प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आफ्ना प्रतिस्पर्धीलाई 'स्पेस' दिँदै पार्टी एक रहेको सन्देश दिन खोजेका छन्।
मन्त्री चयन गर्दा सल्लाह नगरेको र आफ्नो पक्षलाई एकमात्र मन्त्री दिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवासँग असन्तुष्ट थिए। पौडेलले पार्टीभित्र आन्तरिक सन्तुलन कायम राख्न तीन जना मन्त्री आफ्नो पक्षले पाउनुपर्ने दाबी बालुवाटारमै पुगेर गरेका थिए। यसका बाबजुद पौडेल पक्षका एक जनालाई मात्र देउवाले मन्त्री बनाए।
सभापति देउवा गठबन्धनको सहयोगमा गत असार २९ देखि प्रधानमन्त्री छन्। सोमबार बसेको गठबन्धन बैठकले सरकारलाई सहयोग गर्न संयन्त्र बनाएको छ, जसको संयोजकमा वरिष्ठ नेता पौडेललाई र सदस्यमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई देउवाले अगाडि सारेका छन्।
यो संयन्त्रमा सभापति देउवालाई पछिल्लो समय निकट रहेर सहयोग गरिआएका महामन्त्री पूर्णबहादुर खड्का परेनन्। सभापति देउवाले महाधिवेशनका सम्भावित सभापतिका उम्मेदवारलाई नै 'स्पेस' दिएर 'चतुर्याइँ' गरेका छन्।
सभापति देउवाको कार्यशैलीप्रति निरन्तर असहमति प्रकट गर्दै आएका पौडेल र एजेन्डा हेरेर समर्थन तथा विरोध गर्ने सिटौला नै सरकारलाई सहयोग गर्ने संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा गएका छन्। सरकारलाई सल्लाह दिने भने पनि घुमिफिरि देउवालाई नै सहयोग गर्न बनेको संयन्त्रमा पौडेल र सिटौला परेपछि भविष्यको राजनीति हेरेर देउवाले चतुर्याइँ गरेको चर्चा कांग्रेसभित्र हुन थालेको छ।
सभापति देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले संयन्त्रमा वरिष्ठ नेताहरूलाई राखेर सभापतिले एकताको सन्देश दिन खोजेको बताए।
‘देउवा सभापति भएपछि उहाँले कसैलाई पनि गुटको आँखाले हेर्नुभएन, भलै उहाँमाथि गुटबन्दीको आरोप लाग्ने गर्यो,’ उनले भने, ‘यो सरकार सफल बनाउनुछ। सरकारका कामकारबाही प्रभावकारी बनाउनुछ। साथै महाधिवेशनको मुखमा पार्टीभित्र एकता कायम गर्नुपर्ने र सबैलाई समेटेर अघि बढ्नुपर्ने दायित्व पनि सभापतिमै छ।’
‘पार्टीभित्र एकताभाव हुनुपर्छ। सभापतिले वरिष्ठ नेताहरूलाई संयन्त्रमा पठाउनुमा फरक कित्तामा रहेकाहरूको पनि सल्लाह र सुझाव लिएर कार्यान्वयन गर्छु भन्नु हो,’ उनले भने।
पार्टीभित्र र बाहिरका फरक मतलाई सम्बोधन गर्ने सन्देश सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दिएको विश्वकर्मा बताउँछन्।
‘यो सभापति देउवाको चतुर्याइँ त हुने नै भयो तर उहाँ गुटबन्दीमा हुनुहुन्न। फरक मत राख्नेका कुरा पनि सुन्नुहुन्छ र सम्बोधन गर्न तत्पर हुनुहुन्छ भन्ने सन्देश दिन खोजिएको छ,’ उनले भने।
अर्का कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी संयन्त्रजस्ता पदहरू बनाएर नेताहरू बस्न नहुने धारणा राख्छन्।
‘सबै पार्टीलाई समन्वय गर्ने भनेर संयन्त्र बनाइएको छ, मलाई यस्ता कुरामा विश्वास छैन,’ उनले भने, ‘नेताहरू किन यस्ता पदमा बस्न लालायित हुन्छन् नेपालमा?’
महाधिवेशनको मुखमा वरिष्ठ नेता पौडेल संयन्त्रमा बस्न नहुने पनि उनले बताए।
‘हाम्रो महाधिवेशन हुँदैछ, पौडेललाई अहिले यी कुराको आवश्यक थिएन। तर सभापति, सबै पार्टीहरूले स्वीकार गरिसकेको कुरा हामीले मात्रै विरोध गरेर फाइदा छैन,’ उनले भने।
संयन्त्र संयोजकमा दुई महिनाका लागि वरिष्ठ नेता पौडेललाई राखेकोमा अप्ठेरोका बेला कांग्रेस चाहिन्छ भन्ने सन्देश गए पनि काम गर्न नसकेमा त्यसले नकरात्मक प्रभाव पार्ने भण्डारी बताउँछन्।
‘यस्ता पद खोज्दै नेताहरू हिँड्न हुँदैनथ्यो। काम गर्न सकिएन, परिणाम देखिएन भने त नकरात्मक सन्देश जान्छ,’ उनले भने, ‘आफ्ना विचारहरू राख्ने हो, महाधिवेशनको मुखमा नेताहरू पद खोज्दै जाने होइन।’
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल भने सरकारलाई सहयोग गर्न संयन्त्र बनेकाले त्यसले महाधिवेशनमा त्यति धेरै प्रभाव नपार्ने बताउँछन्।
‘सभापति देउवाको यो चतुर्याइँ त हो नै तर नेताहरूलाई यसैको भरमा व्यक्तिगत रूपमा विश्वासमा लिन त गाह्रो पर्छ होला,’ पौडेलले भने।
आफ्ना प्रतिस्पर्धीहरूलाई जिम्मेवारी दिँदा त्यसको लाभ देउवाले पाउँछन् कि पाउँदैनन् भन्ने महाधिवेशनसम्म हुने नेताहरूको सहकार्यले नै देखाउँछ।
प्रवक्ता विश्वप्रकाश शर्मा भने यसलाई चतुर्याइँभन्दा सबैको भावना गाँसेर अगाडि बढ्न संयन्त्र बनाएको बताउँछन्।
‘अघिल्लो सरकारको असफलताबाट पाठ सिकेर सबैको कुरा सुन्ने र साझा धारणा निर्माण गर्दै अगाडि बढ्न संयन्त्र बनाइएको हो,’ उनले भने, ‘यो संयन्त्रले सरकारलाई नियन्त्रण गर्ने होइन। साथ, सहयोग र साझा स्वामित्वको 'फिल' गराउने हो।’
कांग्रेसलाई हिजोआज महाधिवेशनको चटारो छ। महाधिवेशन तयारीबारे नै छलफल गर्न सभापति देउवाले कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।
पटकपटक सार्दै कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। यो कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदनविनै केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको थियो।