दिएका छैनन्।
गठबन्धन बैठकमा सहभागी कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले चुनावका विषयमा छलफल गर्ने बेला नभएको बताए।
उनले केन्द्रको निर्णय अनुसार अघि बढ्ने समेत बताए।
कांग्रेस लमजुङका क्षेत्रीय सभापति ब्रिषराज गुरूङले भने कांग्रेस लमजुङको अधिवेशनबाट आउने टिममा गठबन्धनबारे निर्णय गर्ने बताए।
कांग्रेस एक्लै निर्वाचन लड्न चाहेको भन्दै उनले सरकार बनाउन गठबन्धन आवश्यक रहे पनि निर्वाचन एक्ला–एक्लै लड्नुपर्ने बताए।
जिल्लामा पाँच दलीय गठबन्धन बैठक बसेर वडा तहसम्म जाने निर्णय गरेको भोलिपल्टै एमाले नेता गुरूङले चुनावसम्म गठबन्धन टिक्न नसक्ने बताएका छन्।
गुरूङले फेरि वाम गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने धारणा समेत सार्वजनिक गरे।
राजनीतिमा असम्भव केही नहुने तर्क गर्दै नेता गुरूङले भने, ‘लेखेर राख्नुस्, यो गठबन्धन आगामी निर्वाचनसम्म जानै सक्दैन। हामी वाम गठबन्धन बनाएर निर्वाचनमा जान तयार छौं, गठबन्धन प्रचण्ड र माधवको भूमिकामा भर पर्छ।’