प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।
बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो। प्रदेशसभाको बैठकमा ७९ जना सदस्य उपथित थिए। मत दिन्नँ भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन।
‘प्रदेश सभामा तत्काल कायम रहनुभएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यमध्ये आजको मतदानमा उपस्थित माननीय सदस्यको संख्या सभामुखबाहेक ७९ रहेको छ। माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ। त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ’, सभामुख भण्डारीले भने।
‘माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ५० मत परेकाले उक्त मत प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको ९२ जना सदस्य संख्याको बहुमत भएको हुँदा माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख भण्डारीले अगाडि भने।
नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन्। ४१ जना सांसद रहेको नेकपा एकालेका एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए। त्यसैले मन्त्रालय फुटाउने तयारी छ।’
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।