नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको अधिवेशनमा यसपालि पनि काठमाडौंमा आफ्नो पकड कायमै राखेका छन्।
अहिलेसम्म भएका वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रमा सिंह र केन्द्रीय सदस्य गगन थापानिकट नेताहरू नेतृत्वमा पुगेका छन्।
काठमाडौंका २० प्रदेश सभा क्षेत्रमा शुक्रबार र शनिबार अधिवेशन भएकोमा १८ क्षेत्र सिंह-थापानिकटले जितेका छन्।।
भीमसेनदास प्रधाननिकटले जम्मा २ प्रदेश सभा क्षेत्र जितेको स्रोतको दाबी छ। प्रधानको टिमलाई सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए।
यसअघि पालिका अधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका प्रधानले सभापति देउवा समूहसँग सहकार्य गर्दै टिम खडा गरेका थिए।
पालिका अधिवेशनमा सिंह-थापा समूहले नै अधिकांश स्थान जितेका थिए। ११ पालिकामध्ये ८ पालिका सिंह-थापा निकटले जित्दा देउवा-प्रधान टिम ३ स्थानमा मात्रै खुम्चिएको थियो।
यो पनि: काठमाडौंमा सफल भयो प्रकाशमान-गगनको जोडी
प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ को (क) मा प्रल्हाद कार्की सभापति भए भने (ख) मा सुमनकुमार श्रेष्ठ सभापति भएका छन्।
क्षेत्र नम्बर २ को (क) मा ध्रुव केसी सभापति भए भने (ख) मा उद्धव खड्का सभापति भएका छन्।
यस्तै क्षेत्र नम्बर ३ को (क) मा श्रीराम चालिसे सभापति हुँदा (ख) मा विमल ठकुरी सभापति बनेका छन्। ठकुरी नेता भीमसेनदास प्रधाननिकट हुन्।
क्षेत्र नम्बर ४ को (क) मा विमलकुमार होडा सभापति हुँदा (ख) मा रामप्रसाद लुइँटेल सभापति भएको कांग्रेस काठमाडौंका एक नेताले बताए।
क्षेत्र नम्बर ५ को (क) मा दिनेश डङ्गोल सभापति भए भने (ख) मा राजु खड्का सभापति भएका छन्।
साथै क्षेत्र नम्बर ६ को (क) मा ख्यामराज तिवारी सभापति भए भने (ख) मा विष्णुभक्त तिमल्सिना सभापति भएका छन्। तिमल्सिना नेता भीमसेनदासनिकट छन्।
क्षेत्र नम्बर ७ को (क) मा नवीन मानन्धर सभापति भए भने (ख) मा वासुदेव लामा सभापति भएका हुन्।
साथै क्षेत्र नम्बर ८ को (क) मा ईन्द्रमानसिंह सुवाल सभापति हुँदा (ख) मा शिव खनाल सभापति चयन भएका छन्।
क्षेत्र नम्बर ९ को (क) मा मोहनबहादुर बस्नेत सभापति भए भने (ख) मा राजेन्द्र भट्टराई सभापति भएका छन्।
क्षेत्र नम्बर १० को (क) मा शैलेश मानन्धर सभापति हुँदा (ख) मा धर्मानन्द श्रेष्ठ सभापति भएको कांग्रेस काठमाडौंले जनाएको छ।
काठमाडौंमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन्छ। १० प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। एक क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि आउँछन्।
काठमाडौं कांग्रेसका एक नेताको दाबीअनुसार प्रतिनिधि सभा क्षेत्रमासमेत सिंह-थापा निकटले नै जित्ने सम्भावना बढी छ।
‘१३८ वडामध्ये अधिकांशमा सिंह-थापानिकटले नै जितेका छन्। ११ पालिका मध्ये ८ वटामा जितेको हो, संस्थापनले ३ पालिकामा चित्त बुझायो,’ ती नेताले भने, ‘२० प्रदेश सभा क्षेत्रमध्ये १८ जितेको हो। प्रतिनिधि सभा क्षेत्र पनि जित्ने हाम्रो तयारी छ, हामी छलफलमै छौं।’
काठमाडौं कांग्रेसमा सिंह लामो समय जिल्ला सभापति भएर काम गरेका थिए। त्यसबेलादेखि नै काठमाडौंमा सिंहको प्रभाव राम्रो छ। सिंह यसपालि केन्द्रीय सभापति उठ्ने तयारीमा छन्।
कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन र मंसिर २१ गते मनोनयन दर्ता गरी २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने तयारी गरेको छ।