अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले राजीनामा दिनुपर्ने १२ कारण औंल्याएका छन्।
बुधबार नेपाल बारको परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन्।
पेसीमा र इजलास गठनमा अनियमितता गरेको, मिडियामा गएर विचाराधीन मुद्दामा बोलेको र राजनीतिक नेताले झैं शक्ति आर्जन गर्न लागेको उनले आरोप लगाए।
राजनीतिज्ञका मुद्दा आफू र आफूनिकटका न्यायाधीशकहाँ राखेर बार्गेनिङ गरेको पनि उनको आरोप छ।
'नेताले निर्वाचन जितेर आएपछि 'म जितेको छु। नैतिकताको मतलब छैन' भनेर राजीनामा दिन्नँ भन्छन्। अहिले प्रधानन्यायाधीशले पनि त्यही कुरा गरिरहेका छन्,' उनले भने।
भिडिओ:
प्रधानन्यायाधीले नेता बन्नै चाहेको हो भने उनको निर्वाचन क्षेत्र नेपाल बार र अदालतका १९ न्यायाधीश भएको उनको जिकिर छ।
राजीनामा नदिने हो भने आफ्नो क्षेत्रमा जाने कि बस्नेबारे चुनाव गर्न आउन समेत उनले प्रधानन्यायाधीशलाई चेतावनी दिए।
'उहाँलाई बस्ने कानुनी र वैधानिक आधार छैन', उनले भने।
यस्ता छन् भट्टराईले औंल्याएका राणाले राजीनामा दिनुपर्ने १२ कारण:
१. न्यायमा अवरोध सिर्जना गरेको
२. मुद्दा र न्यायाधीश तोक्ने कुनै पनि पारदर्शी आधार र मापदण्ड तयार नगरी स्वेच्छाचारी ढंगले पेसी तोकिएकोले
३. न्यायिक विचलनलाई प्रोत्साहन गरेको
४.सहकर्मीको विश्वास आर्जन गर्न नसक्नु
५.न्यायप्रशासन र न्यायसम्पादन स्वेच्छिक ढंगले सम्पादन गर्न नसक्नु
६.विचौलियाको प्रभाव दबाबलाई हटाउन नसक्नु
७.राजनीतिक दलका नेताको जस्तो पावर पोलिटिक्स गर्नु
८. नियुक्ति र सरूवाको पारदर्शी आधार खडा गर्न नसक्नु
९ . आर्थिक विचलन र भ्रष्टाचार मौल्यायो
१०. अदालतमा विचाराधीन विषयमा सार्वजनिक सञ्चार माध्यममा टिप्पणी गर्नु
११. स्वार्थ बाझिएका मुद्दाको पनि आफ्नै इजलासबाट सुनुवाइ गर्ने
१२. आफन्त, नातागोता र निकटका व्यक्तिले खुलेआम चलखेल गर्दा पनि त्यस्ता व्यक्तिलाई निरूत्साहित गर्नुको सट्टा प्रोत्साहन गर्नु