पछिल्लो समय देखिएको संवादहिनता तोड्दै नेपाली कांग्रेसका संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षी नेताहरू फेरि सामूहिक छलफलमा जुटेका छन्।
एक्लाएक्लै उम्मेदवारी दिए सभापतिमा फेरि शेरबहादुर देउवाले नै जित्ने निचोडमा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सहकार्य गरेर जानुपर्नेमा छन्।
पार्टीको १४ औं महाधिवेशन आइसकेकोले समूहबाट सभापतिमा एक जनाको नाम तय गर्नुपर्ने उनीहरू बताउँछन्। तर आ-आफ्नो डम्फू बजाउन उनीहरूले छाडेका छैनन्। सभापतिमा आफू नै हुनुपर्ने दाबी चारै जना नेताको छ।
कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। अहिले धमाधम प्रदेश सभा क्षेत्रका अधिवेशन भइरहेका छन्। मंसिर ६ मा प्रतिनिधि सभा र मंसिर १० मा १४ जिल्लाबाहेक अन्यत्र जिल्ला अधिवेशन हुनेछ।
महाधिवेशन नजिकिएका बेला सरकारमा पठाउने मन्त्रीबारे वरिष्ठ नेता पौडेलको समूहमा विवाद भयो। पौडेलले आफूनिकट केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाए। तर पूर्वमहामन्त्री सिंह मन्त्रीमा काठमाडौंका राजन केसीलाई पठाउन चाहन्थे।
पौडेलले छलफलविनै 'खल्ती' बाट मन्त्री छानेको भन्दै सिंह असन्तुष्ट थिए।
यो पनि: पौडेल समूहमा खटपट, यसकारण रिसाए प्रकाशमान
अर्कोतर्फ यसबीचमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच 'घोचपेच' चल्यो। सभापति उठ्न देश दौडाहा गरिरहेका सिंहलाई कोइरालाले काठमाडौं बाहिरकाले नचिन्ने अभिव्यक्ति दिए। जवाफमा सिंहले सुशील कोइरालाले भन्दा आफूले विगतमा धेरै मत ल्याएको र यसपालि लोकप्रियता झन् देखाउने अभिव्यक्ति दिए।
पौडेलसहित उनी पक्षका कोइराला, सिंह र केन्द्रीय सदस्य शेखर सभापतिका आकांक्षी हुन्। जिल्ला तथा प्रदेश अधिवेशन अगाडि नै केन्द्रीय सभापतिको उम्मेदवार र टिम घोषणा गर्ने तयारी गरे पनि नेताहरूबीच कसले कसलाई छाड्ने भन्ने सहमति भने भएको छैन।
कांग्रेसले मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन गर्दैछ। प्रदेशमा पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षले भिन्नाभिन्नै टिमसहित प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। केन्द्रमा सभापति उम्मेदवार समूहबाट एकमात्र दिन सके प्रदेशहरूमा जित्न सहज हुने पनि पौडेल पक्षको विश्वास छ।
साथै यसबीचमा महामन्त्री कोइराला र केन्द्रीय सदस्य शेखरबीच त मिलेर जाने कुरा नै भयो। शशांकले शेखरलाई सभापति छाड्ने सहमति गरे पनि त्यसले अन्तिम रूप भने लिन पाएन। पत्रकार सम्मेलन गर्ने प्रतिवद्धताबाट पछि हटेर शशांक संखुवासभा उडेका थिए।
यो पनि: शेखरलाई सभापति छाड्न तयार भएका शशांक एकाएक संखुवासभा उडेपछि...
आफ्नो समूहमा रहेका नेताहरूबीच भनाभन र संवादहिनताको अवस्था आएपछि पौडेलले सक्रियता बढाउन थालेका थिए।
उनी बिहीबार बिहानै प्रकाशमान निवास चाक्सीबारी पुगेर छलफल गरेका थिए। उनले समूहबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुनुपर्ने कुरा राखेका थिए भने सहमति र सहकार्य गर्दै जानुपर्नेमा जोड दिएका थिए।
साथै प्रकाशमानलाई भेट्न उनकै शुक्रबार शेखर पुगेका थिए। महाधिवेशन केन्द्रित छलफल उनीहरूका बीचमा भएको थियो। दुबैले आफूलाई सभापति छाड्न बरू 'पावर सेयरिङ' गरेर जान सकिने बताएको स्रोतको भनाइ छ।
शनिबार दिउँसो प्रकाशमानलाई भेट्न उनको निवासमा महामन्त्री कोइराला आएका थिए। उनीहरूबीच सहकार्य गर्दै जाने विषयमा कुरा भएको थियो। सिंहनिकट स्रोतकाअनुसार कोइरालाले आफूले दिएका अभिव्यक्ति सच्याएका थिए।
शशांक र प्रकाशमानबीच शनिबार मनमाझामाझ भयो। समूहलाई एकढिक्का बनाएर समझदारीमै अगाडि बढ्ने सहमतिमा उनीहरू पुगेका छन्।
रिसाएका प्रकाशमानलाई रामचन्द्र, शशांक र शेखरले निवासमै गएर भेटे, कुराकानी गरे। त्यसपछि पौडेल समूहमा देखिएको पछिल्लो संवादहिनता तोडिएको नेताहरू बताउँछन्।
महामन्त्री कोइराला निवासमा पौडेलसहित शनिबार साँझ कोइराला र सिंह छलफल नै गरेका थिए। सभापतिको उम्मेदवार तय गर्न बसेको बैठकले समूहबाट सभापति भने छान्न सकेन।
बरू छलफलमा वरिष्ठ नेता पौडेलले नयाँ प्रस्ताव राखे- छोटो अवधिका लागि आफैँ सभापति हुने। कोइराला र सिंहले पौडेलको प्रस्तावमा सहमति भने जनाएका थिएनन्।
पौडेलले पछिल्लो समय छोटो समयका लागि सभापति हुने प्रस्ताव अगाडि सारेका छन्। उनले आफ्नो नेतृत्वमा तीनै तहको चुनाव गर्ने र त्यसबाट पार्टीलाई एक नम्बरको बनाउने दाबीसहित प्रस्ताव अगाडि सारेका छन्।
तर विधानमै नभएको यस्तो प्रस्ताव महामन्त्री कोइराला र सिंहले मानेका छैनन्। शनिबारको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर उपस्थित थिएनन्, उनी काठमाडौंबाहिर छन्।
पौडेल समूहमा सभापतिमा एक जनाले उम्मेदवारी दिने र 'पावर सेयरिङ' गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री र पार्टी सभापति एकै जना हुन नहुने पौडेल पक्षमा मत छ। सभापति र प्रधानमन्त्री एकै जना हुँदा प्रभावकारी काम हुन नसकेको जिकीर उनीहरू गर्छन्।
पौडेलसहित उनी पक्षका चारै नेता आफैँ सभापति हुन चाहन्छन्। संवादमा प्राय: उनीहरू सभापति आफू हुने र प्रधानमन्त्री छाड्न सक्ने तर्क अगाडि सार्छन्।
रामचन्द्र, शशांक, प्रकाशमान र शेखरबीच सहमतिमै एक जना सभापतिको उम्मेदवार हुने र त्यसका लागि फेरि पनि संवाद गर्ने कुरा छ। सकेसम्म छिटो सभापतिको उम्मेदवार चयन गर्नुपर्नेमा उनीहरू छन्।
सभापतिको उम्मेदवार सहमतिमै छान्न सके प्रदेश र जिल्लामा पनि एक रहेको सन्देश जाने उनीहरूको बुझाइ छ।
सभापतिमा संस्थापन पक्षबाट फेरि पनि शेरबहादुर देउवा उठ्ने तयारीमा छन्। उपसभापति विमलेन्द्र निधि पनि सभापति पदमा आफू नै उठ्ने र सभापति देउवाले पनि आफूलाई नै समर्थन गर्नुपर्ने तर्क गर्छन्।
कांग्रेसमा वडादेखि नै दुई समूहबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापति पदमा उठ्ने तयारीमा छन्।