प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन्।
मंगलबार सपथ ग्रहणपछि मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गरेको घोषणा गरेका हुन्।
‘यसअघिको भीम आचार्य नेतृत्वको सरकार गठन नै असंवैधानिक रहेकोले त्यसले गरेका सबै निर्णय, नियुक्ति सरुवा पुनरावलोकन गरी खारेजीको प्रक्रियामा लैजाने निर्णय लिइएको छ,’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले भने।
राईले प्रदेशका १३७ स्थानीय तहका एक-एक जना अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ध्यन गर्न छात्रवृत्ति प्रदान गर्ने दोस्रो निर्णय लिएका छन्।
यस्तै, राईले लोपोन्मुख सन्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने पनि निर्णय लिएका छन्।
आचार्य सरकारले अल्पमतमै रहँदा प्रादेशिक सञ्चार प्रतिष्ठान, खेलकुद विकास बोर्ड, पर्यटन विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको थियो।
अखिलबाट उदाएर मुख्यमन्त्री बन्दै राजेन्द्र राई