नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा पहिले नै उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ।
यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन गर्ने कार्यक्रम छ।
महाधिवेशन मंसिर २४ मा उद्घाटन गर्ने भए पनि त्यसको तीनदिन पहिले नै उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
मंसिर २१ गते उम्मेदवारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्ने छैन।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ।
कांग्रेसले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेर एक कोषाध्यक्ष मनोनित गर्नेछ।
१६८ केन्द्रीय सदस्यमध्ये ३३ जनाबाहेक अरू चुनावबाट नै आउने व्यवस्था छ। पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूले मंसिर २१ मै मनोनयन दर्ता गर्नुपर्छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २१ मा मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन समितिले बनाएको यो कार्यतालिका आइतबार बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको छ।
‘मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुन्छ। मंसिर २४ मा महाधिवेशन उद्घाटन गर्नुभन्दा पहिले २१ गते नै उम्मेदवारी मनोनयन दर्ता हुन्छ,’ शर्माले भने।
कांग्रेसले यसपालिदेखि नीति र नेतृत्व महाधिवेशन फरकफरक गर्ने भएको छ। मंसिरमा हुने महाधिवेशन नेतृत्वका लागि केन्द्रित रहनेछ।
केन्द्रीय सदस्य गगन थापाले पनि मंसिर २१ मा मनोनयन दर्ता र मंसिर २४ मा महाधिवेशन उद्घाटनपछि मतदानमा जाने बताए।
‘मंसिर २१ गते मनोनयन दर्ता हुन्छ। २४ गते पार्टी महाधिवशेन उद्घाटन हुन्छ र २५ गते सिधै मतदान हुन्छ,’ थापाले भने, ‘हामी नीति, कार्यक्रम केही पेश गर्दैनौं।’
महाधिवेशनमा नीति प्रधान नहुने प्रवृत्ति विगतमा देखिएकोले अहिले नेतृत्व महाधिवेशन मात्रै गर्ने र नीति महाधिवेशन पछि गर्ने निर्णय गरेको थापा बताउँछन्।
‘निर्वाचित भएर आएको सभापतिले पाँच वर्ष कांग्रेस डोहोर्याउँछु भनेर भन्न पाउने अवस्था नीति महाधिवेशनबाट हुन्छ,’ उनले भने।
कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शूल्क?
केन्द्रीय सभापति पदको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ।
उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको निर्वाचनका लागि भाग लिने हो भने १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।
प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रूपैयाँ शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।
प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।
साथै जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ।