नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाप्रति आफ्नो कुनै एलर्जी नरहेको बताएका छन्।
भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने नचाहेको बताए।
'मेरो अमेरिकन सहायक विदेश मन्त्री र राजदूतसँग सौहार्दपूर्ण वातावरणमा खुलेर छलफल भयो। मैले अमेरिकन अनुदान फिर्ता जाओस् भन्ने त हामी चाहँदैनौं, हामीलाई भौतिक पूर्वाधारका निम्ति अनुदान आवश्यक छ, अमेरिकासँग पहिले पनि सहयोग लिँदै आएको हो भन्ने कुरा भयो,' उनले भने, 'एमसिसीको सक्कल सहमति र पछिल्लो सहमतिको विषयमा जो अन्तर्विरोध देखापर्यो त्यो कारणले समस्या देखिएको मात्रै हो यसलाई हामी राष्ट्रिय सहमति गरेर निकास निकाल्ने कोसिस हुन्छ भनेको छु।'
उनले केही दिनमै सबै राजनीतिक दलहरूको बैठक बसेर सहमति बनाउन प्रधानमन्त्री र आफ्नो कुरा भएको बताए।
सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनको प्रसंगमा अध्यक्ष प्रचण्डले आदालतको समस्या अदालत भित्रैबाट समाधान होस् भन्ने चाहेको बताए।
अदालतको गरिमा र स्वतन्त्रतालाई अक्षुण राख्नेगरि छिटोभन्दा छिटो समस्या समाधान होस् भन्ने गठबन्धनको चाहना रहेको भन्दै उनले केही दिन भित्रैमा समाधान हुने आशा गर्दै वक्तव्य जारी गरिएका कारण नेताले बोलेनन् भन्न नमिल्ने बताए।
उनले राजनीतिक दलहरूले अदालतमाथि कुनै खालको दबाब वा हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना व्यक्त भएको छ, हामीले आवश्यक चिन्ता पनि व्यक्त गरेका छौं, समाधानको अपिल पनि गरेका छौं', उनले भने।
अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द'विप्लव' सँग नियमित कुरा भइरहेको भन्दै सहकार्य गर्दै जाने समझदारी बनेको दाबी गरे।
भर्खरै पार्टी एकता गरेर जाने सहमति नभए पनि अब परिवर्तनका एजेण्डालाई अझ सुदृढ गर्न सहकार्य गर्दै एकतासम्म पनि सोच्नुपर्छ भन्नेसम्मको समझदारी भएको उनले बताए।
प्रचण्डले रामदेव परम्परावादी धर्मगुरु नभई वैज्ञानिक ढंगले नै सोच्ने व्यक्ति भएकाले आफूले उनैको अगाडि प्रशंसा गरेको बताए।
'मैले हरिद्वार गएर रामदेवका सबै कामहरू हेरें, वैज्ञानिक, डाक्टरहरूले अनुसन्धान गरिरहेको देखें उनी त योग, आरोग्य हुँदै उद्योगतर्फ लम्कँदै गरेका व्यक्ति हुन्, अरूजस्तो रूढीवादी बाबा होइनन् भनेको हो,' प्रचण्डले भने।
उनले रामदेवको नेपालमा स्वीकृति नै नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा जानकारी नभएको बताए।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको दुई टेलिभिजन च्यानल उद्घाटन कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए।
'स्वीकृत दिने व्यक्ति होइन, मेरो पार्टीले नेतृत्व गरेको मन्त्रालय पनि होइन,' उनले भने, 'मैले सोध्दा त विधिवत रूपमै हो भन्नुभाथ्यो।'