सत्तासीन भएका बेलासमेत विभिन्न बहानामा संसद बैठक रोकेर प्रदेश १ मा अनौठो नजिर खडा गरेको नेकपा एमालेले विपक्षमा पुगेपछि पनि त्यस्तो अवरोधलाई निरन्तरता दिएको छ।
महत्वपूर्ण निर्णय लिने निर्णायक घडीमा प्रदेश सभा अवरोध गर्ने आफ्नो चलनलाई एमालेले यसपटक पनि निरन्तरता दिँदा मंगलबार नयाँ सरकारले विश्वासको मत लिने कार्यक्रम प्रभावित भएको छ।
मंगलबार मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यक्रम प्रदेश सभामा तय थियो। तर, मुख्य विपक्षी एमालेले विप्लव समूहको बन्दले आफ्ना सांसद नआएको भन्दै संसद बैठक बहिष्कार गरेपछि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अघि बढ्नै सकेन। यदि संसद बैठक सुचारू भएको भए पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्रीले सजिलै बहुमत पाउने अवस्था थियो।
नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको हो।
पाँच दलीय गठबन्धन सरकारमा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्।
प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्। मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ।
आफू प्रतिकूल गणित देखेरै एमालेले दुःख दिन खोजेको सत्ता गबठन्धनको भनाइ छ।
एमालेले निर्णायक बेलामा संसद बैठकमा अवरोध सिर्जना गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि उसले पटक-पटक संसद बैठक छल्ने, बहिष्कार गर्ने र अवरोध गर्ने गतिविधि प्रदेशमा गरिसकेको छ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईविरूद्ध तत्कालीन नेकपाको प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव ल्याउँदा पनि सत्तारूढ पक्षले संसदमा अनुपस्थित रहेर प्रक्रिया अघि बढ्न दिएको थिएन।
सभामुखले प्रक्रिया अघि बढाउन खोज्दा सत्तापक्षकै सांसदहरूले उठेर विरोध जनाउँदा पनि त्यसबेला संसद बैठक स्थगित भएको थियो।
शेरधन राईले राजीनामा दिएपछि भदौ १० मा एमालेकै नेता भीम आचार्य प्रदेशको मुख्यमन्त्री बनेका थिए।
संविधान अनुसार दल विभाजन भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो। तर, एमाले सरकारले संविधानको आफू अनुकूल व्याख्या गर्दै ६७ दिनसम्म विश्वासको मत नलिई आफूलाई टिकायो।
विश्वासको मत लिने सूचना दर्ता भएपछि पनि एमालेले पार्टीको पालिका अधिवेशनको बहानामा प्रदेश सभा स्थगनको माग अघि सारेको थियो।
सभामुखले साथ दिएपछि बैठक स्थगित भयो। सरकारले आयु लम्ब्याउने मौका पाएको थियो।
यसपटक पनि एमालेले अड्को थापेपछि मंगलबार प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यक्रम एक दिनपछि सरेको छ।
मंगलबारको संसद बैठकमा एमालेका सांसद अनुपस्थित भएपछि बैठक स्थगित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन्।
सो बैठकमा उपस्थित हुन एमाले सांसदलाई सभामुखले ‘रूलिङ’ समेत गरेका छन्।
‘विपक्षी दलको उपस्थिति नरहेका कारण आजको बैठक स्थगित गर्दै बुधबार बिहान साढे ११ बजेको बैठकमा उपस्थित हुन नेकपा एमालेका सांसदहरूलाई रूलिङ गर्दछु,’ सभामुखले बैठक स्थगन गर्दै भने।
त्यसअघि सत्ता गठबन्धनको माग अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव सदनमा टेबल गर्ने सहमति भएर बैठक सुरू भएको थियो। तर, राष्ट्रिय गान सकिनेबित्तिकै सभामुखले बैठक स्थगनको व्यहोरा वाचन गरेपछि माओवादी सांसद मोहन खड्काले नियमापत्ति जनाउन खोजेका थिए।
खड्काले नियमापत्ति जनाएको देखेको नदेख्यै गरेर सभामुखले बैठक स्थगनको घोषणा गरेका थिए।
सभामुखले बैठक स्थगनको घोषणा गरेपछि मंगलबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री र पाँच दलीय सत्ता गठबन्धनको योजना सफल भएन।
सत्ता गठबन्धनले यसलाई एमालेको दुःख दिने नियत भएको बताएको छ।
‘यो एमालेको दुःख दिने नियत मात्रै हो,’ मुख्यमन्त्री राजेन्द्र राईले भने, ‘विप्लव समूहको बन्दको प्रभाव प्रदेशमा थिएन, छैन। यदि कुनै असुरक्षा भए सरकारले सुरक्षा दिने थियो। त्यस्तो कुनै कुरा आएन। खाली बैठक रोक्ने नियतले यसो गरियो।’
मुख्यमन्त्री राईले सभामुख भण्डारी एमालेको इशारामा चलेको आरोप पनि लगाए।
‘आज बिहान पनि सभामुखजीसँग कुराकानी भएको थियो, उहाँले आजको कार्यसूचीबारे मलाई ब्रिफिङसमेत गर्नुभएको थियो,’ मुख्यमन्त्रीले भने, ‘यहाँसम्म कि विश्वासको मत लिने कुराको प्रोसिड्युरसमेत सुनाउनु भएको थियो। तर, उहाँलाई एमालेले बाटोमै अर्कै निर्देशन दिएछ। उहाँ त्यही अनुसार अघि बढ्नुभयो।’
संसद बैठक रोकेर एमालेले दुःख दिए पनि परिणाममा यसले कुनै असर नपार्ने मुख्यमन्त्रीले बताए।
एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने बन्दकै कारण मंगलबारको बैठक रोक्न अनुरोध गर्नुपरेको दाबी गरे।
‘हाम्रा साथीहरू बन्दका कारण बाटोमै रोकिनुभएको छ,’ उनले भने ‘त्यसैले आजको दिन स्थगन गरौं भन्ने हाम्रो प्रस्ताव थियो।’