नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबिना नै आज सातौं अधिवेशन सुरू भएको छ।
सभापति मल्लसहित नेताहरू भने ६ दिनदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन्।
जिल्लाबाट पठाएको क्रियाशील सदस्यताको सूची हटाएर केन्द्रबाट नयाँ नाम थपेपछि मल्लसहित उनी पक्षले डडेल्धुरा अधिवेशनमा भाग लिइरहेको छैन।
भदौ २५ गते देउवा पक्षले डडेल्धुरामा राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी हिसाबले वडा अधिवेशन गरेको आरोप मल्ल पक्षको छ।
नयाँ क्रियाशील सदस्यको सूची जारी गर्न मागसहित भदौ २२ गतेदेखि मल्ल पक्ष आन्दोलनमा छ।
उनीहरूको विरोधबीच नै वडा अधिवेशन सकियो। यहाँ पालिका, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन आज भइरहेको छ।
डडेल्धुरामा एकलौटी अधिवेशन भएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका थिए। पौडेल पक्षले केन्द्रीय निर्वाचन समितिलाई डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न माग गरेको थियो। तर सुनुवाइ भएन।
आफ्नो जिल्लाका नेता, देउवा केन्द्रीय सभापति भएका बेला अधिवेशनमै भाग लिन बञ्चित गरेको मल्ल पक्षका नेता-कार्यकर्ता गुनासो गर्छन्।
कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएरमात्रै अन्य जिल्लामा अधिवेशन गरे पनि डडेल्धुरामा विवाद कायमै राखेर अधिवेशन भइरहेका छन्।
डडेल्धुरामा आज जिल्ला अधिवेशन भइरहेका बेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भने नाराबाजी भयो।
आज बिहान १० बजेतिर सानेपामा आन्दोलनकारी ‘डडेल्धुरामा भएको अवैधानिक अधिवेशन खारेज गर, निकम्मा निर्वाचन समिति मुर्दावाद, पार्टीभित्रको एकतन्त्रीय शासन मुर्दावाद, तानाशाही होसियार’जस्ता नारा लगाएका थिए।
भिडिओ:
सभापति देउवाले 'पञ्चायतकालीन र राणाकालीन तवर'बाट अधिवेशन गरेको भन्दै मल्लसहित नेताहरूले विरोध गरिरहेका छन्।
जिल्ला सभापति कर्णबहादुर मल्ल भन्छन्-
हामी गत भदौ २२ गतेदेखि नै पार्टीभित्र आन्तरिक न्यायका लागि लडिरहेका छौं। अन्यत्र ७६ जिल्लामा पार्टी विधिविधान, निर्वाचन निर्देशिकाबमोजिम नै अधिवेशन भइरहेका छन् तर हाम्रोमा किन एकलौटी अधिवेशन गरियो?
हामी विधिविधानअनुसार नै अधिवेशन होस् भनेर माग राखेर निरन्तर संघर्षमा होमिएका छौं।
म सानेपामा रिले अनशनमा बसेको ६ दिन भयो। नेता-कार्यकर्ताले न्यायका लागि आवाज उठाउन भनेका छन्। हामी न्यायका लागि पार्टी कार्यालयमै बसेर अनुनयविनय गरिरहेका छौं।
हामीले यतिका वर्ष जसलाई नेता मान्यौं, आदर्श मान्यौं उसैले 'बध' गर्न खोजेको छ। नेता-कार्यकर्तामा पीडा छ। डडेल्धुराका आधाभन्दा धेरै क्रियाशील सदस्य पीडामा छन्।
डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमै वितण्डा मच्चाइएको थियो। एकतर्फी ढंगले प्रहरी, प्रशासन लगाएर राज्यसत्ताको दुरूपयोग गरी वडादेखि नै अधिवेशन अगाडि बढेको छ यसमा जति निन्दा गरे पनि कम नै हुन्छ।
कतिपय नेता-कार्यकर्ता आश र त्राशमा छन् र बुझेका पनि छैनन् कि के हो एकतर्फी अधिवेशनमा भाग लिइरहेका छन्। तर त्यसबारे हामीलाई कुनै गुनासो छैन।
मैले ३० बसन्तभन्दा धेरै समय कांग्रेसमा योगदान गरेको छु। मजस्तै धेरैले यो पार्टीमा योगदान गरेका छन्, दु:ख गरेका छन्। सभापति शेरबहादुर देउवा त्रुर ढंगले हाम्रा अगाडि उभिनुभएको छ। हामीमाथि रावणभन्दा पनि अप्रिय व्यवहार प्रदर्शन भइरहेका छन्।
सभापति देउवाका लागि २० औं वर्षदेखि नेता-कार्यकर्ताले जीवन खर्चेका छन्। पार्टीका लागि काम गरेकाहरू नै यो न्याय पाउनुपर्छ भन्ने अभियानमा जोडिएका छन्।
सभापति देउवा प्रधानमन्त्री र पार्टी प्रमुख भएका बेला देशभरका कार्यकर्ताको अभिभावक बन्नुभएको छ तर हामीलाई बञ्चित गर्नुभयो। यसमा जति भर्त्सना गरे पनि पुग्दैन।
हामीले पटकपटक लिखित र मौखिक रूपमा उहाँलाई भेटेर हाम्रो नेतृत्व लिनुस् भनेका हौं। सुनुवाइ गर्नुभएन। उहाँले यसको मूल्य नि-सन्देह चुकाउनुहुनेछ। उहाँले मभन्दा माथि कोही छैन भन्ने ठान्नुभएको होला!
हामीले गत भदौ २३ गतेदेखि नै निरन्तर रूपमा केन्द्रीय निर्वाचन समितिलाई डडेल्धुरामा देखिएका समस्याबारे जानकारी गराएका छौं। उजुरी पनि दियौं।
मंसिर ३ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि एकलौटी भएकोमा त्यो विधि र विधानअनुसार भएन है भनेर क्षेत्रीय सभापतिहरू मानबहादुर बुढा मगर र कणुणाकर भट्टले निर्वाचन समितिमा उजुरी नै दिनुभएको हो।
हामीले पटकपटक निवेदन तथा उजुरी दिँदा पनि केन्द्रीय निर्वाचन समिति मौन छ। आज पनि म उजुरी दिनेछु। निर्वाचन समितिले हाम्रा माग सुनुवाइ गर्नुपर्दछ। यदी माग सुनुवाइ भएन भने यो परिघटनाको जिम्मेवार निर्वाचन समिति र सभापति शेरबहादुर देउवा हुनु हुनेछ।
हामीले न्याय पाएनौं भने डडेल्धुराका घरघरमा पुगेर हामी निवेदन गर्नेछौं कि हाम्रै नेता सभापति भएका बेला हामी अधिवेशनबाट बञ्चित हुनुपर्यो भनेर। त्यहाँका जनताले हामीलाई सुन्नु हुनेछ, हाम्रा पीडामा ऐक्यवद्धता जनाउनु हुनेछ।
निर्वाचन समितिका संयोजक के भन्छन्?
निर्वाचन समितिको कार्यालय पार्टी केन्द्रीय कार्यालय सानेपामा नै छ।
दिनदिनै सानेपामा भइरहेका रिले अनसनबारे निर्वाचन समिति जानकार छ। समितिमा उजुरी पनि परेका छन्।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव डडेल्धुराको विवाद पार्टीका नेताहरूले मिलाउने बताउँछन्।
‘उजुरी पनि परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘पार्टी कार्यालयमा धर्ना पनि छ। पार्टीले यो समस्या समाधान गर्ला।’
निर्वाचन समितिबाट यो विवाद मिलाउन पहल भएको छ कि भन्ने प्रश्नमा उनले पार्टीले नै मिलाउने बताए।
डडेल्धुरामा एकलौटी हिसावले भइरहेका अधिवेशनले वैधानिकता पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नमा यादवले प्रष्ट जवाफ दिएनन्।
‘अधिवेशन आफ्नो कोर्षमा अगाडि बढेको छ,’ उनले यत्ति भने।
डडेल्धुरामा ५२ मध्ये ४३ वडामा क्रियाशील सदस्यता तलबाट पठाइएको भन्दा केन्द्रबाट पठाइएकोमा हेरफेर भएकोमा असन्तुष्टि सुरू भएको थियो।
जिल्लाबाट सिफारिस गरेका चार सय ६० जना क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट तीन सय १२ जनाको नाम थपिएको थियो।