बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अरूलाई मूर्ख (फूल) बनाएर आफूले सम्मानजनक बहिर्गमन खोजेको टिप्पणी गरेका छन्।
मन्त्रिपरिषदमा भागबण्डा खोज्ने तथा अदालतको बेञ्च तोक्दा आफूखुसी गरेको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग नेपाल बार एसोसिएसनले गर्दै आएको छ।
बारले प्रधानन्यायाधीशविरूद्ध केही दिनदेखि आन्दोलन गर्दै आएको छ।
'सम्माननीयज्यूले जुन ग्रेसफूल भन्नु भएको छ। बाँकीलाई फूल बनाएर ग्रेसफूल एक्जिट हुँदैन', बारको आन्दोलन अन्तर्गत हातमा कालोपट्टी बाँध्ने कार्यक्रममा बरिष्ठ अधिवक्ता कार्कीले भने, 'केही मान्छेलाई मण्डलतिर लगाएर अथवा टेलिभिजन अन्तर्वार्ता दिएर डिफेण्ड गर्नुपर्ने अवस्था दु:खद् हो।'
अर्का बरिष्ठ अधिवक्ता सतिशकृण्ण खरेलले राजनीतिक दलहरूले अदालतको विषयमा नबोलेकोमा आपत्ति प्रकट गरे।
उनले अदालतमा आगो लागेको बेला दमकलले निभाउने कामले अदालतमा हस्तक्षेप नहुने टिप्पणी गरे।
केही राजनीतिक दलका नेताहरूले अदालतको विषयमा हस्तक्षेप नगर्ने भन्दै दिएको टिप्पणीलाई खरेलले अनुचित भएको बताए।
'अदालतमा हस्तक्षेप नगर्ने भनेको त्यहाँको फैसला र नियुक्तिमा हस्तक्षेप नगर्ने भनेको हो', खरेलले भने , 'आगो लागेको बेला दमकल लिएर जानु हस्तक्षेप हुन्छ भन्ने तर्क दिन मिल्छ? हामी आज नबोल्ने नेताहरूको अकर्मण्यताबारे चुनावमा यी क्षमता नभएको मान्छे हुन् भनेर बोल्छौं।'
उनले प्रधान न्यायाधीशले सम्मानजनक रूपमा बहिर्गमनको बाटो रोज्नुपर्ने बताए।
भिडिओ: