नेकपा एमालेले दशौं महाधिवेशनका लागि आउने प्रतिनिधिको संख्या टुंग्याएको छ। शुक्रबार बसेको एमालेमा केन्द्रीय कमिटी बैठकले १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।
संघीय निर्वाचन क्षेत्रमा रहेका एमालेका संगठित सदस्य संख्याका आधारमा महाधिवेशन प्रतिनिधिको संख्या निर्धारण हुनेछ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छानिने जानकारी दिए।
यसअघि एमाले स्थायी कमिटीले महाधिवेशन प्रतिनिधिको संख्या १५३६ राख्ने प्रस्ताव गरेको हो।
शुक्रबार केन्द्रीय कमिटीमा केही नेताहरूले महाधिवेशन प्रतिनिधिको संख्या बढाउनु पर्ने माग गरेका थिए।
एमाले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहामा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए।
एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।
आजको बैठकमा एमाले अध्यक्ष ओलीले चुनाव हुनु लोकतान्त्रिक प्रणाली भए पनि महाधिवेशन प्रतिनिधि सहमतिमा छाने उत्तम हुने बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
ओलीले महाधिवेशनबाट नयाँ नेतृत्व छान्दा पनि सहमतिको प्रयास गर्नुपर्ने बताएका छन्। सहमति नभए विद्युतीय मेसिन प्रयोग गरेर निष्पक्ष मतदान गरिने ओलीको भनाइ थियो।
पार्टीका विरोधीहरू धेरै सलबलाएकाले समाजका कुरा सुन्नेभन्दा पार्टीलाई बलियो बनाउन लाग्नु पर्ने ओलीको भनाइ थियो।