नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूलगेटमा दिएको धर्ना छल्दै सर्वोच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले शुक्रबारका लागि आठवटा इजलास तोके पनि न्यायाधीशहरूले सबै बहिष्कार गरेका छन्। वकिलहरूले पनि शुक्रबार सबै इजलास बहिष्कार गरे।
यसअघि दुई सातादेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्ने गरेका थिए। शुक्रबार भने उनीहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरेनन्।
शुक्रबार आठवटा इजलासमा १ सय ३३ मुद्दा तोकिएका थिए। तीमध्ये बन्दी प्रत्यक्षीकरणका दुईवटा मुद्दा थिए। सर्वोच्च अदालतको वेबसाइटमा शुक्रबार तोकिएका कुनै पनि इजलास नबसेको जनाउ दिइएको छ।
शुक्रबार राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका थिए। यीमध्ये सात संयुक्त र एउटा एकल इजलास थिए।
धर्नाका कारण बिहान १०:५० मा मात्रै सर्वोच्च छिरेका राणाले आफूलाई भने इजलास तोकेका थिएनन्।