नेपाली कांग्रेसको महाधिवेशन आउन २५ दिनमात्रै बाँकी छ।
कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय आइतबार केन्द्रीय समितिबाट गरेको छ।
छोटो समयमा महाधिवेशन गर्नुपर्ने चुनौती कांग्रेसलाई छ।
नेतृत्व र नीति महाधिवेशन अलगअलग समयमा गर्ने निर्णसमेत कांग्रेसले गरिसकेको छ।
०७६ पुसदेखि महाधिवेशन तयारी सुरू गरे पनि कांग्रेसले दुई वर्षपछि मात्र महाधिवेशन गर्ने तयारी थालेको हो।
सुरूमा ०७७ फागुनमा महाधिवेशन गर्ने भनिएको थियो।
कोरोना महामारी र क्रियाशील सदस्यता विवादले कांग्रेसले पाँचौंपटक सारेको मितिमा भने महाधिवेशन गर्ने भएको छ।
महाधिवेशनका लागि कांग्रेसले अर्थलगायत व्यवस्थापन गर्न विभिन्न उपसमिति बनाएको छ। पहिलोपटक प्रदेश कार्यसमिति बनाउन लागेको कांग्रेसले संयोजन र अध्यक्षता गर्न सात नेतालाई जिम्मेवारीसमेत दिएको छ।
महाधिवेशन नजिकिएसँगै नेताहरूले उम्मेवारी घोषणालाई पनि तीव्रता दिइरहेका छन्। यसपालि महामन्त्री पदमा धेरै उम्मेदवार हुने देखिएको छ।
कांग्रेसमा १४ पदाधिकारीमध्ये एक कोषाध्यक्ष मात्रै निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित हुन्छन् अरू निर्वाचनबाट आउनुपर्ने व्यवस्था छ। १६८ केन्द्रीय सदस्यमा पनि ३३ जना विभिन्न कलष्टरबाट मनोनित हुन्छन् अरू निर्वाचनबाटै आउनुपर्छ।
कांग्रेसले इतिहासमै पहिलोपटक नीति र नेतृत्व महाधिवेशन फरकफरक समयमा गर्न लागेको छ।
बूढानिलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिले नेतृत्व महाधिवेशन गर्ने र पछि नीति महाधिवेशन गर्ने निर्णय गरेको हो।
कांग्रेसभित्र महाधिवेशनका बेला नेतृत्वलाई केन्द्रमा राखेको र नीतिबारे भने छलफल नै नगरी ताली बजाएर प्रतिवेदनहरू पास गर्ने गरेको आरोप लाग्दै आएको थियो।
यसपालि भने महाधिवेशन उद्घाटनपछि सिधै नेतृत्वय चयनको प्रक्रियामा जाने गरी व्यवस्थापन मिलाउन लागिएको छ।
नीति महाधिवेशन भने १४ औं महाधिवेशनमा चुनिएर आएको नयाँ कार्यसमितिले केन्द्रीय समिति बैठक गरेर तय गर्नेछ।
कांग्रेसमा महाधिवेशनका बीचमा महासमिति बैठक पनि बस्ने गरेको थियो। विधानलगायत बनाउने काम महासमिति बैठकले गर्ने गर्थ्यो।
कांग्रेसका नेताहरूले नीति र नेतृत्व महाधिवेशन फरकफरक गर्न लामो समयदेखि अनौपचारिक रूपमा पार्टीभित्र छलफल गर्दै आएका थिए।
महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी र केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै यो प्रस्ताव लगेका थिए। नीति र नेतृत्व महाधिवेशन फरकफरक रूपमा गर्ने महामन्त्री खड्काको प्रस्तावलाई पदाधिकारी तथा केन्द्रीय समितिबाट पारित भएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले यसपालिदेखि नेतृत्व नीति महाधिवेशन फरक समयमा गर्न लागिएको जानकारी दिए।
‘महाधिवेशनले नेतृत्व छान्छ। महाधिवेशनबाट जाँदै गरेको समितिले नीति बनाउने र नयाँ आउने समितिले त्यो नीति बोकेर जाने गरेको थियो। पहिलेदेखि यही चलिआएको थियो,’ शर्माले भने, ‘१४ औं महाधिवेशनबाट आएको नेतृत्वले केन्द्रीय समिति बैठक गरेर नीति महाधिवेशन गर्छ।’
कांग्रेसले अब फुर्सदमा नीति बनाउन पाउने भएको छ, महाधिवेशनमा हतार गर्नु नपर्ने भएको छ।
देश, पार्टी, समाजलगायतका विषयमा नयाँ आउने कार्यसमितिलाई नै नीति बनाउन छोड्दा राम्रो होला भन्ने पनि ठानेका हौं,’ उनले भने, ‘नीति र नेतृत्व फरकफरक समयमा गर्नुपर्ने जरूरी नै थियो। केन्द्रीय समितिबाट पारित भएसँगै यसपालिदेखि लागू हुन्छ।’
कांग्रेसले नीतिलाई ध्यान नदिएर सैद्धान्तिक रूपमा चुकेको आलोचना हुने गरेको थियो। ‘कांग्रेसले एउटा चुनाव मात्रै हेरेर पुग्दैन। कम्तीमा १५ वर्षका लागि सोच्नुपर्छ, योजना बनाउनुपर्छ,’ उनले भने, ‘७० वर्षमा कुनै पनि सरकार ५ वर्ष चलेन। समय लगाएर परिपक्क ढंगले नीति बनाएर जानुपर्छ भन्ने छ।’