पछिल्लो संसदीय निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दल बनेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसिर दोस्रो साता चितवनमा हुँदैछ। महाधिवेशन तयारीका लागि उक्त पार्टीका नेताहरू चितवन आइरहेका छन्।
अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, पार्टीका शीर्ष नेता रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे लगायत नेता चितवन आउने-जाने क्रम केही दिनयता बाक्लिएको छ।
नेकपा एमाले विभाजन भएर बनेको नेकपा मालेले पनि केन्द्रीय महाधिवेशन चितवनमै गरेको छ। सिपी मैनाली अध्यक्ष रहेको मालेले कात्तिक २७ देखि २९ गतेसम्म नारायणगढमा महाधिवेशन गरेको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला भएकाले उक्त पार्टीको ध्यान त यहाँ छँदैछ। नेकपा एमालेको महाधिवेशन चितवनमा हुने घोषणा भएपछि प्रचण्ड तारन्तार चितवन आएका छन्। उनले भाषणको अधिकांश समय एमाले अध्यक्ष ओलीलाई गाली गर्नमा खर्चिने गरेका छन्।
भाषण क्रममा एमालेले चितवनमा महाधिवेशन गर्दा आफूलाई फाइदा हुने बताउने गरे पनि प्रचण्डलाई चितवनमा महाधिवेशन गर्दा एमालेले आफ्ना कार्यकर्ता तान्ने डर छ।
चितवनमा महाधिवेशनको तयारी सुरू भएको जानकारी दिन एमाले चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष पार्वती रावलले भनेकी थिइन्, ‘चितवनमा हुने महाधिवेशनले नेकपा एमालेलाई थप बलियो बनाउनेछ, हामी एकताबद्ध भएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दिशामा अघि बढ्नेछौं, नेकपा एमाले चितवन थप बलियो बन्छ।’
केही दिनअघि भरतपुर महानगर कमिटीको महाधिवेशनमा सम्बोधन गरेका ओलीले अबको निर्वाचनमा अन्य पार्टीलाई 'धोबीले लुगा पछारेझैं पछार्ने' बताएका थिए।
त्यसो त नेकपा एमालेले प्रचण्डलाई देखाउनकै लागि चितवनमा महाधिवेशन गर्न लागेको विषय लुकेको छैन। पार्टीले सिधै त्यसो नभने पनि चितवनका कार्यक्रममा ओली र प्रचण्डबीच चल्दै आएको जुहारीले त्यसलाई छर्लंग बनाउँदै आएको छ।
चितवनमा मुस्किलले एक रात बिताउने ओली महाधिवेशन तयारीका लागि तीन दिन यतै भुले। प्रचण्डको राम्रो मत रहेको मानिने माडी पुगेर उनले भनेका थिए, ‘माडीलाई मणि बनाउने भनेर तपाईंहरूले जिताएकाले धोका दिए, अब भगवान रामले माडीलाई मणि बनाउनेछन्।’
उनले माडी क्षेत्र विकासको जिम्मा अब आफूले लिने भन्दै त्यस क्षेत्रका मतदाताको ध्यान तान्ने प्रयास गरेका थिए।
प्रचण्डलाई भने एमालेले मात्र नभई नेपाली कांग्रेसका जिल्लास्तरका नेताहरूको पनि चुनौती छ।
गएको संसदीय निर्वाचनमा प्रचण्डलाई र भरतपुर महानगरको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई भोट हालेका नेपाली कांग्रेसका कार्यकर्ता अब फेरि अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्ने मनस्थितिमा छैनन्।
कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले सार्वजनिक कार्यक्रममै प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका छन्।
‘अब नेपाली कांग्रेसका कार्यकर्ताले रूख चिह्नमा मात्रै भोट हाल्नेछन्, अरू पार्टीलाई भोट हाल्न केन्द्रले निर्देशन दियो भने पनि चितवनका कार्यकर्ताले विद्रोह गर्नेछन्,’ उनले एक कार्यक्रममा केही समयअघि भनेका थिए।
केन्द्रमा शेरबहादुर देउवासँग गठबन्धन गरेका प्रचण्डलाई निर्वाचन क्रममा चितवनमा देउवाकै कार्यकर्ताले आत्थु-आत्थु पार्ने देखिन्छ। कार्यकर्ताको दबाब थेग्न नसकेका देउवाले केही दिनअघि शीर्षनेताको बैठकमा चितवनमा अन्य दलसँग गठबन्धन गर्ने कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए।
आगामी निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने उद्घोष गरिसकेका प्रचण्डलाई पार्टी जोगाउन आफूले जित्नैपर्ने दबाब छ। त्यसअघि गृहजिल्लामा हुँदै गरेको एमाले महाधिवेशन र तालमेलको आस राखेको पार्टीकै कार्यकर्ताका अभिव्यक्तिले ठूलो चुनौती दिएको छ। त्यसमाथि आफ्नै पार्टीबाट छुट्टिएर एमालेमा गएका रामबहादुर थापा 'बादल' ले पनि प्रचण्डलाई चुनौती दिँदै आएका छन्।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले चितवनको आगामी निर्वाचन 'प्रचण्ड भर्सेस बादल' हुने सम्भावना रहेको बताएका थिए। त्यसो हुँदा माओवादीको भोट बाँडिनसक्छ। बादल त प्रचण्डप्रति यति आक्रामक छन्, चितवनमा एक कार्यक्रमलाई सम्बोधन गर्दा उनले केही वर्षअघि आफू पनि माओवादी पार्टीमा थिएँ भन्ने पनि सम्झिएनन्।
‘भरतपुर महानगरको निर्वाचनमा मतपत्र च्यातेर हाम्रो पार्टीका नेतालाई हराइयो,’ उनले भनेका थिए। जबकि, उक्त निर्वाचन हुँदा बादल माओवादी पार्टीकै नेता थिए।
प्रचण्ड कम्तिमा एमालेको महाधिवेशन क्रममा आफ्ना नेता-कार्यकर्ता उक्त पार्टीमा प्रवेश नगरून् भन्ने चाहन्छन्।
एमालेको मूख्य ध्यान भने माओवादी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता-कार्यकर्ता तान्नेमा छ।
चितवनको कम्युनिस्ट इतिहास
चितवन कम्युनिस्ट इतिहास बोकेको जिल्ला पनि हो। २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै चितवनमा कम्युनिस्टको गतिविधि सुरू भएको हो।
वीरेन्द्र बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक डा. राजेन्द्रप्रसाद रेग्मीले लेखेको पुस्तक ‘नेपालको कम्युनिस्ट आन्दोलन र चितवन’ मा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य गौरीभक्त प्रधान २००८ सालमा चितवनको चनौलीमा बसोबास गर्न थालेको उल्लेख छ।
उक्त समयमा कम्युनिस्ट पार्टीका केन्द्रीय नेताको बसोबास चितवनमा हुनुले यहाँ त्यो समयबाटै कम्युनिस्टको उपस्थिति देखिन थालेको रेग्मीले उल्लेख गरेका छन्।
चितवनमा कम्युनिस्टको आधिकारिक समिति भने २०१६ सालमा मात्रै बनेको थियो। तनहुँको बन्दिपुरबाट व्यापारका लागि नारायणगढ आएका कदमकुमार पिया, मदनमोहन जोशी, बटुकलाल प्रधान लगायतले त्यसअघिबाटै चितवनमा कम्युनिस्ट गतिविधि गर्दै आएका थिए।
पूर्वी चितवनमा वन प्रशासनको अवरोधबीच जंगल फडानी गरेर बस्ती बसाउँदै किशोरचन्द्र ढुंगानाले क्रान्तिकारी गतिविधि गरिरहेका थिए।
२०१५ सालको निर्वाचनमा चितवनबाट कम्युनिस्ट उम्मेदवार संघरत्न तुलाधर पनि मैदानमा ओर्लिए। ६ वटा पार्टीले भाग लिएको निर्वाचनमा उनी चौथो भए। कम्युनिस्ट पार्टीले ९६७ मत प्राप्त गरेको थियो।
नारायणगढमा २०१३ सालमा नेपाल युवक संगठन निर्माण गरेर चितवनमा कम्युनिस्ट गतिविधि सुरू गरेको चर्चा हुने गरे पनि तथ्यले मदनमोहन जोशीको निवासमा २०१६ सालमा नेपाल कम्युनिस्ट पार्टीको समिति गठन भएको देखाउँछ।
समितिमा जोशीसँगै काठामाडौं जिल्ला संगठनको कार्यालय सचिवको जिम्मेवारी सम्हालिसकेका पुण्यप्रताप राणा, चीनमा गुरिल्ला तालिम लिएर फर्किएका गौरीभक्त प्रधान, पुष्पलाल श्रेष्ठका निकट मानिने तनहुँका गुणबहादुर घले थिए।
२०१७ सालमा उक्त समितिमा छविलाल आचार्य, जगतबहादुर श्रेष्ठ र टेकनाथ बराल पनि थपिए। उक्त समितिले विभिन्न इलाका समितिहरू गठन गर्नुका साथै नेपाल र भारतबीच सम्पन्न गण्डक सम्झौताको विरोधमा नारायणगढ बजारमा जुलुस निकाल्यो। छोडपत्रका आधारमा जग्गा खरिद-बिक्री भइरहेको कार्यलाई सरकारी मान्यता दिलाउन जोड दियो। राप्ती उपत्यका विकास योजनाअन्तर्गत भूमि वितरण गर्दा छुट्टाइएका गौचरनमा जथाभाबी बसोबास गराउने कार्यको विरोधमा गौचरन बचाउ अभियान सञ्चालन गर्यो।
२०१७ सालमा भएको नेकपाको दरभंगा प्लेनममा चितवनबाट गौरीभक्त, पुण्यप्रताप र छविलालले पनि भाग लिएका थिए। उक्त प्लेनमले पार्टीको तेस्रो महाधिवेशन त्यसै वर्ष फागुनमा चितवनमा गर्ने निर्णय गर्यो।
तर २०१७ पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार र सदन विघटन गरेर सत्ता हातमा लिए। दलमाथि प्रतिबन्ध लगाए। कांग्रेसका नेता-कार्यकर्ता कोही निर्वासित भए, कोही आन्दोलनमा लागे। कम्युनिस्ट भने अलमलमा परे। चितवनका कम्युनिस्ट नेता पनि राजाको कदमको स्वागत गर्ने र विरोध गर्ने दुई ध्रुवमा बाँडिए। यसले बन्दै गरेको संगठनलाई कमजोर बनायो।
२०१९ सालमा बनारसमा भएको नेकपाको तेस्रो महाधिवेशनपछि यहाँको कम्युनिस्ट पार्टी पनि पुष्पलाल र तुलसीलाल समूहमा बाँडियो। कार्यकर्ताहरू आरोप–प्रत्यारोपमा उत्रन थाले। केही कम्युनिस्ट नेताले कुनै समूहमा पनि नलाग्ने गरी ‘केन्द्रविहीन समूह’ निर्माण गरे।
तत्कालीन वीरेन्द्र कलेजका प्राचार्य आनन्ददेव भट्टले यो समूह बनाउन भूमिका खेलेका थिए। पछि यो समूह केन्द्रीय न्यूक्लसमा सामेल भयो। पछि त्यो पनि चौथो महाधिवेशन (चौम) समूहमा संगठित भयो। चौथो महाधिवेशन समूहको देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकार भन्ने कार्यक्रमप्रति सहमति हुन नसकेर विष्णु घिमिरे को–अर्डिनेसन केन्द्रतिर लागे। उनले पछि चितवनमा नेकपा मालेको संगठन विस्तार गर्न थाले।
अमिक शेरचन नेतृत्वमा फणिन्द्र न्यौपाने, टेकबहादुर थापा, इन्द्रविलास पौडेल, दण्डपाणि न्यौपाने, डिआर पोखरेल, ओमबहादुर गुरूङ, चुमानसिंह गुरूङ, शालिकराम तिमिल्सिना, पुष्पकमल दाहाल र गेहेन्द्रबहादुर थापा सदस्य रहेको चौम समूहको चितवन जिल्ला समिति पनि आफ्नो तवरबाट संगठन विस्तारमा लाग्यो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०३५ सालमा पहिलोपटक जिल्ला समिति सदस्य बनेका थिए।
चौम समूहभित्र गुटबन्दी बढ्दै गयो, मालेले भने भित्रभित्रै संगठन बढाउँदै लग्यो। २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा आइपुग्दा चितवनमा कम्युनिस्टहरू नेपाली कांग्रेसलाई टक्कर दिनसक्ने अवस्थामा पुगे।
राजनीतिक दलमाथिको प्रतिबन्ध कायमै रहेकाले ‘जनपक्षीय उम्मेदवार’ को नामबाट चितवनका दुई निर्वाचन क्षेत्रमा नेकपा माले र विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा मानन्धर समूहले एक-एक उम्मेदवार उठाए। मालेका जागृतप्रसाद भेटुवाल र मानन्धर समूहका भीमबहादुर श्रेष्ठले चुनाव जिते।
कम्युनिस्टबीचको एकताले २०१३ सालमा चितवनमा बस्ती बस्नुअघिदेखि नै संगठित भइसकेको नेपाली कांग्रेसलाई पराजित गर्यो। बाहिर देखाउन नमिले पनि भित्रभित्रै चितवन कम्युनिस्टको किल्ला बनेको झल्को चुनावले दियो।
वाम तालमेल गर्नसके कांग्रेसलाई हराउन सक्ने निष्कर्षका साथ उनीहरूले त्यसपछिको स्थानीय चुनावमा नेकपा माले, नेकपा चौम र नेकपा मानन्धर समूहबीच तालमेल गर्ने सहमति गरे। तालमेलले कम्युनिस्टहरुको पक्षमा नतिजा ल्यायो।
हाल राजनीतिमा संलग्न नरहेका पुराना कम्युनिस्ट नेता डिआर पोखरेल २०४६ को आन्दोलनमा चितवनमा कम्युनिस्टहरूको भूमिका महत्वपूर्ण देखिएको बताउँछन्। बहुदल प्राप्तिपछि २०४८ सालमा भएको निर्वाचनमा पनि चितवनका कम्युनिस्टले तालमेल गरेको उनले बताए।
तीन निर्वाचन क्षेत्र रहेको चितवनमा तीनै क्षेत्र कम्युनिस्ट उम्मेदवारले जीत हात पारे। क्षेत्र नम्बर १ बाट मालेका जागृतप्रसाद भेटवाल, २ बाट मानन्धर समूहका भीमबहादुर श्रेष्ठ र ३ बाट संयुक्त जनमोर्चाका अमिक शेरचनले चुनाव जिते।
२०५१ सालमा नेकपा एमालेले २ र कांग्रेसले १ क्षेत्रमा चुनाव जिते। एमालेबाट भेटुवाल र काशिनाथ अधिकारी विजयी भए भने कांग्रेसबाट तीर्थ भुषालले चुनाव जिते। चितवन क्षेत्र नम्बर ३ मा तीर्थ भुषालले जनमोर्चाका लोकप्रिय उम्मेदवार दिवाकर भुषाललाई पराजित गरेका थिए।
२०५४ को स्थानीय चुनावमा नेकपा एमालेले राम्रो नतिजा ल्यायो। पार्टीका जिल्ला सचिव रहेका विष्णु घिमिरे जिल्ला विकास समितिका सभापति बने।
त्यसपछिका केही वर्ष कम्युनिस्ट पार्टीका लागि त्यति सुखद रहेन। नेकपा एमाले दुई टुक्रा भयो। वामदेव गौतम, सिपी मैनालीले फेरि नेकपा माले पार्टी बनाए।
जनतामाझ लोकप्रिय बन्दै गएको एमाले केन्द्रमा भएको विभाजनले जिल्लामा कमजोर बन्न पुग्यो।
चौममा पनि विभाजन बढ्दै गयो। २०५४ को स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याएको नेकपा एमालेले २०५६ को आमनिर्वाचनमा सबै निर्वाचन क्षेत्रमा हार बेहोर्यो। त्यतिखेर नेकपा माओवादी सशस्त्र द्वन्द्वमा थियो।
शान्ति सम्झौतापछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले चितवनका पाँचमध्ये चारवटा क्षेत्रमा झन्डा गाड्यो। क्षेत्र नम्बर १ बाट नेकपा एमालेका लालमणि चौधरी विजयी भए। २, ३, ४ र ५ बाट माओवादीका रामबहादुर थापा 'बादल', नारायण दाहाल, चित्रबहादुर श्रेष्ठ र अमिक शेरचन विजयी भए। कांग्रेस शून्यमा गयो।
चितवनको जिल्ला समिति सदस्य भएर अघि बढेका पुष्पकमल दाहाल 'प्रचण्ड' राजनीतिमा उदाए। पार्टी अध्यक्ष रहेका उनी देशका प्रधानमन्त्री बने।
उक्त संविधानसभा संविधान बनाउन नसकी विघटन भएपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी बढारियो। नेपाली कांग्रेसले २, नेकपा एमालेले २ र राप्रपाले १ क्षेत्रमा जिते। चितवन क्षेत्र नम्बर ४ बाट कांग्रेसका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला आफैं उम्मेदवार बनेर लडे। चुनाव जिते र पछि उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार रामकृष्ण घिमिरेले जिते।
कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार शेषनाथ अधिकारीले पनि चुनाव जिते। क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सुरेन्द्र पाण्डे र ३ बाट एमालेकै कृष्णभक्त पोखरेलले चुनाव जिते। ५ नम्बरबाट राप्रपाका विक्रम पाण्डे विजयी भए। पहिलो संविधानसभामा पहिलो पार्टी बनेको माओवादी दोस्रोपटक तेस्रो दल बन्न पुग्यो। उक्त संविधानसभाले नेपालको संविधान निर्माण गर्यो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गरेर भरतपुर महानगरपालिकामा चुनाव जित्यो। प्रचण्डपुत्री रेणु दाहाल मेयर बनिन्। मतगणना क्रममा अन्तिम समयमा मतपत्र च्यातिएको घटना सधैं चर्चाको विषय बन्दैछ।
मतपत्र च्यातिएपछि भरतपुर-१९ मा पुन: मतदान गर्नुपरेको थियो। परिणामत: २८ वडाको गणनामा जित नजिक पुगेका एमालेका देवी ज्ञवाली २०३ मतान्तरले पराजित बन्न पुगेका थिए।
माओवादीले माडी नगरपालिका पनि जित्यो। एमाले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा विजयी भयो। कांग्रेस इच्छाकामना गाउँपालिकामा मात्रै सीमित बन्यो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड एमालेसँग गठबन्धन गरेर चितवनमा चुनाव लड्न आइपुगे। यो निर्वाचनमा चितवनका तीनवटै क्षेत्र बाम गठबन्धनले जित्यो। प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भए, २ बाट कृष्णभक्त पोखरेल र १ बाट सुरेन्द्र पाण्डे विजयी बने। निर्वाचनपछि माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो। तर एकता लामो समयसम्म टिक्न सकेन।
अघिल्लो निर्वाचन एमालेसँग गठबन्धन गरेर जितेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अबको निर्वाचन नेपाली कांग्रेससँग मिलेर लड्न चाहन्छन्। केन्द्रमा उनैको पहलमा बनेको गठबन्धनलाई देशैभर लगेर पार्टीको अस्थित्व कायम राख्ने चाहना उनको देखिन्छ।
तर माओवादी र एमाले मिलेर बनेको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रामा विभाजन भएको बेलामा एक्लै चुनावमा जाँदा पनि जित्न सकिने सोचमा कांग्रेस छ। चितवनका कांग्रेस नेता, कार्यकर्ताहरू यसपटक कुनै पनि दलसँग सहकार्य नगर्ने पक्षमा देखिन्छन्।
एमाले प्रचण्डलाई तर्साउन चाहन्छ ?
यो अवस्थामा चितवन केन्द्रित भएका कम्युनिस्ट पार्टीको उद्देश्य अर्को पार्टीका कार्यकर्तालाई आफूतिर तान्ने ध्याउन्नमा छन्। नेकपा चौमको केन्द्रिय राजनीतिको अनुभवसमेत लिएका प्रगतिशील लेखक डिआर पोखरेल प्रचण्डले चुनाव लड्ने जिल्लामा केन्द्रीय महाधिवेशन गरेर नेकपा एमालेले चुनौती दिन खोजेको बताउँछन्।
‘चितवनका कम्युनिस्ट कार्यकर्तालाई आफूतिर तान्न एमालेले बुटवलमा नगरी चितवनमा महाधिवेशन गरेको हुनसक्छ,’ पोखरेल भन्छन्, ‘यसभित्र कतै न कतै प्रचण्डलाई तर्साउन खोजिएको पनि देखिन्छ।’
हाल सकृय राजनीतिबाट पर रहेका नेकपा मालेका संस्थापक विष्णु घिमिरे भने प्रचण्डलाई तर्साउन आवश्यक नै नरहेको बताउँछन्।
‘उनी आफैं कमजोर भएर गएका छन्, त्यसैले म एमालेले प्रचण्डलाई तर्साउन आवश्यक देख्दिनँ,’ नेकपा एकीकृत समाजवादीप्रति शुभेच्छा राख्दै आएका घिमिरेले भने, ‘देशकै केन्द्र बन्दै गएको चितवनमा संगठन राम्रो बनाउँदा सबैतिर प्रभाव पर्ने सोचाई लिएको हुनसक्छ।’
‘चितवनका राजनीतिक दलहरुको ईतिहास’ मा विद्यावारिधी गरेका डा.राजन्द्रप्रसाद रेग्मी विगतलाई नियाल्दा चितवनमा हुने निर्वाचनमा कुनै पनि दलको सिद्धान्तको असर नपरेको बताउँछन्।
‘यहाँको नतिजा दल विषेशको सिद्धान्तले भन्दा पनि ती दल र नेताले जनताका लागि गरेका कामबाट प्रभावित हुने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘देशका सबै जिल्लाबाट टाठाबाठा मान्छेहरू बसाईसरेर आएको ठाउँ भएकाले उनीहरुले निर्णय गर्दा सिद्धान्तलाई भन्दा काम र व्यवहारलाई बढी हेरेको देखिन्छ।’
तुलनात्मकरूपमा शिक्षित वर्गको बसोबास बढी रहेको, देशको मध्यभागमा पर्ने भएकाले सबै कार्यकर्तालाई पायक पर्ने र सुविधा बढी भएको ठाउँ भएकाले राजनीतिक दलहरूले चितवनलाई आफ्नो बनाउन चाहने गरेको उनी बताउँछन्।