नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई हिजोआज भ्याइनभ्याइ छ।
जिल्लाहरू चाहारेर त्यहाँका नेता/कार्यकर्ता भेटेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको समूह बैठकमा सिंह जान छाडे। आफैँ सभापति उठ्ने निचोडमा पुगेका सिंह कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्।
यो पनि: पौडेल समूहमा खटपट, यसकारण रिसाए प्रकाशमान
महाधिवेशन आउन तीन सातामात्रै बाँकी छ। सिंह विराटनगरमा हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ गएका छन्।
उनी मंगलबार पोखरामा थिए। कांग्रेसका शीर्ष नेता जिल्ला जाँदा गुट मिल्ने नेता भेट्न आउँछन्, नमिल्ने आउँदैनन्। यसकाले प्रवृत्ति लामो समयदेखि नै देखिएको छ।
तर मंगलबार पोखरामा सिंहले सबै गुटउपगुटका नेता/कार्यकर्ता आफ्नो कार्यक्रममा आएको देखे।
उनले भाषणमै भने, ‘म तपाईंहरूलाई धन्यबाद दिन्छु म आएको कार्यक्रममा आउनुभयो। प्रकाशमान गएको कार्यक्रममा केही जिल्लामा केही नेता/कार्यकर्ता आएनन्। उनीहरूले पनि पोखराबाट सिकून! शीर्ष नेता जिल्ला पुग्दा भ्याएसम्म सबैले स्वागत गर्दा राम्रो हुन्छ भन्ने मान्यता छ।’
सिंह कांग्रेसका संस्थापकमध्ये एक गणेशमान सिंह-मंगलादेवीका छोरा हुन्। तर उनले आफूले विरासतको राजनीति नगर्ने बताउँछन्। सिंह लामो समय कांग्रेस काठमाडौंको सभापति भएर पनि काम गरे। उनले आफूलाई भुइँबाट संघर्ष गर्दै आएको नेताका रूपमा चिनाउँछन्।
यो पनि: म ‘राजकुमार’ होइन, सभापतिको स्वभाविक दाबेदार हुँ: प्रकाशमान सिंह
सिंह पछिल्लोपटक रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग असन्तुष्ट छन्। संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग सिंहले नै प्रतिस्पर्धा गरेका थिए। त्यसबेला कोइरालाले असहयोग गरेपछि भने उनको मन कुँडिएको थियो।
पौडेलसँग भने मन्त्री छनौटदेखि सभापति देउवाले पठाएको राजनीतिक समन्वय समितिमा बस्न गएकोलगायत विषयमा सिंह असन्तुष्ट छन्।
सिंहले यसपालि राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए। तर पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने निर्णय गरे। त्यसपछि भने पौडेल-सिंह सम्बन्ध चिसिएको छ।
सिंहले आफूनिकटहरूसँग अब पौडेलले बोलाएको गुट बैठकमा नजाने भनेका छन्। बरू आफ्नै बलबुताले सभापति लड्ने तयारीमा सिंह छन्।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा सभापतिमा पौडेललाई र महामन्त्रीमा कोइरालालाई सहयोग गरेकोले सधैं सहयोग गरिरहन नसक्ने सिंहको भनाइ छ।
सिंहको विशेषगरी काठमाडौं कांग्रेस संगठनमा प्रभाव छ। यहाँ भएका पार्टीका वडादेखि महानगर समितिसम्म पौडेल र कोइरालाले आफूलाई असहयोग गर्दै प्रभाव भत्काउन भीमसेनदास प्रधानसँग मिलेको आरोप सिंहको छ।
काठमाडौंमा भएका अधिवेशनमा यसपालि सिंह र गगन थापा सँगसँगै थिए। उनीहरूकै टिमका अधिकांश नेता पार्टी नेतृत्वमा पुगेका छन्।
यो पनि: काठमाडौंमा सफल भयो प्रकाशमान-गगनको जोडी
सिंहले आफूमा पार्टी हाँक्न सक्ने अनुभव भएको बताउने गरेका छन्।
‘पदमा बस्ने तर काम नगर्ने? अनि पद मात्रै चाहियो भनेर हुन्छ,’ सिंह भन्छन्, ‘पार्टी चलाउन क्षमता र अनुभव चाहिन्छ। म पार्टीमा साधारण कार्यकर्ताबाट दु:ख गर्दै आएको हुँ। मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता छ। मसँग पार्टी चलाउन प्रशस्त अनुभव छन्।’
आफू सभापति हुँदा काठमाडौंलाई देशभरकै संगठनमा उत्कृष्ट बनाएको दाबी सिंह गर्छन्।
सिंहले जिल्ला-जिल्ला पुगेर एउटै रटान लगाइरहेका छन्- पार्टीमा नेतृत्व परिवर्तन। १३ औं महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको र त्यसबेलादेखि नै कांग्रेस कमजोर भएको र यहीबेला कम्युनिष्टले प्रजातन्त्रमाथि प्रहार गर्दै दुईपटकसम्म संसद भंग गरेको सिंहको तर्क छ।
सिंह केन्द्रीय नेतृत्वमात्र होइन, पार्टीका वडादेखि केन्द्रसम्म सातै तहको पार्टी संरचनामा सक्षम नेतृत्व आउनुपर्छ भन्छन्। कांग्रेस अहिलेभन्दा थप बलियो बनाउने काम नयाँ नेतृत्वले गर्न सक्ने दाबी उनको छ।
बहुदल आएपछि देउवा र पौडेललाई नै नेतृत्वमा देखेका जनताले अब नयाँ नेतृत्व खोजिरहेको पनि सिंहको भनाइ छ।
‘कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो तर त्यसबेला त जनताले हामीलाई भोट दिएनन्,’ उनले भने, ‘जनताले कांग्रेसमा नेतृत्व परिवर्तन खोजेका छन्। कांग्रेसको नेतृत्व त प्रधानमन्त्री हुने हो। पुरानै नेतृत्व फेरि प्रधानमन्त्रीमा पुग्छ भन्ने ठानेर पनि जनताले भोट दिइरहेका छैनन्।’
उनले व्यक्तिगत रूपमा देउवा-पौडेलसँग आफ्नो सम्बन्ध राम्रै रहे पनि राजनीतिक रूपमा मत फरक हुन थालेको बताउँछन्। सिंहले कार्यकर्तासँग पनि गुनासो राखे गरेका छन्- पार्टी हाँक्न सक्षम नेतृत्व चयन गर्न नसकेकोमा।
कांग्रेस विधानअनुसार नचलेको उनको भनाइ छ। सभापति देउवाले विधान मिच्ने काम गर्दा दह्रोसँग आफूले नै केन्द्रीय समितिमा कुरा राख्ने गरेको उनी सुनाउँछन्।
‘जनताका मुद्दा समाधान गरेर लोकतन्त्र जोगाउनकै लागि प्रभावकारी पार्टी बनाउन सभापतिमा मेरो उम्मेदवारी हो,’ सिंह भन्छन्, ‘ए कांग्रेस, बी कांग्रेस, सी कांग्रेस नभई नेपाली कांग्रेस बनाउने हो। गुटले भिन्नभिन्न जस्तो देखिएको कांग्रेसलाई एकढिक्का बनाउन इमान्दार र स्वच्छ छबि भएको नेता चाहिन्छ।’
सिंहले मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनमा आफूलाई 'नेचुरल' उम्मेदवारका रूपमा अगाडि सारेका छन्। निर्वाचित महामन्त्रीले १३ औं महाधिवेशनमा अरूलाई पद छाडेकोले यसपालि अरूले पनि साथ र सहयोग दिनुपर्ने सिंहको भनाइ छ।
सिंहले दुई दिनअघि काठमाडौं महानगरका नवनिर्वाचितलाई बधाई दिने कार्यक्रममा आफू केन्द्रीय सभापतिको तयारी गरिरहेकोले काठमाडौं जिल्ला सभापतिजस्तो गरेर व्यवहार नगर्न भनेका थिए।
कात्तिक २६ मा पौडेलले बोलाएको गुट बैठकमा सिंह गएका थिएनन्। उनी यसबीचमा भारत पनि गएर फर्किए। उनले भारतीय नेताहरू भेटे पनि यसबारे खुलेर बताउन चाहेका छैनन् बरू भ्रमणलाई पारिवारिक भनेर टार्न खोजेका छन्।
उनी भारतबाट शनिबार फर्केका थिए। आइतबार केन्द्रीय समिति बैठकमै सहभागी भए। सिंह चुनावी तालमेलको पक्षमा पनि छैनन्। सभापति देउवालाई उनले केन्द्रीय समिति बैठकमै चुनावी तालमेल नगर्न चेतावनी दिएका थिए।
सिंहले महाधिवेशनका लागि टिम बनाउने कोशिस पनि गरेका छन्। क-कसलाई लिएर उनले टिम बनाउँछन् भन्ने खुलिसकेको छैन।
यो पनि: २१ किलो तौल घटाएका कांग्रेस नेता प्रकाशमान