नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरिरहेको समूहमा 'खटपट' आएको छ।
पछिल्लो समय वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको सम्बन्ध चिसिएको हो।
पौडेलले काठमाडौंमा राखेको आफूपक्षिय केन्द्रीय सदस्यहरूको बैठकमा सिंहले नआउने खबर पठाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्नेहरू एकैठाउँ रहे पनि गठबन्धनले बनाएको संविधानविपरीत हुने राजनीतिक समितिमा पौडेल संयोजक बसेपछि सिंह असन्तुष्ट छन्।
यतिमात्र होइन, मन्त्री चयन गर्दा छलफल नगरेको र काठमाडौंमा पार्टी अधिवेशनमा पौडेल पक्षबाटै असहयोग भएको बुझाइ सिंहको छ।
पौडेल पक्षले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई मन्त्रीमा पठाएका थिए। त्यो बेला सामूहिक निर्णय नगरी 'खल्ती' बाट नेता छानेर मन्त्री पठाएकोमा सिंह असन्तुष्ट छन्। सिंहले राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए।
आइतबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।
सभापति देउवाले केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीति तय गर्न बिहीबार बालुवाटारमा आफूनिकट नेतासँग छलफल गरेका थिए। पौडेलले पनि आज सोही प्रयोजनका लागि केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका छन्। तर सिंह उक्त छलफलमा जाने छैनन्।उनको सचिवालयका अनुसार सिंह काठमाडौंं बाहिर छन्।
कांग्रेसको १४ औं महाधिवेशन आउन अब एक महिनामात्र छ। सभापतिको उम्मेदवार चयन गरेर निर्णय गर्नुपर्ने बेला पौडेल समूहभित्रै नेताहरूबीच खटपट देखिएको हो।
पछिल्लो समय पौडेलसहित महामन्त्री शशांक कोइरालासँग पनि सिंहको सम्बन्ध सुमधुर छैन।
उपसभापति विमलेन्द्र निधि, कोइराला र सिंहबीच आलोपालो घरघरमा 'लन्च मिटिङ' भए पनि उक्त बैठकले खासै प्रगति गर्न सकेको थिएन।
निधि, कोइराला र सिंह नै सभापति पदका आकांक्षी छन्। एकले अर्कोलाई छाड्ने अवस्था नरहेका कारण पनि उनीहरूको बैठकले खासै केही उपलब्धी निकाल्न नसकेको नेताहरू बताउँछन्।
वरिष्ठ नेता पौडेलको भूमिकालाई लिएर सिंह आक्रोशित बनेको उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।
‘सरकारभन्दा माथिजस्तो समन्वय समितिमा बस्न किन उहाँ (पौडेल) जानुभयो?, शेरबहादुर देउवाको कार्यकर्ता बन्न जाने?, देउवाको कार्यकर्तालाई समूहको नेता मान्न सकिँदैन,’ पौडेलको भूमिकामाथि प्रश्न गर्दै सिंहले आफूनिकटका नेताहरूसँग भन्ने गरेका छन्।
पौडेल वा शशांक कोइरालासँग 'डिल' गर्नुभन्दा बरू सभापतिका अर्का उम्मेदवार देउवासँगै छलफल गर्नु फाइदाजनक हुन सक्ने सिंह निकटहरू बताउने गर्छन्।
‘सधैंभरि एकै नेतालाई बोकेर हिँड्न सकिँदैन। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई साथ दिएकै हो, अब सकिन्न,’ सिंहले आफू निकटसँग प्रष्ट भनेका छन्, ‘यसपालि सभापति उठ्ने हो।’
सभापति पदमा उठ्ने र टिम बनाउने तयारीमा सिंह छन्। उनले क-कसलाई समेटेर टिम बनाउँछन् खाका प्रष्ट छैन। काठमाडौंमा भएको पार्टी अधिवेशनमा भने सिंहले यसपालि गगन थापाको साथ लिएका थिए।
सभापति देउवासँग पहिले संसदीय दलको नेताका लागि भएको चुनावमा पौडेल पक्षका सबै सांसदले सहयोग नगरेको सिंहको बुझाइ छ। त्यसबेलादेखि नै सिंह उक्त समूहका नेताहरूसँग असन्तुष्ट थिए।
‘देउवासँग चुनाव लड्न त्यसबेला महामन्त्री कोइराला तयार भएनन्। सिंहले नै हिम्मत गर्नुपर्यो। पौडेल समूहकै नेताहरूले त्यसबेला सिंहलाई भोट दिएनन् तर पार्टी एक हुन्छ भनेर सिंह चुप बस्नुभयो,’ उनीनिकटका एक नेताले भने, ‘सिटिङ महामन्त्री केन्द्रीय सदस्य मात्रै लडेर १३ औं महाधिवेशनमा शशांकलाई छाडेको हो। संसदीय दलको चुनावमा सिंहको प्रस्तावक र समर्थकमा उनै कोइराला बस्न मानेनन्।’ त्यसबेला कोषाध्यक्ष सीतादेवी यादव, सञ्जय गौतमहरूले सिंहलाई साथ दिएका थिए।
काठमाडौं कांग्रेसको संगठनमा सिंह दाबी छन्। वडादेखि पालिका तहको अधिवेशनमा पौडेल र कोइरालाहरूले नै सिंहलाई असहयोग गरेको दाबी पनि स्रोतको छ।
‘रामचन्द्र पौडेलको ठाउँ तनहुँमा पार्टी अधिवेशन भयो, सिंह हस्तक्षेप गर्न गएनन्। शशांकको ठाउँ नवलपुरमा पनि अधिवेशन भयो तर सिंहले हस्तक्षेप गरेनन्। तर प्रकाशमानको पकड रहेको काठमाडौंमा पौडेल र कोइरालाले सिंहविरूद्ध भिमसेनदास प्रधानसँग मिलेर भड्काउन खोजे,’ ती नेताले भने, ‘यसकारण पनि सिंह पौडेल र कोइरालासँग रिसाउनु भएको छ।’
पौडेल र कोइरालाले काठमाडौंका प्रत्येक ठाउँमा घेराबन्दी गरेको आरोप सिंह पक्षको छ।
यी समग्र विषयबस्तु र असन्तुष्टि महाधिवेशनको मुखैमा आएर पोखिएका छन् जसले गर्दा सिंह र पौडेलको सम्बन्ध चिसिएको छ।
सिंह पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्। ‘शेरबहादुर देउवा व्यक्तिको विरोध गरेको होइन, कार्यशैलीप्रति असन्तुष्टि हो। असहमति हो,’ सिंहलाई उद्धृत गर्दै ती नेता भन्छन्, ‘पदका लागि लोभीहरूसँग सम्झौता गर्नुभन्दा त बरू देउवासँगै सिधासिधा कुरा गर्ने भन्ने हो।’
पौडेल पक्षका एक नेता भने सिंह र पौडेलबीच देखिएको सामान्य असमझदारी संवादबाटै हल गरिने बताउँछन्। एक्लाएक्लै भन्दा पनि सामुहिक निर्णयअनुसार अगाडि बढ्नुपर्ने ती नेताले बताए।
पौडेलसहित उनी पक्षमा रहेका धेरै नेता सभापति पदका आकांक्षी छन्। महाधिवेशन नजिकिँदै जाँदा उनीहरूले आफू बलियो रहेको र सबैले समर्थन गर्नुपर्ने धारणा राखिरहेका छन्।