सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना बसेका थिए।
बिहान १० बजेअघिनै सर्वोच्च परिसर पुगेका कानुन व्यवसायीहरू प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग गर्दै गेटबाहिर धर्ना दिएर बसे।
बिहिबार शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा आफूहरूलाई प्रशासनले बल प्रयोग गरेको भन्दै त्यसैको विरोधमा शुक्रबार राणालाई अदालत प्रवेशमा रोक लगाउने व्यसायीहरूले तय गरेका थिए।
शुक्रबार बिहान १० बजेदेखि कानुन व्यवसायीले सर्वोच्चको गेटमै धर्ना दिए। प्रधानन्यायाधीश राणालाई रोक्न १ सय बढी कानुन व्यवसायी मूल गेटमा जम्मा भएका थिए।
उनीहरूले ‘प्रधानन्यायाधीश राजीनामा दे’, ‘बिचौलिया अन्त्य गर’ लगायत नारा लेखेका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका थिए।
यसैबीच प्रधानन्यायाधीश राणाको समर्थनमा वकिलहरूलेसमेत प्रदर्शन गरे। प्रहरीले दुई पक्षबीच हुनसक्ने सम्भावित झडप रोक्नका लागि उनीहरूलाई नियन्त्रणमा लियो।
यसैबीच १०: ५० बजे प्रधानन्यायधीश कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट भित्र छिरे।
धर्ना छल्दै प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यालयसँगै रहेको गेटबाट सर्वोच्च गएका थिए।
वकिलहरूले प्रधानन्यायाधीशलाई रोक्ने भएपछि सर्वोच्च आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रशासनले सशस्त्र प्रहरी पनि परिचालन गरेको थियो।
तस्बिर र भिडिओमा हेर्नुहोस् सर्वोच्चमा शुक्रबार भएका घटनाक्रम
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेले अपरान्ह १२ बजेसम्म आफूहरूको अवरोध जारी रहेन बताए।
धर्नालाई सम्बोधन गर्दै उनले आफूहरूको कार्यक्रमबारे कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि जानकारी गराएको बताए।
‘हाम्रो धर्नाबारे कानुन मन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो। प्रधानमन्त्रीले सुरक्षा निकायलाई कानुन व्यवसायीलाई धरपकड नगर्नु भन्नुभएको मैले जानकारी पाएको छु,’ पौडेलले भने।