नेपाली कांग्रेसले बाँकी रहेका १४ जिल्लामा वडा अधिवेशन गरेको छ।
शनिबार अधिकांश जिल्लामा वडा अधिवेशन भएको छ भने बाँकी केही वडामा कात्तिक ३० भित्रै अधिवेशन गरिसक्ने कांग्रेसको तयारी छ।
सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र रसुवामा वडा अधिवेशन हुन बाँकी थियो।
तीमध्ये पर्सा र सर्लाहीमा शनिबार वडा अधिवेशन हुन सकेन।
पर्सामा अझै क्रियाशील सदस्यता विवाद देखिएको छ भने सर्लाहीमा निर्वाचन अधिकृतले राजीनामा दिएपछि नयाँ निर्वाचन अधिकृत खटिएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सर्लाहीमा दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत बनाइएको छ। उनी जिल्ला पुगेर वडा अधिवेशनका लागि तालिका प्रकाशित गरिसकेका छन्।
कांग्रेसले पहिलो चरणमा ६३ जिल्लामा वडा अधिवेशन गरेको थियो। तीमध्ये करिब ६० जिल्लामा पालिका अधिवेशनसमेत भइसकेको छ।
१३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको कांग्रेसले जनाएको छ। ८ हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशनको काम पनि सुरू भएको निर्वाचन समितिले जनाएको छ।
‘म्याग्दीमा शनिबार नै प्रदेश सभा क्षेत्रीय अधिवेशन भइसकेको छ भने सोलुखुम्बुमा आज प्रदेश अधिवेशन भइरहेको छ,’ उनले भने, ‘वडादेखि पालिका हुँदै प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनका काम अगाडि बढेका छन्।’
सोलुखुम्बु, दार्चुला, म्याग्दी र जुम्लालगायत हिमाली जिल्लाको जिल्ला अधिवेशन मंसिर १ गतेलाई तोकिएको छ।
‘बाँकी रहेका हिमाली जिल्लामा मंसिर १ मै जिल्ला अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको छ,’ उनले भने।
केन्द्रीय निर्वाचन समितिका अनुसार ५४ जिल्लामा जिल्ला अधिवेशन भने मंसिर १० मा गर्ने कार्यक्रम छ।
कांग्रेसले गत भदौ १८ देखि वडा अधिवेशन गर्न सुरू गरेको थियो।
भदौ २३ देखि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएकोले त्यो समयभित्रै अधिवेशन सुरू गर्न कांग्रेसले थालेको थियो।
कांग्रेसले संघीय संरचनाअनुसार पहिलोपटक पार्टी अधिवेशन गरेको हो। कांग्रेसमा टोलदेखि केन्द्रीय अधिवेशनसम्म गरी ८ तहमा चुनाव हुनेछ।
कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य छन्।
यीमध्ये विभिन्न जिल्लाबाट क्रियाशील सदस्यतामा ५ हजार उजुरी परेका थिए। करिब ७ महिना काम गरेर नेताहरूले क्रियाशीलसम्बन्धी विवाद टुंग्याएका थिए।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने तयारी गरेको छ। एकैपटक अधिवेशन गर्ने भने पनि कांग्रेसले छिमलछिमलमा अधिवेशन गरिरहेको छ।