आफूलाई राष्ट्रवादी-वैकल्पिक राजनीतिक धार बोकेको शक्ति बताउने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि ‘रस्साकस्सी’ सुरू भएको छ।
राप्रपा अध्यक्ष कमल थापाविरूद्ध उनकै समूहमा रहेका नेता राजेन्द्र लिङ्देनले गठबन्धन थालेका छन्।
राप्रपाको राजनीतिभित्र थापा र लिङ्देनले शक्तिशाली समूहको नेतृत्व गरिरहेका थिए। महाधिवेशन नजिकिँदै जाँदा लिङ्देनले थापाविरूद्ध गठबन्धन कस्न थालेका हुन्।
राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। राप्रपाको इतिहासमा पहिलो पटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।
अहिले क्रियाशील सदस्यमार्फत् आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि बनाउन लिङ्देन सक्रिय भएर लागेका छन्।
लिङ्देन राप्रपाका एकमात्र निर्वाचित प्रतिनिधि सभाका सांसद हुन्। उनी अहिले राप्रपाकै तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर बनेका धवलशमशेर राणासहितका नेताहरूसँग गठबन्धनमा जुटेका छन्।
उनी अध्यक्षत्रय थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनी समूहमा रहेका नेताहरूलाई आफ्नो पक्षमा पार्ने कोसिसमा छन्।
आगामी महाधिवेशनमा थापा, राणा र लोहनी तीनै जना अध्यक्ष पदका आकांक्षी हुन्। तीनै तर्फबाट नेताहरू समेटेर लिङ्देन नयाँ गठबन्धन बनाउन लागेका छन्।
तीन जना अध्यक्षले तीन दसक पार्टी नेतृत्व चलाउँदा पार्टीको राजनीतिक-वैचारिक धारलाई जनताबीच लोकप्रिय बनाउन नसकेको, पटक-पटक पार्टी एकता गरे पनि त्यसलाई जोगाउन नसकेको र पार्टीलाई उदाउँदो शक्तिको रूपमा स्थापित गर्न नसकेको आरोप लिङ्देन पक्षको छ।
‘पार्टी बनाउने र बचाउने अवस्थामा विकल्प चाहिएको छ, त्यसको नेतृत्व अब पुराना नेताले गर्न नसक्ने स्पष्ट भइसकेको छ,’ लिङ्देननिकट एक नेताले भने।
ती नेताका अनुसार तीन जना अध्यक्षमध्ये लोहनी लिङ्देनको पक्षमा अनौपचारिक रूपमा खुलेजस्तो देखिएका छन्।
कात्तिक २८ को प्रदेश अधिवेशन र मंसिर १, २, ३ को महाधिवेशन प्रतिनिधि छनोटपछि उनीहरू को-कसको पक्षमा खुल्ने स्पष्ट हुँदै जाने ती नेताले बताए।
‘महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा कति आउँछन्, त्यसैअनुसार सकेसम्म सहमतिका साथ नेतृत्व चयनमा जोड दिने, नभए निर्वाचन नै लड्ने लिङ्देनको रणनीति छ,’ ती नेताले भने।
लिङ्देनले महाधिवेशनबाट वैकल्पिक नेतृत्व लिन आफूले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणासँग गठबन्धन गरिरहेको स्वीकार गरे।
राप्रपा बनेको ३१ वर्षमा अहिले पार्टी सबैभन्दा कमजोर देखिएको, विभाजन र असफलतामात्रै हात लागेकाले नयाँ नेतृत्व आवश्यक परेको उनले बताए।
‘राप्रपाको वैचारिक-राजनीतिक लाइन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र नै हो, अहिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विरूद्धमा देशमा जनमत सिर्जना भइरहँदा राप्रपा कमजोर देखिएको छ,’ लिङ्देनले सेतोपाटीसँग भने, ‘त्यो जनमतलाई दृष्टिगत गर्दै नयाँ नेतृत्वबाट छुट्टै सन्देश लिएर जनतामा जान जरूरी छ।’
लिङ्देन अध्यक्ष थापासँग लामो समयदेखि सँगै थिए। उनले तीन वटै अध्यक्षले नयाँ पुस्तामा नेतृत्व छोड्न कसैलाई अघि सार्नुपर्ने बताए। तीन जनाले नेतृत्व सहज रूपमै छोड्ने छैनन्।
थापा आफैं अध्यक्ष बन्न खोजिरहेका बेला लिङ्देन गठबन्धन बनाएरै वैकल्पिक नेतृत्वको खोजीमा जुटेका हुन्।
लिङ्देनले एक व्यक्तिले दुई कार्यकालसम्म पार्टी नेतृत्व लिन नपाउने ढाँचामा छलफल पनि भइरहेको बताए।
थापा समूह भने अहिलेको परिस्थितिमा नेतृत्व नयाँ पुस्तामा छोड्न नहुने पक्षमा छ। जिल्ला-जिल्लाबाट आएका सुझाव, परिस्थितिको बीचमा कांग्रेस र कम्युनिष्ट पार्टीको वैकल्पिक शक्तिको रूपमा पार्टीलाई स्थापित गराउन आफ्नो नेतृत्व कायम राख्नुपर्छ भन्ने पक्षमा छ।
‘पार्टीमा नेतृत्व विकास हुनुपर्छ भन्ने उहाँको चाहना हो, भविष्यका लागि नेतृत्व विकास गर्नुपर्छ भन्ने इच्छा छ,’ थापानिकट नेता राजाराम बर्तौला भन्छन्, ‘व्यक्तिगत भन्दा पनि सुझाव दिनेहरूले उहाँको नेतृत्व अपरिहार्य छ भनिरहेका छन्।’
राप्रपामा अध्यक्षमात्र नभएर केही पदाधिकारी पनि निर्वाचित हुने गरी विधान समितिले काम गरिरहेको छ।
राप्रपामा अहिले सवा १ लाख क्रियाशील सदस्य संख्या पुगेको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्।
त्यसबाट मंसिर १, २ र ३ गते महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन्। यसपालि चार हजार बढी महाधिवेशन प्रतिनिधि हुने अनुमान गरिएको छ।
त्यसमा गाउँपालिका अध्यक्ष, नगरपालिका अध्यक्ष, प्रदेश सभा (क) र (ख), प्रत्येक निर्वाचन क्षेत्रको अध्यक्ष र जिल्ला अध्यक्ष स्वत: प्रतिनिधि हुनेछन्।
त्यसबाहेक प्रदेश सभा (क) र (ख) ९-९ जना गरी १८ जनाका दरले सात वटै प्रदेशबाट समावेशीताका आधारमा महाधिवेशन प्रतिनिधि छानिनेछन्।
त्यस्तै, सात वटै प्रदेशमा कात्तिक २८ गते प्रदेश अधिवेशन हुँदैछ। त्यसबाट चुनिएका सात जना महाधिवेशन प्रतिनिधि हुनेछन्। ‘यसो गर्दा महाधिवेशन प्रतिनिधि चार हजार नाघ्छ,’ श्रेष्ठले भने।
राप्रपाको इतिहासमा २०७३ मंसिर ६ गतेलाई ‘टर्निङ प्वाइन्ट’को रूपमा लिइएको थियो। तीन वटै अध्यक्षबाट छुट्टाछुट्टै बनेका पार्टीलाई जोडेर २०७३ फागुन ६ गते एकता महाधिवेशन गरिएको थियो।
त्यो एकता महाधिवेशन ६ महिनाभन्दा बढी टिकेन। संविधानसभाको दोस्रो निर्वाचनपछि एकता हुँदा ३७ सिट रहेको रहेको राप्रपा २०७४ साल भदौ २२ गते फुट्यो।
त्यसपछि भएको २०७४ साल मंसिरको प्रतिनिधिसभा निर्वाचनमा थापाको राप्रपाले १ सिट मात्र ल्यायो। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको पार्टीले एक सिट पनि ल्याएन।
चुनावबाट नराम्रोसँग बढारिएपछि फेरि राप्रपा नेतृत्व गरिरहेका तीनै अध्यक्षहरूले २०७६ फागुन २८ गते पार्टी एकता गरे।
कोरोना भाइरसको महामारी, लकडाउनलगायत कारणले महाधिवेशन समयमा हुन सकेन। पछिल्लो समय २०७७ वैशाख २५-२८, जेठ २१-२४, कात्तिक पहिलो साता, कात्तिक २७-३० मा महाधिवेशनको घोषणा भयो।
तर, चार पटक महाधिवेशन सरेर अहिले बल्ल मंसिर ११-१३ मा महाधिवेशन सम्पन्न गर्ने तयारीमा राप्रपा छ।
राप्रपामा थापा समूहले लामो समयदेखि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको छ। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले गणतान्त्रिक धार समात्दासमेत थापा एक्लैले त्यो एजेन्डा बोकिरहे।
त्यही एजेन्डामार्फत् २०७० सालको चुनावमा राप्रपाले २४ सिट ल्याएको थियो भने २०७४ सालको प्रतिनिधिसभा चुनावमा राप्रपा नेपालबाट एक मात्र सिटमा लिङ्देन निर्वाचित भएका थिए। अहिले पनि थापा-लिङ्देन त्यो एजेन्डाबाट दायाँ-बायाँ भएका छैनन्।