प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आइतबार पनि सर्वोच्च अदालत छिर्न नदिन नेपाल बार एसोसिएसनले मूलगेटमा धर्ना दिने भएको छ।
शुक्रबार बिहानको धर्ना कार्यक्रमपछि बार एसोसिएसनको प्रांगणमा आयोजित सभामा बोल्दै एसोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका हुन्।
'आइतबार पनि बिहान १० बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा जहाँबाट उनी (प्रधानन्यायाधीश) पस्ने गरेका छन्, हामी त्यहाँ धर्ना दिन्छौं,' अध्यक्ष श्रेष्ठले भने।
यसनिम्ति सबै वकिलहरूलाई बिहान ९ बजे बारको प्रांगणमा भेला हुन उनले आह्वान गरेका छन्। सँगसँगै, वकिलहरूलाई बारको प्रांगणमा भेला हुन नदिन गेट बन्द गराउने कार्य सर्वोच्च अदालतको प्रशासनबाट नहोस् भन्ने चुनौती पनि उनले दिए।
'हामीले आज पनि बारकै प्रांगणमा भेला हुने भनेका थियौं। सडकमा जाने हाम्रो कुनै मनसाय थिएन। तर सर्वोच्च प्रशासनले हाम्रो गेट बन्द गरिदिएर सडकमा ओर्लिन बाध्य पार्यो,' उनले भने, 'त्यसैले आइतबार बारको गेट खुला रहोस्। हामी आफ्नै प्रांगणमा बसेर आन्दोलन गर्छौं।'
उनले अगाडि भने, 'बारको गेट बन्द गराउने अधिकार सर्वोच्च प्रशासनलाई छैन। फेरि पनि त्यसो गरियो भने बारको चुनौती सर्वोच्च प्रशासनले पनि बेहोर्नुपर्नेछ।'
शुक्रबार वकिलहरूले मूलगेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ता कार्यालयसँगै रहेको अर्को गेटबाट सर्वोच्च छिरेका थिए। सर्वोच्च आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो। सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो।
आइतबारको आन्दोलनमा सरकारले यसरी नै प्रहरी परिचालन गरेर हस्तक्षेप गर्यो भने बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध पनि उभिने उनले बताए। 'आज प्रधानन्यायाधीशकै कारण हामीले इजलास बहिष्कार गरेका छौं। यसलाई निरन्तरता दिनु नपरोस्,' अध्यक्ष श्रेष्ठले भने।
उनले यो पनि भने, 'चोलेन्द्रशमसेर राणालाई प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत छिर्न हामीले निषेध गरिसकेका छौं। हामी कानुन व्यवसायीले, बारले उनलाई प्रधानन्यायाधीशका रूपमा मानेका छैनौं। त्यसैले तपाईं प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस् र आफ्नो सन्नतिको नाम राख्नुस्।'
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई भेट्न नदिने तर बालुवाटार निवासमा बिचौलियाहरूलाई भेट्ने काम गरिरहेको उनले उल्लेख गरे। 'यसले न्यायाधीशहरू जुर्मुराइरहेका छन्। आज सर्वोच्च अदालतको गेट बन्द भएको छ। भोलि देशभरिका अदालत न्यायाधीशहरूकै आह्वानमा ठप्प हुन सक्छ, यसमा विचार गर्नुस्,' अध्यक्ष श्रेष्ठले भने।
'बालुवाटारमा पसेका बिचौलियाहरूको आडमा बार आन्दोलनलाई तपाईंले जुन किसिमबाट हेरिारख्नुभएको छ, त्यो हेराइ जारी रह्यो भने तपाईंलाई सर्वोच्चमा प्रवेश निषेध मात्र होइन, बालुवाटारमा बस्न पनि निषेध गरिनेछ,' उनले भने।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्य क्रममा सेवाग्राहीहरूलाई न्याय सेवाको शुद्धीकरण निम्ति प्रधानन्यायाधीशको बहिर्गमनका लागि जारी आन्दोलनमा साथ दिन आह्वान गरे।
यो पनि हेर्नुहोस्: