पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले सपथ लिएको दिन मंगलबार नेपाली कांग्रेसभित्रको विवादले सपथ कार्यक्रमलाई दुई घण्टा पछि धकेल्यो।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार दुई बजेका लागि मुख्यमन्त्रीको सपथ कार्यक्रम राखेको थियो। तर, तीन बजेसम्म पनि कांग्रेसबाट को मन्त्री बन्ने विवाद टुंगो लागेको थिएन। सुरूमा नाम चयन र नाम चयनपछि मन्त्रालयको विवादले कांग्रेस संसदीय दलमा दिनभर रस्साकस्सी चलेको थियो।
मन्त्री चयन गर्ने विषयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइराला पक्षबीचको टकरावले कांग्रेस प्रदेशको संसदीय दलमा दिनभरजसो तनाव भएको कांग्रेस सांसदहरूले बताए।
कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति देउवा पक्षले पहिलो दिन दलका उपनेता हिमाल कार्कीलाई मात्रै मन्त्री पदको सपथ गराउने तयारी गरेको थियो।
गठबन्धनका सबै दलबाट एक/एक जना मन्त्रीले सपथ लिने तयारी पनि भएको थियो। तर, कोइराला पक्षका सांसदहरूले आफ्नो पक्षबाट पनि पहिलो दिन नै मन्त्री चयन हुनुपर्ने अडान लिएपछि कांग्रेसमा विवाद चर्किएको थियो।
‘केन्द्रबाट आज पहिलो दिन एक-एक जना मन्त्रीले सपथ लिने निर्देशन थियो,’ कांग्रेसका एक सांसदले भने, ‘तर, हाम्रोमा कोइराला पक्षले अपमानित भएको महसुस गरेपछि त्यो पक्षलाई पनि समेट्न आवाज उठ्यो। त्यही छलफल लम्बिएपछि सपथमा ढिलाइ भयो।'
सत्तारूढ गठबन्धनका नेताहरूका अनुसार कांग्रेस केन्द्रले मंगलबार देउवानिकट मानिने संसदीय दलका उपनेता हिमाल कार्कीलाई मात्रै सपथ गराउन मुख्यमन्त्री राजेन्द्र राईलाई भनेको थियो। सभापति देउवा पक्षका सांसदहरूले केन्द्रको निर्देशन अनुसार चल्नुपर्ने बताएका थिए। तर, शेखर कोइराला पक्षका सांसदहरूले आफ्नो पक्षबाट पनि आजै मन्त्री हुनुपर्ने अडान राखे।
संसदीय दलका नेता राजीव कोइरालाले अन्तिममा देउवा पक्षका हिमाल र कोइराला पक्षका केदार कार्कीलाई मन्त्री बनाउने निर्णय लिएका थिए।
कोइरालाले केन्द्रमा देउवा पक्षसँग कुराकानी गरेपछि सभापति पक्षधरहरू सहमत भएका हुन्।
संसदीय दलका उपनेता र प्रमुख सचेतक कार्कीद्वयबीच मन्त्रालय छान्ने विषयमा पनि ठूलै रस्साकस्सी चलेको थियो।
दुवै जनाले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि त्यो विवादले पनि घन्टौं समय लिएको कांग्रेस नेताहरूले बताएका छन्।
अन्तिममा उदयपुरका हिमालले भौतिक पूर्वाधार र मोरङका केदारले आन्तरिक मामिला मन्त्रालय लिने कुरामा सहमति जुटेपछि चार बजेतिर बल्ल सपथ सम्भव भयो।
गठबन्धनको अर्को दल माओवादी केन्द्रका केही सांसदहरू नयाँले अवसर पाउनुपर्ने बताउँदै आएका थिए। तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता इन्द्र आङ्बोलाई नै सरकारमा जान निर्देशन दिएपछि उनले आर्थिक मामिला मन्त्रालयमा दोस्रोपटक जिम्मेवारी सम्हालेका छन्।
यसअघि शेरधन राई नेतृत्वको सरकारमा पनि उनी सोही मन्त्रालयमा थिए। पुस ५ पछि अविश्वास प्रस्ताव ल्याउने कामको नेतृत्व गरेका कारण राईले आङ्बोलाई हटाएका थिए।
जनता समाजवादी पार्टीका मोरङका सांसद जयराम यादवले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चकी विष्णु तुम्बाहाम्फे सोही मन्त्रालयको राज्यमन्त्री बनेकी छन्।