नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनमा पूर्वमहासचिवसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई निम्ता नगर्ने भएको छ।
एमाले विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।
एमालेले चितवनमा महाधिवेशन गर्दैछ। उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई पनि निमन्त्रणा दिएको छ।
मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनबारे आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले बताए।
राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ। निमन्त्रणा गरिएका विदेशस्थित पार्टीबाट सकारात्मक सन्देश प्राप्त भएको जनाउँदै उनले नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई पनि निमन्त्रणा गरिएको बताए।
मङ्सिर १० गते भरतपुरस्थित नारायणी नदीको मैदानमा जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उद्घाटन स्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका काम भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको छ।
प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ। सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनु नपर्ने भट्टराईले बताए।
नेकपा (एकीकृत समाजवादी) गत भदौ ९ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। यो पार्टी केन्द्र र प्रदेशमा पनि सरकारमा छ।
(राससको सहयोगमा)