संसद्को कार्यसूची अनुसार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।
गणितीय रुपमा सरकार टिकाउन पुग्दो संख्या सत्तारुढ एमालेसँग छैन। तर मुख्यमन्त्री आचार्य भने अझै पनि ‘विश्वासको मत पाउने’ आशामा रहेको उनकै मन्त्रीपरिषदका सदस्यले बताएका छन्।
‘सम्भावना त मैले पनि देखेको छैन,’ प्रदेश मन्त्रीपरिषदका एक सदस्यले सेतोपाटीसँग भने ‘तर मुख्यमन्त्रीमा अचम्मको आत्मविश्वास देखिन्छ।’ मुख्यमन्त्रीमा देखिएको त्यो आत्मविश्वासबारे उनले आइतबार साँझको मन्त्रिपरिषद बैठकमा भएको संवाद सुनाए, जहाँ मुख्यमन्त्रीले आफ्नो सरकार टिक्ने बताएका थिए।
ती मन्त्रीका अनुसार आइतबार साँझ प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लामो समयसम्म बैठक चल्यो। सरकारको भविष्य र सोमबारका लागि तय भएको कार्यसूचीबारे बहस भए। त्यहीक्रममा बैठकमा मन्त्रीहरुले मुख्यमन्त्रीलाई सोधे ‘मुख्यमन्त्रीज्यू भोलि हामी के गर्छौं?’
‘भोलि संसदमा विश्वासको मत लिन्छौं,’ आचार्यले यस्तो जवाफ दिएपछि मन्त्रीहरुले फेरि सोधे, ‘पाउने सम्भावना छ?’ मुख्यमन्त्री आचार्यले सबैलाई आश्वस्त पार्दै थपे, ‘त्यो सम्भावना भएरै त भन्दैछु।’
मुख्यमन्त्रीको यस्तो आत्मविश्वासको स्रोत प्रदेश १ को मुख्य विपक्षी नेपाली कांग्रेस भित्रको असन्तोष भएको एमाले स्रोतको भनाइ छ। यद्यपि कांग्रेसले भने त्यस्तो कुनै समभावना नरहेको प्रष्ट गरिसकेको छ।
भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए। आफूलाई मुख्यमन्त्री बनाए एमालेका सांसदलाई एकीकृत समाजवादीमा सनाखत गर्नबाट रोक्ने वचन पार्टी अध्यक्ष केपी ओलीलाई दिएर आचार्य तेस्रो प्रयासमा मुख्यमन्त्री बनेका थिए।
सरकार गठन भएकै दिनदेखि गणितीय रुपले उनी प्रष्ट अल्पमतमा परिसकेका थिए। तैपनि मुख्यमन्त्री आचार्य यति विश्वस्त देखिन्छन् कि आइतबार साँझको मन्त्रीपरिषद बैठकमै आफूले विश्वासको मत पाउने आत्मविश्वास प्रकट गरे।
उनको आत्मविश्वासबारे मन्त्रीहरु नै विश्वस्त भने छैनन्। अन्तिम समयसम्म विपक्षी गठबन्धनका सांसद फकाउने प्रयास सफल नभए आचार्यले संसदमा सम्बोधन गरेर राजीनामा दिने एमाले स्रोतको भनाइ छ।
‘अहिलेसम्म विपक्षी गठबन्धनका केही सांसदले साथ दिने अपेक्षासहित प्रयास जारी छ,’ प्रदेश १ एमालेका एक सांसदले भने ‘अन्तिमसम्म त्यो एक्सरसाइज चल्नेछ। पार लागेन भने सम्भवतः संसदमा सम्बोधन गरेर मुख्यमन्त्रीले राजीनामा घोषणा गर्नु हुनेछ।’
पूर्वनिर्धारित कार्यसूची अनुसार संसद्को प्रक्रिया अघि बढेर मत विभाजन भए पनि मुख्यमन्त्री आचार्य सत्तारोहणको ६७ दिनपछि पदमुक्त बन्नेछन्। यदि त्यो प्रक्रियामा नगई राजीनामा घोषणा गरे पनि आचार्यको मुख्यमन्त्री पद रहने छैन।
सत्तारुढ एमालेले विपक्षी गठबन्धनमा व्याप्त असन्तोषमा खेलेर चलखेल गर्ने सम्भावना बुझेरै प्रदेश १ को विपक्षी गठबन्धनका सबै दलले आज हुने मत विभाजनमा विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेका छन्।
आइतबारको गठबन्धन बैठकले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। यसअघि कांग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि आज मतदान हुने कार्यसूची छ।
कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी कांग्रेसको आन्तरिक विषय भएको भन्दै आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताइसकेका छन्।
गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमा सरकार बनाउने सहमति यसअघि नै गरिसकेको थियो। तर शेखर कोइराला सहितका नेताले प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेपछि कांग्रेसले अघिल्लो साताको लागि तय भएको मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक नै स्थगित गर्न निवेदन दिएको थियो।
‘एमालेले यही असन्तोषभित्र खेल्ने प्रयास गरेको छ,’ कांग्रेसका नेताहरुले भनेका छन् ‘तर, त्यो सम्भावना छैन।’
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन्। सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।
गठबन्धनमा रहेको कांससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।