नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट प्रतिनिधि छनौट भइरहेका छन्। महाधिवेशन प्रतिनिधि बन्न चाहने आकांक्षी धेरै भए पनि सर्वसम्मत बनाउने नाममा नेताहरूले आफूनिकट प्रतिनिधि छनौट गरेको गुनासो धेरैतिर सुनिन्छ।
तनहुँ क्षेत्र नं. १ यसको उदाहरण हो।
महाधिवेशन प्रतिनिधिका लागि यहाँ एक जना महिला र खुलातर्फ चार जनाको सिट थियो। तीमध्ये दुई महिला र खुलातर्फ १५ जनाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी दिएका थिए।
सहमति हुने सम्भावना नदेखिएपछि स्थानीय उम्मेदवार र नेताहरूले कार्यदल गठन गरे। कार्यदल संयोजक थिए, एमाले तनहुँ जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य एकबहादुर राना।
कार्यदलले सहमति जुटेको भन्दै खुलातर्फ चार र एक जना महिलाको नाम निर्वाचन कमिटीलाई बुझायो। त्यही नाम कमिटीले महाधिवेशन प्रतिनिधिका रूपमा सदर गर्यो।
तनहुँ क्षेत्र नं. १ को प्रदेशसभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद रामबहादुर गुरूङ सर्वसम्मत छनौट गरिएका प्रतिनिधिमा चयन भएनन्। उक्त क्षेत्रबाट गएको चुनावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै प्रतिनिधिसभामा कृष्णकुमार श्रेष्ठ ‘किसान’, प्रदेशसभा १ मा गुरूङ र २ मा हरिबहादुर चुमान निर्वाचित भएका थिए। श्रेष्ठ अहिले एमालेबाट अलग्गिएको नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेका छन् भने चुमान माओवादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलका नेता छन्।
उक्त क्षेत्रबाट एमालेमा रहेका एक मात्र सांसद गुरूङ हुन्। उनले पार्टीको महाधिवेशनमा आफूलाई प्रतिनिधि छनौट नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेशन प्रतिनिधि बन्थेँ,’ गुरूङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान गर्यो।’
केन्द्रीय सदस्य रानाले विवेकपूर्ण निर्णय गर्लान् भनेर नै उनलाई कार्यदल संयोजक स्वीकार गरेको तर आफूखुसी निर्वाचन कमिटीलाई महाधिवेशन प्रतिनिधिको नाम बुझाएर राना सम्पर्कविहीन बसेको सांसद गुरूङको आरोप छ।
‘हाम्रा साथीहरूले धेरै सम्पर्क गर्न खोजे, उहाँको घर पनि गए,’ उनले भने, ‘उहाँ (एकबहादुर राना) सम्पर्कविहिन हुनुहुन्छ।’
यसपालि आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने गुरूङको सोच थियो। त्यहीअनुसार तयारी गरेर महाधिवेशन प्रतिनिधि बन्न चाहेका थिए।
हाल केन्द्रीय सदस्य रहेका राना पनि फेरि केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। जिल्लाबाट आफू उम्मेदवार बन्दा प्रतिस्पर्धी नहुन् भनेर नै रानाले आफूलाई प्रतिनिधि बन्न नदिएको गुरूङको दाबी छ।
‘म केन्द्रीय सदस्यको उम्मेदवार हुन पाए १५/२० जनाभित्रै पर्छुजस्तो लाग्छ,’ गुरूङले भने, ‘मलाई केन्द्रमा जान नदिन जिल्लामै रोक्न खोजियो।’
सांसद गुरूङ व्यवसायी हुन्। नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रहेका गुरूङ एमालेनिकट नेपाल व्यवसायी महासंघ गण्डकीका इन्चार्जसमेत हुन्। गुरूङ गण्डकी कार्पेट, गण्डकी बि कन्सर्न लगायत उद्योग तथा व्यवसायका सञ्चालक छन्।
व्यावसायिक पृष्ठभूमिबाटै आफूले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाउन सक्ने गुरूङको दाबी छ।
‘पार्टीनिकट व्यवसायी संस्था मात्र होइन, जनता र कार्यकर्ताले पनि मलाई रूचाएका छन्,’ उनले भने, ‘मैले सजिलै केन्द्रीय सदस्य जित्न सक्छु।’
कार्यदललाई विश्वास गर्नु नै आफ्नो गल्ती भएको भन्दै गुरूङ पछुताइरहेका छन्।
आफू २०३६ सालदेखि एमालेमा लागेको तर अहिले कार्यदलले वडाध्यक्ष पनि जित्न नसक्ने व्यक्तिलाई महाधिवेशन प्रतिनिधि छनौट गरेको उनले बताए।
तनहुँको महाधिवेशन प्रतिनिधि छनौटबारे एमाले गण्डकीका संयोजक एवं स्थायी कमिटी सदस्य किरण गुरूङ र केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरूङसँग उनले असहमति राखेका छन्।
नेताद्वयले तनहुँबाट प्रतिनिधि छनौटका विषयमा रानाले कुनै सल्लाह नगरेको र गलत निर्णय गरेको जवाफ दिएको सांसद गुरूङले बताए। अझै पनि पार्टीले केन्द्रबाट मनोनित गर्न सक्ने भन्दै नेताद्वयले अध्यक्ष केपी ओलीसम्म आफ्नो असहमति लैजानुपर्ने उनको माग छ।
महाधिवेशन प्रतिनिधि छनौटमा आफूलाई हराएका कारण कार्यकर्तामा निराशा छाएको र माधव नेपालको एकीकृत समाजवादी पार्टीतिर कार्यकर्ता लाग्न थालेको उनले बताए।
‘एमालेले कार्यकर्तालाई संरक्षण गर्न सकेन, सांसदलाई महाधिवेशन प्रतिनिधि पनि बनाएन भनेर साथीहरू माधव नेपाललाई भेट्न गएका छन्,’ उनले भने, ‘साथीहरू उता पुगिसक्यो, मैले रोक्न खोजिरा’छु, सम्झाइबुझाइ गर्नै सकेको छैन।’
पार्टीले महाधिवेशन प्रतिनिधि छनौटमा अन्याय गरेको भन्दै अब एमालेमा बस्ने कि नबस्ने सोच्ने बेला आएको गुरुङले बताए। ‘अब मैले सोच्नुपर्छ, नयाँ पार्टी खोले पनि भयो, कांग्रेसमा गए पनि भयो,’ उनले भने, ‘सबै पार्टीको लक्ष्य त पाँचवटा कुरा हो नि।’
उनका अनुसार ती पाँच कुरा सडक, बिजुली, स्वास्थ्य, प्रविधि र रोजगारी बढाउने हो। सबै पार्टीको उद्देश्य यही पाँच कुरा भएकाले जुन पार्टीमा गए पनि फरक नपर्ने उनको धारणा छ।
केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि छनौट कार्यदल संयोजक राना भने आफ्नो प्रतिस्पर्धा सांसद गुरूङसँग नभएको बताउँछन्।
आफू कार्यदलमा बस्न नचाहँदा नचाहँदै उम्मेदवारहरूले जुनसुकै निर्णय गरे पनि स्वीकार गर्ने लिखित सहमति गरेपछि मात्र कार्यदल संयोजक बसेको उनले बताए।
कार्यदलमा रहेका एमाले तनहुँ अध्यक्ष केदार सिग्देलसहित पाँच जनाले सर्वसम्मत निर्णय गरेर महाधिवेशन प्रतिनिधि छानेको रानाले बताए। भूमिगत कालदेखि पार्टीमा काम गरेका र यसअघि अवसर नपाएका व्यक्तिलाई अवसर दिएको उनको भनाइ छ।
‘मलाई संयोजक नबनाउनू, बरू चुनाव गर्नुस् भनेको थिएँ, तपाईं जिम्मेवारीबाट पन्छिन मिल्दैन भनेर कर लगाएँ,’ उनले भने, ‘मेरो मात्र निर्णय होइन, कार्यदलका पाँच जनाको सर्वसम्मत निर्णय हो, १५ जना आकांक्षीमा १० जना बाहिरिँदा सबैको चित्त बुझाउन सकिएन।’
सांसद गुरूङले केन्द्रीय सदस्यको चुनाव लड्नेबारे नबताएको भन्दै उनले पीडित कार्यकर्ताको मूल्यांकन गरेर प्रतिनिधि छानेको दाबी गरे। आफू संसदीय निर्वाचनमा तीनपटक चुनाव हारेको भन्दै अब आफू चुनाव नलड्ने पनि उनको भनाइ छ।
‘अब पनि उम्मेदवार हुने त उहाँ (रामबहादुर गुरूङ) हरू नै हो नि, एक ठाउँमा अवसर पाइएन भनेर चित्त दुखाउनु हुँदैन, अवसर आउँछ,’ उनले भने।
एमाले तनहुँका अध्यक्ष सिग्देलसँग निरन्तर सम्पर्कमा रहेको भन्दै रानाले आफू बेपत्ता भएको आरोप मिथ्या रहेको बताए।
सांसद गुरूङलाई प्रदेश कमिटीमा राख्न आफूले नै प्रस्ताव गरेको दाबी गर्दै उनले भने, ‘चुनावमा उहाँलाई मरिमेटेर सहयोग गरिन्छ, फेरि चुनाव जिताएर मन्त्री बनाउने धोको छ मेरो।’
सांसद गुरूङ र कार्यकर्तालाई पार्टीमा बस्ने वा छाड्ने विषयमा स्वतन्त्रता भएको उनले बताए। उनले भने, ‘जोकोहीले पनि पार्टीमा बस्छु वा छाड्छु भन्ने स्वतन्त्रता छ, उहाँले पार्टी नै छाड्नुहुन्छ भन्ने विश्वास छैन।’