प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ।
प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि धकेलाधकेलसहित सामान्य झडप भएको हो।
जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो। धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित केही घाइते भएका छन्। यस्तै केही प्रहरी पनि घाइते भएका छन्।
वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन्।