नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत सुर्खेतमा भएका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएको छ।
यहाँ बुधबारदेखि पालिका अधिवेशन सुरू भएको थियो।
देउवानिकट नेता, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा उनी पक्षले ९ पालिकामध्ये ८ पालिका जितेको छ।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा देउवा समूहबाट नेतृत्व चयन भएको छ भने चौकुने गाउँपालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नेतृत्व चयन भएको छ।
वीरेन्द्रनगरमा उपेन्द्र खड्का, भेरीगंगामा रामबहादुर सिंह, गुर्भाकोटमा हस्त पुन, लेकवेशीमा उमेश पौडेल, सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद पौडेल, बराहताल गाउँपालिकामा भीम भण्डारी र पञ्चपुरी नगरपालिकामा कृपाराम थापा सभापति भएका छन्।
चौकुने गाउँपालिकाको सभापतिमा भने पौडेल समूहका नरबहादुर बान्तोला सभापतिमा भए।
अधिकांश पालिकामा देउवा समूहको प्यानल नै निर्वाचित भएको छ।
वडा अधिवेशनमा पनि सुर्खेतका ९९ वडामध्ये अधिकांशमा देउवा पक्ष हाबी देखिएको थियो।