प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले आज संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर संकलन थालेका हुन्।
आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिन्छन्। आजै दाबी पेश गर्न हस्ताक्षर संकलन भएको गठबन्धनका नेताहरूले बताएका छन्।
प्रदेश-१ मा अहिलेको विपक्षी गठबन्धनको बहुमत छ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन्। सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।
गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।