प्रहरी हिरासतमा रहेका भारतीय नागरिक शिवम् भीरामुथुले आफ्नो नाम लिँदै केही जिल्लाका सिडिओलाई फोन गर्न लगाएर लाभ लिएको भन्ने आरोपको गृहसचिव टेकनारायण पाण्डेले खण्डन गरेका छन्।
वरिष्ठ नेतासहित विभिन्न भिआइपीहरूसँग सम्बन्ध बनाएर ठगी गरेको फेला परेपछि प्रहरीले भीरामुथुलाई कात्तिक २३ गते बालुवाटारबाट पक्राउ गरेको थियो।
अनुसन्धान क्रममा उनले गृहसचिव पाण्डेलाई पनि मेसेज पठाउने गरेको खुलेको हो।
गृहसचिव पाण्डेले भने भीरामुथुले आफूलाई ‘मेसेज गर्ने गरेको' अपराध महाशाखाबाटै थाहा पाएको भन्दै उनका लागि आफूले कुनै सिडिओलाई फोन नगरेको दाबी गरे।
‘मेसेज पठाउने गरेका रहेछन् भन्ने मैले अपराध महाशाखाले भनेपछि थाहा पाएको हुँ, मेरो व्यक्तिगत रूपमा उनीसँग चिनजान छैन,’ सचिव पाण्डेले मंगलबार राति सेतोपाटीसँग भने।
भीरामुथुले भिआइपीसँग सम्बन्ध बनाएर ठगी गरेको थाहा पाएपछि आफूले नै प्रहरी महानिरीक्षकलाई फोन गरेर कारबाही गर्न निर्देशन दिएको उनले बताए।
‘मलाई मेसेज गर्ने गरेका रहेछन्, त्यो मेसेजबारे मलाई थाहा छैन, मैले हेरेको पनि थिइनँ,’ पाण्डेले भने, ‘ठूला मान्छेलाई चिटिङ गरेको थाहा पाएपछि मैले नेपाल प्रहरीका आइजिपीलाई फोन गरेर कडा कारबाही गर्नू भनेर निर्देशन दिएको हुँ।’
भीरामुथुलाई महाशाखाले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको छ।
परिसरका अनुसार भीरामुथुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। ‘मणिपाल मेडिकल कलेज किन्ने सन्दर्भमा डाक्टरलाई ठगी गरेकोबारे कारबाही गर्न महाशाखाले हामीकहाँ पठाएको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘हामी ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौं।’
भीरामुथुले देखाएका करोडौं लगानीका कागजात नक्कली
भीरामुथुले देखाउने गरेको करोडौं लगानीको कागजात नक्कली रहेको भेटिएको छ। ४४ वर्षीय भीरामुथुले विभिन्न कम्पनीमा २५ करोड रूपैयाँभन्दा बढी लगानी रहेको कागजात देखाएर पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेचको ‘डिल’ गरेका थिए।
महानगरीय अपराध महाशाखाले आफ्नो अनुसन्धान क्रममा ती कम्पनीमा भीरामुथुको लगानी छ कि छैन भनी पत्राचार गरेको थियो। त्यसैमध्ये एउटा कम्पनीले मंगलबार महाशाखालाई जवाफ पठाएको छ।
उक्त कम्पनीले भीरामुथुको कुनै लगानी नरहेको भनी जवाफ पठाएको महाशाखा स्रोतले जानकारी दियो।
‘जुन कम्पनीमा आफ्नो लगानी छ भन्ने कागजात देखाएर भीरामुथुले मणिपाल मेडिकल कलेज किन्न डिल गरेका थिए, त्यसैमध्ये एउटा कम्पनीले लगानी छैन भनेर हामीलाई जवाफ लेखेको छ,’ महाशाखा स्रोतले भन्यो।
त्यस्तै, भीरामुथुले एउटा सहकारीमा आफ्नो लगानी रहेको भन्दै पाँच करोडको कागजात बनाएका थिए। उक्त सहकारीमा बुझ्दा त्यो कागजात पनि झूटो पाइएको महाशाखाका एक अधिकृतले बताए।
‘उनले ठाउँ-ठाउँमा नक्कली कागजात बनाएर आफूसँग सम्पत्ति रहेको देखाएका छन्,’ ती अधिकृतले भने।
महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने अनुसन्धान क्रममा रहेकाले सबै विवरण विस्तारै प्राप्त हुने बताए।
महाशाखा स्रोतका अनुसार सिंगापुरको मिलेनियम ग्रुपको सिइओ भन्दै भीरामुथुले मणिपाल मेडिकल कलेज किन्न ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका एक डाक्टरसँग ‘डिल’ गरेका थिए।
पशुपतिनाथका भट्टसँगको चिनजानका आधारमा उनले मणिपाल कलेज किन्ने सर्तमा ती डाक्टरसँग ५० लाख रूपैयाँ ठगी गरेको अनुसन्धानमा फेला परेको छ।
भीरामुथुले आफूलाई योङ लियान ग्रुप रियालिटी मलेसियाको सिइओ बताएर एनएमबी बैंकलाई पनि छलेका थिए।
योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। नेपालको एनएमबी बैंकमा यसको सेयर छ। ४२ वर्षअघि मलेसियामा स्थापना भएको यो कम्पनीले होल्डिङ्स, रियलस्टेट, सेयरमा लगानी गरिरहेको छ।
भीरामुथुले आफूलाई त्यो ग्रुपको सिइओ भनेर परिचय दिइरहेका थिए। उनले त्यो कम्पनीको आधिकारिक व्यक्तिको रूपमा एनएमबी बैंकबाट कागजात पनि लिएका थिए।
लिआन ग्रुपको अहिले एनएमबी बैंकमा पचास लाख कित्ता सेयर छ। यो सेयरबापत उसले बर्सेनि करोडौं बोनस लगिरहेको छ। ‘बैंकसँग हामीले कागजात मगाइरहेका छौं, बैंकले पठाइसकेको छैन,’ ती अधिकृतले भने, ‘ताकेता गरिरहेका छौं, आइरहेको छैन।’
आफ्नो व्यक्तिगत बैंक खातामा ८ करोड, लोटस इन्भेष्टमेन्ट कम्पनीमा २७ करोड लगानी, स्टेट बैंक अफ इन्डियामा पनि मौज्दात रहेको भीरामुथुले देखाएका थिए। आफ्ना अन्य पाँचवटा कम्पनी पनि भीरामुथुले देखाउने गरेका थिए।
यो पनि हेर्नुहोस्: