नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले दशौं महाधिवेशनमा उपाध्यक्षमा दाबी गरेका छन्। एमालेको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफूले उपाध्यक्षमा दाबे प्रस्तुत गरेको पन्तले सेतोपाटीलाई बताए। पन्त नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए।
नेकपा एमालेमा लामो समय पन्त माधव नेपालसँग निकट रहे। नवौं महाधिवेशनमा उनी माधव नेपाल समूहबाटै उम्मेद्वार बनेका थिए। मावध नेपाल एमालेमा रहँदा पन्तले सँधै नेता नेपाललाई साथ दिए। एमालेको विगतका झगडामा पन्तले ‘माधव नेपाललाई कोही नआए पनि तपाईंको पछि उभिने म एक्लै भए पनि आउँछु’ भनेर वचनसमेत दिएका थिए। तर पार्टी विभाजनका बेला पन्त माधव नेपालसँगै गएनन्। पार्टी विभाजन गर्ने नेता नेपालको प्रस्तावमा आफू असहमत रहेका कारण एमालेमै रहेको पन्त बताउँछन्। यस पटक उनी एमाले महाधिवेशनमा उपाध्यक्षको दाबी गर्दैछन्।
'उपमहासचिव भन्दा तल उठ्ने कुरा भएन', पन्तले सेतोपाटीसँग भने, 'उपाध्यक्षमा कत्तिको सम्भावना हुन्छ। छलफल गर्दैछु।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सर्वसम्मत गर्ने सोच राखेको उल्लेख गरे।
कुराकानीका मुख्य बुदाँ
- टिम बनाउने कुरामा नेतृत्वको भूमिका निर्णायक हुन्छ। अध्यक्षको उम्मेद्वारले टिम बनाउने हो। मैले राम्ररी कुरा गर्न बाँकी छ। को सिनियर हो, को जुनियर हो, कसको राजनीतिक योग्यता के छ, सैद्धान्तिक क्षमता के छ, संगठनात्मक देन के छ, पार्टीमा क्रियाशिलता के छ यो सबै हेरिनुपर्ने हो।
- नेतृत्वले पार्टीलाई समेट्न उपयुक्त ठान्नुभयो। सबै १० जनालाई समेटेर लैजानुपर्छ भन्ने ठान्नुभयो भने मेरो नाममा कसैले असहमति जनाउनुपर्ने आधार र कारण देख्दिनँ।
- अध्यक्षको चाहना सर्वसम्मत टिम बनाउँ भन्ने छ। उहाँले सन्तुलित टिम बनाउनुभयो भने उहाँलाईनै कोअपरेट गर्ने हो।
- समेट्नुपर्ने र बाहिर राख्दा राम्रो सन्देश नजाने साथीलाई समेट्न पदाधिकारी संख्या बढाउन सकिन्छ। उपाध्यक्ष, उपमहासचिव बढाउन सकिन्छ। कतिपय पार्टीमा ४-५ जना महासचिव हुन्छन्। त्यो पनि बढाउन सकिन्छ। उपाध्यक्ष त ७-८ जना राख्न सकिन्छ।
- विभिन्न ठाउँका महत्वपूर्ण पदाधिकारी पार्टीबाट बाहिर गए। विधान अधिवेशनमा भाग लिएका भानुभक्त जोशी एकीकृत समाजवादीमा गए। परिस्थिति यस्तो बनाइएयो कि, उहाँ जानुभयो। न्यानोपन र उपयुक्त वातावरण नपाउँदा कतिपय साथी जान सक्छन्। हामीले त्यस्तो वातावरण बनाउनु हुदैँन भनेका छौँ।
- नयाँ संविधान र गणतन्त्रपछि हामीले पार्टीको नयाँ कार्यक्रम बनाउनुपर्थ्यो। त्यसमा ध्यान जाँदै गएन। कार्यक्रम नफेरी हुदैँन। पाँचौं महाधिवेशनबाट पारित जनताको बहुदलीय कार्यक्रम पढेर आउन म प्रतिनिधिलाई आग्रह गर्छु। त्यसलाई परिमार्जित नगरि नहुने भएको छ। ४६/४८ को तथ्याङ्क राखेर, राजतन्त्र भएका बेला निर्माण गरिएको कार्यक्रम अब अगाडि जान सक्दैन। नयाँ परिस्थितिमा जबजको ब्याख्या गर्नुपर्छ।
- माधव नेपालको पार्टी विभाजन गर्ने कुरा चित्त बुझेन। उहाँले पार्टी विभाजन नगर्नु भएको भए म उहाँकै साथमा हुन्थेँ। मलाई लाग्छ १० बुँदे सहमति मान्ने धेरै साथीहरुले उहाँलाई साथ दिन्थेँ। त्यस्तो अवस्थामा पनि पार्टी भित्र केपी ओली र माधव नेपालबीचमा सहमतिको प्रयत्न गर्थ्यौँ। पार्टीमा कोही नेतासँग नजिक हुने कुरालाई अस्वभाविक रुपमा लिनुहुन्न।