एमाले उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीशमाथि उठेका विषयमा संसदले छानबिन गर्नुपर्ने बताएका छन्।
उपाध्यक्ष रावलले आइतबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै प्रधानन्यायाधीशको विषयमा यति धेरै गम्भीर कुरा उठ्दा पनि दलहरू मौन देखिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए।
'प्रधानन्यायाधीशबारे यति गम्भीर प्रश्न उठिसक्यो, त्यसको दबाब या नैतिकताबोध के हो भन्ने उहाँलाई सरोकार भएको देखिँदैन। अरू न्यायाधीशले इजलास बहिष्कार गरिरहनुभएको छ। बारले देशव्यापी रूपमा आन्दोलन गरिरहेको छ,' उनले भने, 'न्यायपालिकामा यत्रो गम्भीर समस्या हुँदा राजनीतिक दलहरूले यो त न्यायालयको कुरा भन्नु हास्यास्पद छ।'
प्रधानन्यायाधीशविरूद्ध महाअभियोगको प्रस्ताव ल्याएपछि मात्र संसदमा छानबिन हुनसक्ने प्रावधान रहेको उल्लेख गर्दै उपाध्यक्ष रावलले सरकारले कुनै किसिमको समिति बनाएर यो विषय हेर्न सक्ने बताए।
रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण १० बुँदे कार्यान्वयनमा समस्या आएपछि कार्यदलबाट राजीनामा दिएको पनि उल्लेख गरे।
'म असफल भएको होइन। पार्टीले विधिवत् निर्णय गरेर त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको हो तर अख्तियारप्राप्त व्यक्तिहरूबाट दसबुँदे कार्यान्वयनमा तत्परता देखाइएन। बरू त्यो कार्यान्वयन गर्न पर्दैन भनेर पार्टी अध्यक्षले नै औपचारिक अभिव्यक्ति दिनुभयो। त्यसैले त्यो कार्यदलमा बस्नुको कुनै औचित्य नदेखेर मैले छाडेको हो,' उनले भने, 'त्यो मैले नसकेर होइन, अख्तियारप्राप्त व्यक्ति र संस्थाले कार्यान्वयन नगर्दा बाहिर भ्रम सिर्जना हुनसक्ने हुनाले मैले त्यसबाट राजीनामा दिएको हुँ।'
प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलको भूमिका र एमालेभित्रको आन्तरिक समस्याबारे हामीले एमाले उपाध्यक्ष रावलसँग गरेको भिडिओ कुराकानीका मुख्य अंश यसप्रकार छन्:
- १० बुँदे कार्यान्वयन गर्न नसकेर असफल भएर छाड्यो भन्ने कुरा कुप्रचार मात्रै हो। खोज्नेले के खोजे, त्यो त उहाँहरूलाई सोध्नुस् तर म असफल भएको होइन। जिम्मेवार कार्यकारी अधिकारप्राप्त व्यक्तिले आफैंले हस्ताक्षर गरेको कुरा कार्यान्वयन नभएपछि आमजनसमुदाय र पार्टी पंक्तिमा भ्रम सिर्जना हुने भएकाले राजीनामा दिएको हो।
- मैले कार्यान्वयन गर्न नसकेको होइन कि तपाईंले नै कार्यान्वयन गर्न नदिएको हो भनेर मैले अध्यक्षलाई भनेको छु।उहाँको दृष्टिमा मैले गर्न नसक्याजस्तो देखियो। मैले अगाडि सारेका प्रमाण र तथ्यले मलाई गर्न नदिएको देखियो।
- मैले वडा अधिवशेन र पालिका अधिवेशन हुनुअघि नै पार्टीमा थप क्षति हुन नदिन प्रयास गरौं भनेको हो। अरूका कुरा सुन्नै नपर्ने प्रणालीले पार्टीलाई क्षति पुर्याउँछ। यस्तो अवस्था नआओस् भन्ने मेरो चाहना हो।
- वडा अधिवेशन र पालिका अधिवेशन हुनु सामान्य संगठनात्मक प्रक्रिया हो। मुख्य कुरा त जसरी पार्टीले समस्या सामना गरेको छ, देशले गम्भीर समस्या सामना गरेको छ, त्यसबारे के गर्ने भन्ने हो।
- आज न्यायपालिकामा हेर्नुस्, प्रधानन्यायाधीशबारे गम्भीर प्रश्न उठेको छ। राजनीतिक दलका कतिपय नेताहरू भन्छन्, त्यो त अदालतको काम हो। त्यसो भए राजनीतिक दलको काम रमिता हेर्ने हो त? भोलि सेनामा समस्या होला, त्यो सेनाको काम हो। सशस्त्रमा होला, त्यो सशस्त्रको काम हो। अनि संसदमा समस्या भएको छ भने त्यो संसदको काम हो। त्यहाँको सभामुखको काम हो। यही हो त राजनीतिक दलका नेताहरूले र सरकारको प्रधानमन्त्री लगायत जिम्मेवार व्यक्तिहरूले भन्ने? त्यसैले यी सबै समस्या समाधान गरेर अघि बढौं भनेर मैले भनेको हो।
- पार्टीमा भएका अन्तरविरोध समाधान गर्न आफैंले गरेका सहमतिलाई मान्ने, पार्टीलाई विधि पद्धतिबाट चलाउने, राष्ट्रको सर्वोपरी हितमा आफ्ना स्वार्थहरूलाई राख्ने, देशप्रति जिम्मेवार हुने, कार्यकर्ता पंक्तिप्रति जिम्मेवार हुने, पार्टी भनेको सामूहिक भावनाबाट चल्छ, सिद्धान्तबाट र कार्यक्रमबाट चल्छ, सामूहिक नेतृत्वबाट चल्छ भन्ने कुराले एमाले बलियो भएको मैले विगतमा देखेको हो। त्यस्तो नगरे अन्तत: पार्टीलाई क्षति हुन्छ। त्यसले देशलाई क्षति पुग्छ भन्ने हो।
- मैले अहिले पनि केही तयारी गरेको छैन। एमाले राम्रो होस्। महाधिवेशन राम्रोसँग सम्पन्न होस्। राष्ट्रिय हितको पक्षमा पार्टी लागोस्, न्याय, समानता, पछाडि परेको समुदायको पक्षमा पार्टी लागोस् भन्ने हुन्छ। जुन बेला प्रसँग आउला, त्यही बेला मेरो धारणा आउनेछ। अहिले कुन पदमा तयारी गर्ने भन्नेमा मेरो कुनै सोच छैन।
- प्रधानन्यायाधीशबारे संसदले निकास दिने/नदिने विषयमा पार्टीमा छलफल हुनुपर्ने हो। यसबीच हाम्रो स्थायी कमिटी र केन्द्रीय बैठक भयो तर कुनै कार्यसूची नै बन्न सकेन। मानौं केही भएको छैन। अरू पार्टीमा पनि छलफल भएको छैन। प्रधानन्यायाधीशको विषयमा प्रश्न उठ्दा मौन बस्नु र यो हाम्रो सरोकारको विषय होइन भन्नु गैरजिम्मेवारी हो, दुःखद हो।
- यो विषयमा संसदले छानबिन गर्नुपर्छ। छानबिन गरेर कसको भूमिका हो, विगतमा कार्यपालिकामा रहेका व्यक्तिले भित्र-भित्र साँठगाँठ गरेका कुरा आएका छन्, ती हुन् कि होइनन्, कसले कसलाई भेट्यो भन्ने कुरा आएका छन्, त्यसको छानबिन किन गरिँदैन?
हेर्नुहोस् भिडिओ: