नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ मा पाँचौं पटक प्रधानमन्त्री भए। देउवा प्रधानमन्त्री भएको चार महिना भयो। यो बीचमा उनी अहिलेसम्म सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छैनन्।
‘उहाँ (देउवा) प्रधानमन्त्री भएदेखि पार्टी कार्यालय आउनुभएको छैन,’ कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्री हुनुअघि पार्टीका कार्यक्रम र बैठक हुँदा नियमितजस्तो आउनुहुन्थ्यो।’
यसबीचमा बसेको केन्द्रीय समिति बैठकसमेत सभापति देउवाले आफ्नै निजी निवास बूढानिलकण्ठमा राखेका थिए।
यसपालि केन्द्रीय कार्यालय सानेपामा बैठक राख्ने सूचना निकाले पनि आज बूढानिलकण्ठमै बैठक बस्ने भएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले कात्तिक २१ मा जारी गरेको सूचनामा केन्द्रीय कार्यालय सानेपामै केन्द्रीय समितिको बैठक कात्तिक २८ गते दिउँसो १ बजे बस्ने उल्लेख गरेका थिए।
तर सभापति देउवाको निजी निवास बूढानिलकण्ठमै आज केन्द्रीय समिति बैठक बस्ने खबर केन्द्रीय सदस्यहरूलाई दिइएको छ।
‘सूचना निकाल्दा पार्टी कार्यालयमै केन्द्रीय समिति बैठक गर्ने भन्ने थियो। तर सभापति एवं प्रधानमन्त्रीज्यूको समय व्यस्तताले गर्दा बूढानिलकण्ठमै बैठक तय गरिएको हो,’ मुख्यसचिव पौडेलले सेतोपाटीसँग भने।
देउवा सानेपा नजानुका कारण छन्।
केन्द्रीय कार्यालय सानेपामा करिब ११५ दिनदेखि रौतहटका नेता तथा कार्यकर्ता धर्नामा छन्। महासमिति सदस्य देवचन्द्र मिश्र, पूर्वस्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत धर्नामा बसेका छन्।
विधानविपरीत क्रियाशील सदस्यता दिइएकोमा खारेज हुनुपर्ने माग उनीहरूको छ तर उनीहरूका माग सुनुवाइ नगरी क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकिएको छ। माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चुनौती उनीहरूले दिइरहेका छन्।
केन्द्रीय सदस्य धनराज गुरूङले बूढानिलकण्ठमै केन्द्रीय समिति बैठक बस्ने जानकारी आएको बताए।
‘पहिले एकपटक बूढानिलकण्ठमै केन्द्रीय समिति बैठक बसेको थियो,’ गुरूङले भने, ‘प्रधानमन्त्रीको व्यस्तताले निजी निवासमै बैठक गरिएको होला।’
प्रधानमन्त्री भएपछि देउवा निजी निवास बूढानिलकण्ठमा बसोबास गरेका छैनन्। उनी सरकारी निवास बालुवाटारमा बस्छन्।
‘पार्टी कार्यालयमा रौतहटको धर्ना पनि छ,’ गुरूङले भने, ‘त्यसले गर्दा पनि हो कि!, प्रधानमन्त्री बनेपछि सभापतिज्यूकै निवासमा बैठक बसेको छ, प्रधानमन्त्रीको समय व्यस्तता पनि होला।’
सभापति देउवा प्रधानमन्त्री बनेपछि बालुवाटारमा पार्टी बैठक भएको थियो।
देउवा बालुवाटार सरेकै दिन पार्टी पदाधिकारी बैठक बालुवाटारमा राखेपछि पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो। त्यसपछि कांग्रेसले पार्टीका औपचारिक कार्यक्रम सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय नै गरेको छ।
साउनको १ र २ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा बसेको थियो। त्यसबेला पार्टी महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापालगायतले बालुवाटारमा पार्टी बैठक गरेकोमा नेतृत्वको आलोचना गरेका थिए।
त्यसपछि गत साउन ८ मा देउवा निवास बूढानिलकण्ठमै पदाधिकारी बैठक बसेको थियो। त्यसबेला क्रियाशील सदस्यतालाई लिएर बारालगायत जिल्लाका नेता तथा कार्यकर्ता सानेपामा धर्ना बसेका थिए। कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको बाहनामा सभापति देउवा निवासमै पदाधिकारी र केन्द्रीय समिति बैठक बस्ने गरेको छ।
यसअघि गत साउन २८ मा बूढानिलकण्ठमै केन्द्रीय समिति बैठक बसेको थियो। निर्वाचन निर्देशिका लगायतमाथि छलफल र १४ औं महाधिवेशन कार्यतालिकाबारे त्यसबेला छलफल भएको थियो।
शनिबार पनि बूढानिलकण्ठमै कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो। उक्त बैठक आज बस्ने केन्द्रीय समितिमा पेश गर्ने प्रस्ताव तय गर्न बसेको थियो।
यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेबारे केन्द्रीय निर्वाचन समितिले बनाएको कार्यतालिका अनुमोदन र महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन गर्न आज केन्द्रीय समिति बैठक बोलाइएको छ।
कांग्रेसका नेताहरूले कोरोना महामारी कायमै रहेकोले पनि खुल्ला ठाउँमा बैठक गर्नुपरेको बताउने गरेको छ।
सानेपामा केन्द्रीय समिति बैठक गर्दा केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो भने पोजेटिभ देखिएकालाई बैठकमा सहभागी गराइएको थिएन।
बूढानिलकण्ठमा टेण्ट टागेर कांग्रेसले यसअघि केन्द्रीय समिति बैठक गरेको थियो।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालयमा केन्द्रीय निर्वाचन समितिले अधिवेशनसम्बन्धी काम अगाडि बढाइरहेको छ।
‘सानेपामा केन्द्रीय निर्वाचन समितिको कार्यालय छ। त्यहीँबाट अधिवेशनसम्बन्धी कामकाज भइरहेका छन्,’ शर्माले भने, ‘त्यहीँ केन्द्रीय समिति बैठक राख्दा 'डिस्टर्ब' हुन सक्छ भनेर बूढानिलकण्ठमा राखेका हौं। निर्वाचन समितिलाई नै सहज होस् भनेर पार्टी कार्यालयभन्दा बाहिर केन्द्रीय समिति बैठक राखिएको हो।’
धर्नाका कारणले भने यसपटक पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक गर्न नरोकिने उनको भनाइ थियो।
‘केन्द्रीय समिति बैठक सानेपामा गर्दा केन्द्रीय निर्वाचन समितिको कामकाजमा डिस्टर्ब हुन्छ। त्यहाँ बैठक गर्दा करिब दुई सय मानिस भेला हुन्छन्,’ उनले भने, ‘महाधिवेशन आउन एक महिना पनि छैन। छोटो समयमा निर्वाचन समितिले धेरै काम गर्नुपर्नेछ। सातै प्रदेशको मंसिर १६ मा हुने अधिवेशनको काम पनि निर्वाचन समितिले केन्द्रबाटै गर्नुपर्नेछ।’
कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार पार्टी कार्यालय रङरोगन गर्नेजस्ता मर्मतका काम पनि भइरहेका छन्। ‘रङ लगाउनेजस्ता काम पनि हुँदैछ। चाडवार्डले गर्दा समयमै त्यो काम गर्न सकिएन,’ उनले भने, ‘यसले गर्दा पार्टी कार्यालयका सबै कोठाहरू प्रयोगमा ल्याउन अहिले सकिएको छैन।’
कांग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक गर्न मिल्ने दुई वटा ठूला हलसमेत छन्। कांग्रेसमा १२४ जना केन्द्रीय सदस्य छन्।