नेपाली कांग्रेसले पहिलो पटक सातै प्रदेशमा अधिवेशन गर्न लागेको छ। दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरू तयारीमा जुट्दै छन्।
पार्टी सभापति शेरबहादुर देउवा पक्ष र उनीइतर समूहबाट प्रदेश सभापति लगायत पदमा प्रतिस्पर्धा हुने देखिएको छ। सातै प्रदेशमा सहमति नभई चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ।
सभापति देउवाले आफ्नो समूहबाट प्रदेश अधिवेशन संयोजन गर्न ९ नेतालाई जिम्मेवारी दिएका छन्।
कांग्रेसले मंसिर १६ र १७ गते सातै प्रदेशमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
प्रत्येक जिल्लामा रहेका प्रदेश सभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।
कुन प्रदेशमा कसको चर्चा:
प्रदेश नम्बर १:
प्रदेश नम्बर १ को विराटनगरमा कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ।
सभापति देउवा पक्षबाट मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा सभापति उठ्ने चर्चा छ।
खतिवडा भने केन्द्रीय पदाधिकारीमै उठ्न चाहेको बताउँछन्।
‘सभापतिसँग मेरो हिजो पनि कुरा भयो। सहमहामन्त्री थप गर्ने कुरा रहेछ। थप भयो भने म सहमहामन्त्री उठ्छु,’ खतिवडाले सेतोपाटीसँग भने।
उनले सभापति देउवा र टिमले भनेअनुसार आफूले निर्णय गर्ने पनि बताएका छन्।
‘प्रदेश नम्बर-१ को सभापतिका लागि पनि साथीहरूबाट कुरा आएको छ, के हुन्छ टिमले निर्णय गर्ला,’ उनले थपे।
वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहबाट प्रदेश नम्बर १ को सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरे उठ्ने चर्चा छ।
‘प्रदेश सभापतिका लागि साथीहरूले आग्रह गरिरहनुभएको छ,’ उनले भने, ‘सकेसम्म केन्द्रीय पदाधिकारीमै उठ्न कोशिश गर्दैछु, मैले मात्रभन्दा पनि टिमले नै निर्णय गर्छ।’
प्रदेश नम्बर १ मा केन्द्रीय सदस्य शेखर कोइरालाको पनि राम्रो प्रभाव छ। उनीनिकट प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिका आकांक्षी छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रदेश १ मा राम्रो प्रभाव छ। उनीनिकट रहेका सुधीरकुमार शिवाकोटी र उद्धव थापा पनि प्रदेश सभापति पदका आकांक्षी रहेको स्रोतको दाबी छ।
सहमतिमा सभापति चयन हुने अवस्था नआएमा सभापति देउवा, पौडेल-कोइराला र सिटौला पक्षबाट एकेक गरी तीन जनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
प्रदेश नम्बर २:
प्रदेश नम्बर २ को अधिवेशन जनकपुरधाममा हुँदैछ। यहाँ सभापति देउवा पक्षबाट अजय चौरासिया, कृष्ण यादव र महेन्द्र राय यादवको नाम प्रदेश सभापतिमा चर्चामा छ। केन्द्रीय सदस्य चौरासिया भने सहमहामन्त्री उठ्न चाहन्छन्।
उपसभापति विमलेन्द्र निधिनिकट रहेका नेताहरू पनि प्रदेश सभापति उठ्ने चर्चा छ। निधि यसपालि केन्द्रीय सभापति पदमा उठ्ने तयारीमा छन्।
उनीनिकट धनुषाका रामसरोज यादव सभापति पदका आकांक्षी हुन्। मन्त्रीसमेत रहेका यादव प्रदेश २ कांग्रेस संसदीय दलका नेता पनि हुन्। साथै निधिनिकट दिनेश यादव पनि प्रदेश सभापतिका आकांक्षी छन्।
पौडेल पक्षबाट प्रदेश २ सभापतिमा रामकृष्ण यादव तथा अजय द्विवेदीको चर्चा छ।
बागमती प्रदेश:
बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुँदैछ। यो प्रदेशको सभापति पदका लागि देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ आकांक्षी छन्।
पौडेल पक्षबाट नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला आकांक्षी छन्।
यीमध्ये केसी नुवाकोटमा करिब २१ वर्ष सभापति भएर काम गरेका हुन्। आकांक्षी धेरै हुँदा नेताहरूलाई उम्मेदवार तय गर्न चुनौती छ।
केसीले आफू प्रदेश सभापतिका लागि तयारी गरिरहेको बताए।
‘प्रदेश सभापतिका लागि तयारी गर्दैछु। टिमभित्र पनि छलफल हुँदैछ। नेताहरूले छिटो छलफल गरी उम्मेदवार तय गर्नुपर्ने हो,’ केसीले भने।
केसी वरिष्ठ नेता पौडेलनिकट छन्। उनले जिल्ला सभापतिहरूको भेला गर्नेदेखि पार्टीमा सक्रिय रूपमा काम गरिरहेका छन्।
पूर्वमहामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधान पनि बागमती प्रदेश पार्टी सभापति पदका आकांक्षी छन्। प्रदेशहरूमा देउवा र सिटौला पक्षबीच सहकार्य भए प्रधान उनीहरूको समूहबाट प्रदेश सभापति उठ्ने सम्भावना बढी छ।
काठमाडौंका स्थानीय तहमा भएका पार्टीको चुनावमा प्रधानले देउवा-सिटौलाबाट संयुक्त टिम बनाएर चुनाव लड्ने वातावरण तयार पारेका थिए।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुनेछ।
सभापति देउवानिकट केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र शंकर भण्डारी, अर्जुन जोशी र कुमार खड्का गण्डकी प्रदेश सभापति पदका आकांक्षी रहेको कांग्रेसका एक नेता बताउँछन्।
तरूण विभागका प्रमुखसमेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारीले जिल्ला अधिवेशनहरू सकिएपछि प्रदेश अधिवेशनको तयारी गरिने बताए।
‘साथीहरूले माया गरेर प्रदेश सभापति बन्नुपर्छ भन्नुभएको छ। अहिले जिल्ला अधिवेशन नै सकिएको छैन। जिल्ला अधिवेशनपछि छलफल गरेर कहाँ को उठ्ने भन्ने निर्णय गर्छौं,’ उनले भने,‘पार्टीले पनि मैले गरेको कामको मूल्यांकन गर्ला।’
पौडेल पक्षबाट भने शुक्रराज शर्मा, रघु पौडेललगायतको नाम चर्चामा छ।
लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा हुनेछ।
सभापति देउवा पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल प्रदेश सभापतिका आकांक्षी छन्। उनी प्रतिनिधि सभा सांसद पनि हुन्।
यस्तै प्रतिनिधि सभा सांसद भरत शाह पनि प्रदेश सभापतिको तयारी गर्दैछन् भने केन्द्रीय सदस्य किशोरसिंह राठौर पनि प्रदेश सभापति पदका आकांक्षी छन्।
वरिष्ठ नेता पौडेल पक्षबाट रोल्पा कांग्रेस सभापति रहेका अमरसिंह पुनले प्रदेश सभापतिका लागि तयारी गरिरहेका छन्।
कर्णाली प्रदेश:
कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा हुनेछ। सभापति देउवा पक्षबाट कर्णाली प्रदेश सभापति पदका लागि राजीवविक्रम शाह, कालीबहादुर सहकारी, ललितजंग शाहलगायतको नाम चर्चामा छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको नाम पनि प्रदेश सभापतिका लागि आएको छ। तर उनी पिछडिएको क्षेत्रबाट कांग्रेस सहमहामन्त्री उठ्ने तयारी गरिरहेको स्रोत बताउँछ।
वरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानी र तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको नाम प्रदेश सभापतिका लागि चर्चामा छ। तर थानी कांग्रेस सहमहामन्त्री उठ्ने तयारीमा छन्।
कालिकोटका शाही भने विगत दुई वर्षदेखि नै कर्णालीका विभिन्न जिल्ला पुगेर संगठन विस्तारलगायतका काममा केन्द्रित छन्। तरूण दलमा अध्यक्ष जितजंग बस्नेत र महामन्त्री शाहीबीच विवाद हुँदा एकले अर्कोलाई संगठनबाट निकाल्ने कामसमेत गरेका थिए।
सुदूरपश्चिम प्रदेश:
यो प्रदेशको अधिवेशन धनगढीमा हुनेछ। सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवा पक्षबाट वीरबहादुर बलायर, नरनारायण शाह, गोविन्द शाह, बहादुर थापा, पृथ्वी सिंहलगायत नेताको नाम चर्चामा छ।
केन्द्रीय सदस्य बलायरले आफू केन्द्रीय पदाधिकारीमै आउन चाहेको बताएका छन्।
‘जिल्लाहरूमा अधिवेशन बाँकी नै छ। म केन्द्रमै आउने गरी तयारी गर्दैछु। प्रदेशमा पनि बस्नुपर्यो भन्ने साथीहरूको माग छ, के हुन्छ हेरौं,’ उनले भने, ‘टिमभित्र छलफल गरेपछि निर्णयमा पुग्ने हो।’
वरिष्ठ नेता पौडेल पक्षबाट भने कर्ण मल्ल सभापतिका आकांक्षी छन्। डडेल्धुरा कांग्रेस सभापतिसमेत रहेका मल्ल सभापति देउवा पक्षले एकलौटी अधिवेशन गरेको विरोधमा सानेपामा अनसन बस्न आएका छन्। डडेल्धुरामा कांग्रेस अधिवेशन विवादित छ।
प्रदेश अधिवेशन गर्न सात नेतालाई जिम्मेवारी
प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्।
प्रदेश नम्बर २ मा रमेश रिजाल संयोजक छन् भने बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ। लुम्बिनीमा बालकृष्ण खाणले प्रदेश अधिवेशन गराउने जिम्मेवारी पाएका छन्।
कर्णालीमा जीवनबहादुर शाहीको नेतृत्वमा आयोजक समिति बनेको छ भने सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक छन्।
उनीहरूलाई कांग्रेस केन्द्रीय समितिले प्रदेशको अधिवेशन गर्न अध्यक्षता गर्नेसमेत जिम्मेवारी दिएको छ।
कांग्रेसले केन्द्रीय महाधिवेशन भने प्रदेश अधिवेशन सकेको एक सातापछि मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्नेछ।