नकुन्नी धोबी र निर्मला कुर्मी प्रकरण
बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सोमबार प्रहरीले सात जनालाई पक्राउ गरेको छ। तर उनीहरूलाई न्याय दिलाउन मोफसलबाट काठमाडौं आएर, १२ दिन अनसनसमेत बसेर देशको न्याय प्रणालीलाई दस्तक दिएकी अधिकारकर्मी रूबी खान यसबाट सन्तुष्ट छैनन्।
सरकारले अझै पनि मुख्य अभियुक्त तथा पूर्वसांसद बादशाह कुर्मीलाई पक्राउ नगरेर संरक्षण दिइराखेकाले आफूहरूको आन्दोलन जारी रहेको उनले सेतोपाटीलाई बताएकी छन्।
'यो घटनाका मुख्य अभियुक्त बादशाह कुर्मी पक्राउ नपरेसम्म नकुन्नी र निर्मलाले पूर्ण न्याय पाउँदिनन्। प्रहरीले ज-जसलाई पक्राउ गरेको छ, उनीहरू बादशाहको इसारामा चल्ने मान्छे मात्र हुन्,' रूबीले प्रहरी कारबाहीबारे प्रतिक्रिया दिँदै सेतोपाटीसँग भनिन्, 'अझै पनि बादशाहले निर्मलाको जग्गामा एकाधिकार जमाउने र भाडामा दिने गर्दै आएका छन्।'
उनले अगाडि भनिन्, ‘निर्मलाको जग्गामा पहिलेदेखि नै बादशाहले आँखा लगाएका थिए। त्यही भएर जालझेल गरेर अपहरण गरी उनलाई बन्धक बनाएका थिए। पछि उनको हत्या भएको छ।’
प्रहरीले जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा ती घटनामा मुछिएका सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए। उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ।
बाँकेमा घरेलु हिंसाबाट मारिएका नकुन्नी र निर्मलाको न्यायका लागि उनका छिमेकी तथा स्थानीयहरू रूबीकै नेतृत्वमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौंको माइतीघरमा धर्ना दिन आएका थिए। यहाँ आएर रूबी १२ दिन अनसन पनि बसिन्। यी दुवै घटनामा छानबिन हुने सरकारको प्रतिबद्धतापछि मात्र उनीहरू नेपालगन्ज फर्किएका थिए।
सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको थियो।
नकुन्नी दाइजोका नाममा घरेलु हिंसामा परेकी थिइन्। निर्मलाको घटना भने करिब १४ वर्ष पुरानो हो। उनले आफ्ना श्रीमान र दुई छोरा गुमाएकी थिइन्। त्यही बेला बादशाहको आँखा उनको सम्पत्तिमा गढेको र उनले नै निर्मलाको अपहरण गरी सम्पत्ति हडपेको रूबी बताउँछिन्। अहिले उनको हत्या भइसकेको प्रहरीले जनाएको छ।
यही घटनामा न्याय माग्दै नेपालगन्जदेखि काठमाडौं पैदल यात्रा सुरू गर्नुभन्दा अगाडि नै भदौ १० गते बादशाहलाई प्रहरीले पक्राउ गरेको भनेर किर्ते कागज बनाइएको रूबी बताउँछिन्। बादशाह २०६४ को संविधानसभामा कांग्रेसबाट सभासद थिए।
उनका अनुसार बादशाह र निर्मला बाँके, परस्पुर गाउँका बासिन्दा हुन्। यो नेपालगन्ज नगरपालिकासँग जोडिएको छ। निर्मलाका पति महालुको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि २०६६ मा उनका दुई जना छोरा दस दिनकै अन्तरमा बितेका थिए। छोराहरूको मृत्यु रहस्यमय ढंगले भएको कुर्मीका छिमेकीहरूले बताउँदै आएका छन्।
रूबीले हिंसामा परेका महिलाका पक्षमा वकालत गर्न २०६५ सालमा स्थापना गरेको महिला अधिकार मञ्चले निर्मलाको मुद्दा उठाएर विरोध प्रदर्शन गर्यो। श्रीमान र दुई छोरा गुमाएकी एकल महिलाको सम्पत्ति हडप्न उनलाई अपहरणसमेत गरिएको रूबीको भनाइ छ। अहिले उनको हत्या भइसकेको प्रहरीले जनाएको छ।
‘यहाँ महिलाको शरीर बन्धक बनाइएको छ। उसको हत्या गरिएको छ। वंशनाश गरिएको छ। तर पनि राज्यको अंग प्रहरीबाट ज्यादती भइरहेको छ। प्रहरीले नै अभियुक्तलाई संरक्षण दिएको छ। यस्तो अवस्थामा पीडा खेपिरहेका महिला न्याय माग्न कहाँ जाने? हिंसामा परेका महिलाको पीडा सुन्ने र उनीहरूलाई न्याय दिने निकाय कहाँ छ? हाम्रो समस्या सुनुवाइ गर्ने कसले हो?’ रूबीले प्रश्न गरिन्।
उनीहरू यो मुद्दा लिएर जिल्ला प्रहरी कार्यालय गएका थिए। तर त्यहाँका प्रहरी अभियुक्तको पक्षमा लागे। त्यसपछि बाध्य भएर न्याय माग्न काठमाडौं आउनुपरेको रूबी बताउँछिन्।
‘त्यति बेला बादशाहलाई १२ घन्टा प्रहरी कार्यालयमा राखिएको भन्ने झूटा कागज तयार पारेर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो। तर खासमा उनलाई समातिएकै थिएन,’ उनले भनिन्, ‘अहिलेसम्म उनी राजनीतिक पहुँचकै आधारमा खुलेआम घुमिरहेका छन्।’
रूबीका अनुसार उनीहरू काठमाडौंमा आन्दोलनरत रहँदा पनि बादशाह आफ्नो बचाउका लागि गृह मन्त्रालय धाएका धायै थिए। गृहका सहसचिव रेग्मी संयोजकत्वको समितिले यही कात्तिक १५ गते आफ्नो प्रतिवेदन बुझाउन जाँदा पनि उनी पहिले नै त्यहाँ पुगेका थिए।
'जसले कारबाही गर्नुपर्ने हो, त्यहीँ बादशाहको पहुँच छ। त्यही भएर उनी अहिलेसम्म पक्राउ पर्नबाट जोगिएका छन्,' रूबीले भनिन्, 'अहिले बाँकी अभियुक्त पक्राउ गरिँदा पनि उनी दुई-तीन दिनअघिसम्म जिल्ला प्रहरी कार्यालयमै थिए।'
‘मुख्य अभियुक्त प्रहरी कार्यालयमै हुँदा पनि किन समातिएन?' रूबीले प्रश्न गरिन्, 'यो हामी सबैको निम्ति चिन्ताको विषय हो।’
‘हाम्रोजस्तो समाज जहाँ डर र त्रासको वातावरण छ, त्यहाँ राजनीतिक शक्तिको भरमा अभियुक्तलाई सरकारले संरक्षण दिन्छ भने त्यस्ता गतिविधि झनै बढ्छन्। हामी अझै डरको वातावरणमा बस्नुपर्ने हुन्छ।’
पूर्वसांसद बादशाहलाई कारबाही नहुने हो भने राजनीतिक शक्ति भएका मान्छेलाई कसैले छुन सक्दैन भन्ने सन्देश जाने र यसले समाजमा दण्डहिनता अझ स्थापित हुने रूबी बताउँछिन्।
'हामीले यति धेरै संघर्ष गर्दा र आवाज उठाउँदा त नकुन्नी र निर्मलाले न्याय पाउँदैनन्, मुख्य अभियुक्तलाई नै सरकारले राजनीतिक संरक्षण दिएर राख्छ भने सामान्य अवस्थामा न्यायको आश कसरी गर्न सकिएला? दण्डहिनताको यो अवस्था बदल्न पनि उनलाई कारबाही हुनैपर्छ भन्ने हाम्रो माग हो,' उनले भनिन्।
उनले यो पनि भनिन्, ‘न्याय भनेको पूर्ण रूपमा हुनुपर्छ। जबसम्म मुख्य अभियुक्त पक्राउ पर्दैनन्, पीडितहरूले पूर्ण न्याय पाउन सक्दैनन्।’
यही विषयलाई लिएर मंगलबार बाँकेमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको रुबीले बताइन्। अपूर्ण कारबाही गरेर सरकारले जनताको आँखामा छारो हाल्न खोजेको भन्दै आफूहरू फेरि आन्दोलनमा जाने तयारीमा रहेको पनि उनले जानकारी दिइन्।
‘हाम्रो आन्दोलन सकिएको छैन,' उनले भनिन्, 'थप विरोध कार्यक्रम घोषणा गर्छौं। नेपालगन्जबाट हाम्रो आवाज सुनिएन भने फेरि काठमाडौं आउँछौं।'
यो पनि हेर्नुहोस्: