प्रदेश १ मा दुई महिनापछि फेरि सरकार परिवर्तन हुने भएको छ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने भएको हो।
गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले भीम आचार्यले राजीनामा घोषणा गरेर त्यसको पत्र बुझाएपछि प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गर्दै मंगलबार एक बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए।
सबै सांसदको हस्ताक्षर संकलन गरेर बसेको विपक्षी गठबन्धन लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारीसामु दाबीसहित उपस्थित भएको हो।
प्रदेश प्रमुख सोमनाथ अधिकारीले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिए पनि विपक्षी गठबन्धनले सोमबार नै ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेको हो।
नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा परेर काठमाडौंमा भएकोले उनको हस्ताक्षर भने विपक्षी गठबन्धनले सामेल गराएको छैन।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले सोमबार संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर संकलन थालेका थिए।
आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिने र तत्कालै दाबी पेश गर्न हस्ताक्षर संकलन भएको गठबन्धनका नेताहरूले बताएका थिए।
मुख्यमन्त्री आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि संसदको अंकगणित अनुकुल नभएको भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेका थिए।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जनताले आफू नेतृत्वको सरकारकै निरन्तरता चाहेको भए पनि संसदको अंकगणित अनुकूल नभएको र संविधानको धारा १६८(१) अनुसार नेकपा एमाले बहुमतमा नरहेकोले राजीनामा दिने निर्णय गरेको बताएका थिए।
पार्टी विभाजनका कारण आफूले यसअघि नै सरकारबाट राजीनामा दिने सोचाइ बनाएको भए पनि जनअपेक्षालाई सम्मान गर्दै राजीनामा नदिएको उनको दाबी थियो।