प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि आफ्नै शर्तमा राजिनामा नगरून्जेन बन्दीको मुद्दा हेर्न तयार भएका न्यायाधीशहरू आज इजलास बसेनन्।
६ वटा इजलास तोकिएकोमा अहिलेसम्म पाँच इजलासले 'बेन्च नबसेको' सर्वोच्चको वेसाइटमा जनाएका छन्।
न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले भने अहिलेसम्म मुद्दा सुनुवाइ गरेको वा नगरेको कुनै पनि जनाउ दिएको छैन।
आज प्रधान्यायाधीशले आफ्ना लागि इजलास तोकेका थिएनन् र मुद्दा पनि बन्दीप्रत्यक्षीकरणका मात्रै तोकेका थिए। न्यायाधीशहरूले उनले इजलास छोडेमा र बन्दीकामात्र मुद्दा तोकेमा उनको राजीनामा नआउन्जेल इजलास फर्किन तयार भएको सन्देश आइतबार पठाएका थिए।
न्यायाधीशहरूको त्यही शर्त अनुसार सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले इजलास तोके। सोमबार प्रधानन्यायाधीशको सम्मानजनक बहिष्कारको अर्थबारे छलफल गरेका न्यायाधीशहरूले राजिनामा नगरी छलछाम र प्रपन्च गर्न खोजे बेन्च नबस्ने शर्त सहितका सन्देश पठाएर सोमबार बन्दीका मुद्दा हेर्न गएका थिए।
उनीहरूको सन्देश लिएर सम्मानजनक बहिर्गमनको अर्थ सोध्न तीन न्यायाधीशहरू अनिल सिन्हा, सपना मल्ल प्रधान र मनोज शर्मा प्रधानन्यायाधीश राणालाई भेट्न गएका थिए।
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको स्पष्ट खाका दिएको न्यायाधीश मल्लले सेतोपाटीसँग बताएकी थिइन्।
तर त्यो मंगलबार साढे ११ बजेबस्ने न्यायाधीशहरूको बैठकमा मात्र भन्ने अरू कसैलाई बताएकी थिइन्।
बिहान साढे ११ बजे प्रधानन्यायाधीशले राजिनामा गर्नुपर्ने भनेर विद्रोह गरेका न्यायाधीशहरू छलफलमा जुटे।
संभवत: त्यहाँ तीन न्यायाधीशले प्रधानन्यायाधीशको सन्देश सुनाए।
प्रधानन्यायाधीशको सन्देश के थियो अहिलेसम्म बाहिर आएको छैन। तर हिजो बन्दीका मुद्दा हेर्न तयार न्यायाधीशहरूले आज बेन्च नबसेको वेवसाइटमा जनाएका छन्।
आफ्नो राजीनामा माग्दै सातादेखि इजलास नबसी छलफलमा जुटेका न्यायाधीशहरूलाई आइतबार प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका थिए। न्यायाधीश मनोज शर्मामार्फत पठाएको उक्त प्रस्ताव प्रष्ट थिएन।
केही दिनदेखि नै बन्दीका मुद्दा हेर्नुपर्ने छलफलमा कतिपयले प्रस्ताव राखेका थिए। यस्तो प्रस्ताव न्यायाधीश शर्मा, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, प्रकाश ढुंगानालगायतको थियो। तर सिनियर न्यायाधीशहरू सहमत थिएनन्। प्रधानन्यायाधीशले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि भने उनले इजलास छोड्नुपर्ने अडान न्यायाधीशहरूले राखे।
आइतबार साँझ प्रधानन्यायाधीश राणासँग उनले इजलास छोडे बन्दिका मात्र मुद्दा हेर्ने न्यायाधीशहरुको अडान राख्न र उनको प्रस्तावबारे बुझ्न तीन न्यायाधीशहरू भेट्न गए।
उनीहरूसँग प्रधानन्यायाधीशले आफूले केही सुधार गर्न चाहेकाले त्यसको लागि समय चाहिने अडान राखे।
‘मैले न्यायालयमा केही सुधारका काम गर्नुछ। ती काम गर्न केही समय लाग्ला। त्यसपछि म छोड्छु,’ राणालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर जबर्जस्ती म राजीनामा गर्दिनँ, संविधानको प्रक्रियाअनुसार छाड्छु।’
आइतबार उनीहरूले आफ्ना कुरा राखे र सम्मानजनक बहिर्गमनबारे प्रष्ट्याउन प्रधानन्यायाधीशलाई समय दिएर फर्के।
सोमबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि पेशी तोकेनन्। अरू १० न्यायाधीशलाई बन्दीका मुद्दा हेर्न ६ वटा पेशी तोके। त्यसपछि भने न्यायाधीशहरूले इजलास बसेका थिए।
बउनीहरूले सोमबार प्रधानन्यायाधीश राणाको बहिर्गमन गर्ने जिम्मा पनि न्यायाधीशहरू सिन्हा, मल्ल र शर्मालाई दिएको एक न्यायाधीशले भने।
सोमबारको छलफलमा न्यायाधीशहरूले थप प्रस्ताव प्रधानन्यायाधीशलाई पठाउने तय गरे, उनले भनेको सम्मानजनक बहिर्गमनबारे प्रष्ट्याउनुपर्ने, बहिर्गमान नहुन्जेलसम्मको लागि इजलास छोड्नुपर्ने, बन्दीका बाहेक आफूहरूले पनि मुद्दा नहेर्ने हुनाले अरू मुददा स्थगीत गर्नुपर्ने र भोली राजीनामाबाट पछि हटेर छलछाम गर्न खोजे आफूहरूले उनले तोकेका मुद्दा नै नहेर्ने।
न्यायाधीशहरूको यही सन्देश लिएर सोमबार साँझ तीन न्यायाधीशहरू फेरि प्रधानन्यायाधिशकहाँ गए। झण्डै तीनघण्टाको छलफलमा उनीहरूसँग प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो प्रष्ट पारेका हुन्।
उनको सम्मानजनक बहिर्गमनको प्रष्टरूप आज साढे ११ बजे न्यायाधीशहरूको छलफलमामात्र भन्ने न्यायाधीश मल्लले बताएकी थिइन्।
मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेको लगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन्।
दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए।
प्रधानन्यायाधीशले यसरी सत्तामा भाग खोज्नु न्यायालयमा विचलन हो भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा छ। न्यायायाधीशहरू पनि प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा नबसी उनको राजीनामा कुर्ने र थप रणनीतिका लागि छलफलमा बसेका छन्।
न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी बसेर बारसँग प्रधानन्यायाधीशले गत सोमबारका लागि बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए।
त्यो दिन सर्वोच्चका अरू पाँच न्यायाधीश ईश्वर खतिवडा, अनिल सिन्हा, सपना मल्ल प्रधान, कुमार चुँडाल र तेजबहादुर केसी बिदामा थिए।
न्यायाधीश चुँडाल मंगलबार आएर प्रधानन्यायाधीशविरूद्धको छलफलमा सामेल भए। मंगलबार नै सर्वोच्च अदालतमा अनुपस्थित तीन न्यायाधीशले आफूहरू १५ न्यायाधीशको साथमा रहेको र उनीहरूले गर्ने निर्णयमा सहमति रहने सन्देश पठाए।
न्यायाधीश तेजबहादुर केसीले पनि बिहीबार आफू १८ न्यायाधीशको साथमा रहेको सन्देश पठाएका थिए। त्यसपछि प्रधानन्यायाधीशसहित २० न्यायाधीश रहने सर्वोच्च अदालतमा १९ जना प्रधानन्यायाधीशविरुद्ध एकजुट भएका छन्।
न्यायाधीश केसी आज भने सर्वोच्च अदालत आएका छन्। आज उनका लागि पनि प्रधानन्यायाधीशले पेशी तोकेका थिए। अरू न्यायाधीशहरूले बेन्च नबसेको जनाउ दिएपनि न्यायाधीश केसी र रेग्मीको इजलासले भने अहिलेसम्म केही पनि जनाउ दिएको छैन।
यता नेपाल बार एशोसिएसनले पनि बुधवारसम्म राजीनामा गर्नुपर्ने अल्टिमेटम प्रधानन्यायाधीशलाई दिएको छ। उसले १४ गतेदेखि नेपालबार परिसर र सर्वोच्च परिसरमा कालोपट्टि बाँधेर विरोधकार्यक्रम गर्दै आएको छ।
मंगलबार र बुधबार सर्वोच्चमा प्रधान्यायाधीशको राजिनामा माग्दै धर्नादिने कार्यक्रम छ।